लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकट
रुपन्देही । दैनिक ३ हजार बिरामीले सेवा लिने बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ओपीडी सेवाका लागि अनलाइन टिकट सेवा सञ्चालन गरिने भएको छ । असार १ गतेदेखि सेवाग्राहीले अनलाइन माध्यमबाट टिकट लिनसक्ने भएका हुन् ।
यो सुविधा अन्तरगत सेवाग्राहीले अस्पतालको मोवाइल एप तथा इन्टरनेट ब्राउजरमा गई अस्पतालको वेवसाइटबाट अनलाइन टिकट काट्न सक्नेछन् ।
उपचारका लागि आफूले भेट्नुपर्ने ओपीडी शाखा छनोट गरी आफूले चाहेको मितिका लागि निःशुल्क रुपमा टिकट काट्नसक्ने व्यवस्था गरिएको छ ।
यो सेवालाई केही समयका लागि परीक्षणकालका रुपमा प्रयोग गर्ने र सफल भएपछि नियमित रुपमा थप व्यवस्थित गर्दै लैजाने योजना रहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जनाए ।
अस्पतालमा टिकटकै लागि सेवाग्राहीले घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न र सेवालाई थप गुणस्तर बनाउन अनलाइन सेवामा जान लागिएको उनले बताए ।
अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र समयसापेक्ष प्रविधिको प्रयोग गरी सहज पहुँचमा ल्याउनका लागि थप सुविधाहरु बिस्तार गर्दै जाने मेसु ढकालले बताए ।
अस्पतालले सुरु गर्न लागेको अनलाइन टिकट सेवामा बीमा सेवा लिनेहरुका लागि भने तत्काल व्यवस्था रहेको छैन । उनीहरुलाई पनि बिस्तारै समेट्नेगरी योजनामा रहेको ढकालले जानकारी दिए ।
यसैगरी अस्पतालमा नियमित औषधी सेवनका लागि आउने बिरामीहरुलाई मध्यनजर गरी विहान ८ बजेदेखि नै रिफिल सेन्टर सञ्चालनमा आउने भएको छ ।
यसअघि विहान १० बजेदेखि सेवा सञ्चालन हुँदै आएकोमा असार १ गतेदेखि नियमित औषधी सेवा गर्ने बिरामीहरुले ८ बजे नै अस्पतालमा आएर औषधी सेवा लिनसक्ने अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले जानकारी दिए ।