महावीर जयन्तीले सबैलाई शान्ति स्थापनामा प्रेरणा मिलोस : राष्ट्रपति
नेपाल प्रेस
२०७८ वैशाख १२ गते १२:१४
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
जैन धर्मगुरु महावीरको दुई हजार ६२०औँ जन्मजयन्तीमा शुभकामना सन्देश दिदैँ राष्ट्रपति भण्डारी जैन दिदीबहिनी तथा दाजुभाइमा सुख‚ शान्ति र समृद्धिको कामना गर्नु भएको हो ।
महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य (चोरी नगर्ने), ब्रह्मचर्य र अपरिग्रह (सङ्ग्रह नगर्ने) देखाउनुभएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
राष्ट्रपतिले अहिंसा नै मानवको साँचो धर्म हो भन्ने र सानोभन्दा सानो जीवको समेत हत्या गर्नुहुँदैन भन्ने उहाँको सन्देशबाट परिवार, समाज, राष्ट्र र विश्वमा नै द्वन्द्व र विग्रहको अन्त्य गरी शान्ति स्थापनामा मानव जातिलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छिन् ।
अहिंसा, त्याग एवं तपस्याको सन्देश दिने जैन धर्मका संस्थापक एवं धार्मिक गुरु वर्धमान महावीरको जन्म ५९९ इसापूर्वमा भएको थियो ।
प्रत्येक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभरि छरिएर रहेका जैन धर्मावलम्बीले महावीर जयन्ती मनाउने गर्छन् ।
नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत ॐकार परिवारका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर