साउन १ देखि लागू हुनेगरी आयकरमा के-के भयो परिवर्तन ?
काठमाडौं । आयकरमा परिवर्तन भएका केही बुँदाहरू साउन १ गतेबाट लागू हुँदैछ । अवकाश कोषको हितग्राही व्यक्तिलाई ५ लाख रुपैयाँसम्मको आयमा कर लाग्नेछैन ।
कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा ५ लाख रुपैयाँ वा उसको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सकिने व्यवस्था गरिएको छ । हालसम्म यस्तो रकम तीन लाख रुपैयाँ थियो ।
अब साउन १ गतेबाट लागू हुनेगरी सो रकमको सीमा ५ लाख पुर्याइएको हो ।
यस्तै आयकर नियमावलीको नियम १७ मा पनि संशोधन गरेर औषधी उपचार बापतको कर मिलान गर्न पाउने रकमको सीमा पनि बढाएर १ हजार ५ सय रुपैयाँ पुर्याइएको छ ।
कुनै आय वर्षमा प्राकृतिक व्यक्तिबाट दाबी गरिएको औषधी उपचार रकम एक हजार ५ सय रुपैयाँ सम्म कर मिलान हुनेछ । अहिले सम्म यस्तो रकम सात सय पचास रुपैयाँ छ । अब साउन १ गतेबाट १५ सय हुनेछ ।
यस्तै कर दाताले व्यवसायको नाममा खोलेको बैंक खाताको विवरण आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यस अघि यस्तो व्यवस्था थिएन ।