टीकापुर जग्गा प्रकरणमा दोषी देखिए आरजुलाई पनि कारबाही गर्नुपर्छ : मीन विश्वकर्मा (भिडिओ) – Nepal Press

टीकापुर जग्गा प्रकरणमा दोषी देखिए आरजुलाई पनि कारबाही गर्नुपर्छ : मीन विश्वकर्मा (भिडिओ)

दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सभापति पत्नी आरजु राणा मुछिएको टीकापुर जग्गा घोटाला प्रकरणको छानबिन गर्न माग गरेका छन् ।

प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले कुनै पार्टीका प्रभावशाली नेता जोडिएकै कारण कुनै पनि प्रकरणको छानबिन प्रभावित हुन नहुने बताए ।

‘ठुला नेता जोडिएका कारण छानबिन प्रभावित हुनुहुँदैन,’ विश्वकर्माले भने ‘टिकापुर जग्गा घोटाला प्रकरणमा हाम्रो नेता आरजुको नाम जोडिएको छ । छानबिन गर्दा दोषी देखिए उहाँलाई पनि कारबाही हुनुपर्छ ।’

कांग्रेस बदमासी गर्ने नेता बचाउन नलाग्ने भन्दै त्यसकालागि भुटानी शरणार्थी प्रकरणको उदाहरण दिए । ‘भुटानी शरणार्थी प्रकरणमा हाम्रो प्रभावशाली नेता बालकृष्ण खाँड पक्राउ पर्नुभयो,’ उनले भने ‘ खाँडलाई जोगाउन कांग्रेस लागेन ।’

टीकापुर जग्गा घोटाला प्रकरणमा आरजु दोषी देखिए उनलाई जोगाउन पनि कांग्रेस नलाग्ने विश्वकर्माले दाबी गरे ।

के हो टिकापुर जग्गा घोटाला प्रकरण ?

कैलालीको टीकापुर नगर विकास समितिको कार्यालयमा ८ वैशाख २०५९ मा माओवादीले आगजनी गरे । आगजनीका कारण त्यसअघि समितिसँग जग्गा लिएका व्यक्तिहरूको अभिलेख र अन्य कागजपत्रहरू जलेर नष्ट भए । त्यसपछि समितिले २७ वैशाख २०५९ मा एउटा सार्वजनिक सूचना निकाल्यो ।

गोरखापत्र दैनिकमा प्रकाशित उक्त सूचनामा ‘यसअघि जग्गा लिएका व्यक्तिहरूलाई आफूसँग भएका प्रमाणहरू सहित ३५ दिनभित्र समितिमा निवेदन दिन’ आग्रह गरिएको थियो । त्यस बेला मुलुकमा माओवादी द्वन्द्व चरम अवस्थामा थियो । ढुक्कले हिँडडुल गर्न सक्ने अवस्था पनि थिएन । पत्रपत्रिकाहरूको वितरण शहरी क्षेत्रमा सीमित थियो । सूचना र समाचारको मुख्य स्रोत रेडियो थियो ।

यो परिस्थितिका कारण टीकापुर नगर विकास समितिले जारी गरेको सूचना धेरै मानिसले थाहासम्म पनि पाएनन् । सूचना पाएकाहरूले पनि प्रतिकूल परिस्थितिका कारण आफूसँग भएका प्रमाण सहित ३५ दिनभित्र समितिको कार्यालयमा पुगेर निवेदन दिन सकेनन् ।

यसरी कार्यालयमा रहेको अभिलेख जलेका व्यक्तिहरूले आफ्नो प्रमाण समितिमा पेश गर्न सकेनन् । यस्ता कागजपत्र नभएका वा हराएकाहरूले हराएको भन्ने निवेदन पनि दिन सकेनन् ।

त्यो शङ्कास्पद आगजनीबाट समितिमा भएका अभिलेख लगायत कागजपत्रहरू नष्ट भएको सूचना र त्यसको महत्त्व थाहा पाउने गिरोहले यसलाई नयाँ अवसरको रूपमा उपयोग गर्‍यो । अनि आफन्त, नेता, कार्यकर्ता र पहुँचवालालाई घडेरी बाँड्ने उद्देश्यले नक्कली कागजात तयार पार्न थालियो ।

टीकापुर क्षेत्रको बृहत् विकासका लागि परिकल्पना गरेर गठन भएको टीकापुर नगर विकास समितिका पदाधिकारी र बिचौलियाको मिलेमतोमा जग्गा हिनामिनाको अभियान नै सुरु भयो ।

त्यसै क्रममा देउवा पत्नी आरजुले २०५४ साल वैशाख १३ गते जग्गा माग गर्दै टिकापुर नगर विकास समितिमा निवेदन दिइन् । सोही निवेदनका आधारमा उनलाई निवेदन दिएको दुई दिनपछि २०५४ साल वैशाख १५ गते टिकापुर बसपार्क नजिकैको मूल सडकमा ३ कट्ठा ७ धुर जग्गा दिइएको थियो ।

जग्गा दिने मापदण्डमा टीकापुर विकास समितिले जग्गा वितरण गर्दा अपनाएको मापदण्डमा अन्यत्र जग्गा जमिन नभएको, टीकापुरमै घर बनाएर बस्न चाहने र घडेरी लिएको निश्चित समयपछि घर बनाएर बस्न इच्छुक व्यक्ति हुनुपर्ने थियो ।

राणा खलकको सन्तान भएकोमा गौरव गर्ने, राजधानी भित्रै जग्गा जमिन र सम्पत्ति भएकी, टीकापुरमा घर बनाएर बस्ने सम्भावना न्यून रहेकी, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले जग्गा वितरणमा व्यापक हिनामिना भएको समयमा त्यही ठाउँमा ३ कट्ठा ७ धुर घडेरी किन्नु शङ्कास्पद भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा प्रकरणमा छानबिन गरिरहेको छ ।

हालसम्म अख्तियारले ६ सय बढी सँग बयान लिने र प्रमाण संकलन गर्ने काम गरिसकेको छ । टिकापुरमा ६ सय कट्ठा हिनामिना भएको अख्तियारको निष्कर्ष छ ।


प्रतिक्रिया

One thought on “टीकापुर जग्गा प्रकरणमा दोषी देखिए आरजुलाई पनि कारबाही गर्नुपर्छ : मीन विश्वकर्मा (भिडिओ)

  1. आरजु देउवा सभापति शेरबहादुर देउवा यो देशको उपल्लो भ्रष्टाचार गर्ने सुचिमा पर्छन २०५२ पछिको प्राडो पजेरो सांसद खरिदबिक्री १७.२ किलो बराबर १ करोड हुन्छ भन्ने कुरा उनैको शासनकाल मा आएको हो मीन विश्वकर्मा इमानदार साथ बोलेका हुन भने शरणार्थी केशमा नै प्रर्छिन आरजु देउवा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर