सुपर ८ सम्भावना कायम राख्न ओमानलाई १९ बलमै हराएको डिफेन्डिङ च्याम्पियन इङ्गल्यान्ड – Nepal Press

सुपर ८ सम्भावना कायम राख्न ओमानलाई १९ बलमै हराएको डिफेन्डिङ च्याम्पियन इङ्गल्यान्ड

काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर ८ पुग्ने सम्भावना कायम राख्न डिफेन्डिङ च्याम्पियन इङ्गल्यान्डले बिहीबार ओमानलाई हराएर मात्र पुग्दै थियो, नेट रनरेटमा पनि व्यापक सुधार गर्नुपर्ने थियो।

दुई खेलमा एक अंक जोडेको इङ्गल्यान्ड यही खेलको नतिजापछि भने एकाएक सुपर ८ दौडमा देखिएको छ। टस जितेर पहिला बलिङको निर्णय लिएको इङ्गल्यान्ड आफ्नो लक्ष्यमा स्पष्ट देखियो र स्थिति पनि अनुकूल भइदियो। ओमानले १३.२ ओभरमा सबै विकेट गुमाएर ४७ रन मात्र जोड्न सक्यो।

अदिल रसिदले ४ तथा जोफ्रा आर्चर र मार्क उडले ३/३ विकेट लिए। त्यसपछि इङ्गल्यान्डका ओपनर जतिसक्दो कम बलमा लक्ष्य भेट्टाउन लागे। फिल साल्टले ३ बलमा १२ र जोस बटलरले ८ बलमा २४ रन जोडे। इङ्गल्यान्डले १९ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। जोनी बेयर्स्टले २ बलमा ८ रन बनाए।

यो नतिजापछि इङ्गल्यान्ड ३ खेलबाट ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ। ३ खेलबाट ६ अंक भएको अस्ट्रेलिया पहिलो र ५ अंक भएको स्कटल्यान्ड दोस्रोमा छन्।

स्कटल्यान्डको नेट रनरेट २.१६४ र इङ्ल्यान्डको नेट रनरेट ३.०८१ छ। समूहको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डले अस्ट्रेलिया र इङ्गल्यान्डले नामिबियासँग खेल्ने छ।

आफूले नामिबियालाई हराएको अवस्था र स्कटल्यान्डले अस्ट्रेलियासँग हार बेहोरेमा इङ्गल्यान्ड सुपर ८ पुग्ने छ। अन्य सबै अवस्थामा इङ्गल्यान्ड पहिलो चरणबाटै बाहिरिने छ। यो अवस्थामा इङ्गल्यान्ड यी दुवै खेल वर्षाले रद्द नहोस् भन्ने चाहन्छ भने आफूले जितेर स्कटल्यान्डको हार कामना गरिरहेको छ।

टी-२० विश्वकप इङ्गल्यान्ड र वेस्ट इन्डिजले सर्वाधिक २/२ पटक जितेका छन्। भारत, अस्ट्रेलिया, पाकिस्तान र श्रीलंका एक/एकपटक विजेता बनेका छन्।

जारी संस्करणमा इङ्गल्यान्डले पहिलो खेल वर्षाका कारण रद्द भएका कारण स्कटल्यान्डसँग अंक बाँडेको थियो भने दोस्रो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर