उद्योग-व्यवसाय क्षेत्रले गुमायो अनुभवी बजार प्रबन्धक, ३० समकक्षी जमघटपछि ५ जना मात्रै गएका थिए नुवाकोट
रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको निजी कार दुर्घटनामा परी बुधबार साँझ ३ जनाको मृत्यु भयो भने २ जना घाइते भएका छन् । बुटवलको बेलबासमा ०४५।४६ सालमा एसएसली दिएका समकक्षीको जमघटपछि नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको सेलेरियो कार सडकदेखि करिब ३ सय मिटर तल खसेको थियो ।
दुर्घटनमा परी स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल उपमहानगरपालिका १० बस्दै आएका ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल शर्मा नामले परिचित), तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भयो । शर्माले आफैले सो गाडी चलाएका थिए । अँध्यारो समयमा ओरालोको घुम्तीबाट सो गाडी तल खसेको स्थानीयले जनाएका छन् ।
दुर्घटनामा परी घाइते उनीहरुलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यो दुर्घटनामा ज्यान गुमाएका शर्मा रुपन्देही मात्रै होइन निजी क्षेत्रका कुशल बजार व्यवस्थापकले परिचित थिए । लामो समय चाउचाउको व्यवस्थापनमा सक्रिय शर्मा पछिल्लो केही समययता मसला उद्योगको बजार ब्यवस्थापनमा सक्रिय थिए ।
विभिन्न सामाजिक र व्यवसायिक संस्थाहरुमा सक्रिय शर्मा उद्योगबाट उत्पादित उत्पादनको बजारीकरणमा आफ्नो पहिचान बनाएका थिए । यो घटनापछि यो क्षेत्रमा रहेका हरेक व्यक्तिले सामाजिक सन्जालमा उनलाई स्मरण गरिरहेकाले पनि उनले बनाएको पहिचान झल्कन्छ । अहिले बजार क्षेत्रमा रहेका अधिकांशले उनलाई श्रद्धान्जली दिइरहेका छन् ।
रमपम चाउचाउ हुँदै लाली चाउचाउको बजारीकरण र व्यवस्थापनमा उनले आफूलाई राष्ट्रियस्तरमै पहिचान दिन सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । शर्मा पछिल्लो समय यशोदा फूड्समा कर्पोरेट म्यानेजरको रुपमा कायरत थिए ।
दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको र लुम्बिनी प्रादेशिक अस्पतालपछि भैरहवाको मेडिकल कलेजमा उनीहरुको उपचार भैरहेको छ । दुर्घटना बुधबार साँझ करिब ८ बजेर २५ मिनेटको समयमा भएको भएपनि घाइतेहरुले समयमै उद्दार नपाएको स्थानीयले जनाएका छन् । घटनापछि खिचिएको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ । त्यो भिडियोमा घटनापछि छटपटाइरहेका शर्माले उद्दारको माग गरिरहेका थिए ।
तर स्थानीयले तत्काल उनीहरुको उद्दार गर्ने आँट गरेनन् । इलाका प्रहरी कार्यालय बुटवलले सूचना पाएलगत्तै उद्दारमा गएको जनाएपनि त्यो सूचना दिनै ढिला भएको आंकलन गरिएको छ । ओरालो घुम्ती बाटोमा माथिबाट तीव्र गतिमा आएको कार सिधै तल झरेको देख्न सकिन्छ ।
घटनापछि क्षतविक्षत भएको गाडीमा रहेको एयर ब्याग खुलेर फुटेको देखिन्छ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले ओरालोमा गाडी अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने आंकलन गरेपनि घटनाको अनुसन्धान भइरहेको बताउँछन् ।
बुटवलस्थित उजिरसिंह माविमा २०४५।०४६ मा एसएलसी दिएका विद्यार्थीहरु नियमितजसो भेट हुने गरेका थिए । पूर्वविद्यार्थी सञ्जाल बनाएर एक दशकदेखि उनीहरु भेटघाट गर्दै आएका थिए । यसैक्रममा बुधबार उनीहरू बेलबासको बदेलपोखरीस्थित समकक्षी योग गुरुङको होटलमा दिउँसो ३ बजे भेला भएर साढे ६ बजेसम्म रमाइलो गरेका थिए ।
साँझ परेपछि २५ जना घरतिर लागेपनि ५ जना एकछिन डाँडामा घुमेर आउने भन्दै नुवाकोट निस्केका थिए । छुट्टिने बेलामा शर्माले नै यो विशेष फोटा भन्दै सेल्फी खिचेको स्मरण गर्छन् विमलराज भट्टराई ।
‘सबैलाई जुटाउने माध्यम बनेको थियो त्यो सन्जाल तर बुधबार नसोचेको घटना भयो, बाटोको दुरावस्थाकै कारण उहाँहरुको ज्यान गएको हो, सम्बन्धित पक्षले तत्काल यसमा ध्यान पुराओस्’, भट्टराईले भने । त्यसपछि छविसहित लु २ च ८५३१ नम्बरको कारमा आशा श्रेष्ठ, भगवती श्रेष्ठ, रश्मी श्रेष्ठ र चन्दा श्रेष्ठ नुवाकोटतर्फ लागेका थिए ।
माथि डाँडामा पनि भेटिएका साथीहरुसँग शर्माले सेल्फी खिचेका थिए । ८ बजे फोटा खिचेर बिदाई भएका छविलाल एकछिनपछिको घटनामा गुमाउनु परेकोले स्तब्ध भएको भैरहवाका कुलमणि ज्ञवालीले बताए ।
शर्माका दुई छोरा, एक छोरी र श्रीमती छन् । छोरी अष्ट्रेलियाबाट आएपछि मात्रै अन्त्येष्टि गरिने भएकाले उनको शव प्रादेशिक अस्पतालको शव गृहमै राखिएको छ ।
नुवाकोट जाने बाटो ठाडो उकालो छ । फर्किंदा गाडी नियन्त्रण गर्न गाह्रो हुने गरेको त्यहाँ पुग्नेहरू बताउँछन् । सावधानी र ट्राफिक संकेत पनि त्यहाँ छैन । त्यो चुरे भीरको बाटो हो । नुवाकोट प्रवेश गर्ने विन्दुमा चेक पोइन्ट आवश्यक रहेको र सुरक्षाका अत्यावश्यक सामग्रीहरु राख्नुपर्ने स्थानीय डिआर घिमिरे बताउँछन् ।