विकास र राजनीतिसँगै, एमाले यसको नायकः विष्णु पौडेल
रुपन्देही । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । एमाले रुपन्देहीको १० औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले अब सबै नेता कार्यकर्ताहरु विकाससँग जोडिदै जानुपर्ने बताएका हुन् ।
‘अब विकास र राजनीतिलाई जोडेर लैजानुपर्दछ, जनताको जीवनसँग जोडिएर राजनीतिलाई अगाडि बढाऔं, विकास र समृद्धिलाई जोडेर मात्रै अबको राजनीति संभव छ भनेर बुझौं, एमालेले यसमा नायकको भूमिका देखाउनुपर्छ, जहाँ समस्या त्यहाँ एमाले भनेर जनतालाई अनुभूत गराउनुपर्छ’ नेता पौडेलले नेता कार्यकर्तालाई निर्देशनसहित आग्रह गरेका थिए ।
उनले नवनिर्वाचित कार्यसमितिलाई एकताबद्ध भएर काम गर्न पनि निर्देशन दिँदै अधिवेशनले पार्टीको जीवनमा नयाँ जोश सञ्चार गरेको जनाए । ‘पार्टीमा अन्तरविरोध र अलमल हुनेछैन अब अग्रगति र प्रगति हुनेछ, रुपन्देहीमा एमालेको कोहीसँग प्रतिस्पर्धा हुँदैन तर त्यो भनेर योजनाबिहीन तरिकाले समय बिताउनुहुँदैन ।’ नेता पौडेलले भने ।
गुण र दोष दुबै थाहा पाएका आफ्नै कमरेडलाई एकआपसमा दोषारोपण गरेर होइन, हरेकले गुणलाई आत्ससात गरेर कमिटीलाई चलायमान बनाउन कार्यकर्तालाई उनले सुझाव दिए । ‘रुपन्देहीको पार्टी पंक्तिलाई प्रभावकारी परिचालन गर्ने, विकास निर्माणका काममा निगरानी र खबरदारी गर्ने, फराकिला सम्भावनालाई साकार पार्ने, आन्तरिक एकतालाई बलियो बनाउने, संगठनलाई सुदृढ, गतिशील र अनुशासित बनाउने, चेतना र चिन्ताका हिसाबले अग्रणी बनाउने, गुणस्तरीय संगठन, नेता कार्यकर्ता रहेको पार्टी बनाउने जिम्मेवारी नयाँ कार्यसमितिको काधमा आएको छ ।’ उपाध्यक्ष पौडेलले भने ।
एमाले पोलिटब्युरो सदस्य लिला गिरीले नेकपा एमालेका नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताए । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका गिरीले पार्टीका हरेक कार्यकर्ता उत्पादनसँग जोडिदै राजनीतिमा क्रियाशील हुनुपर्ने र ‘रुपन्देहीलाई नेपालमै नमुना बनाउनुपर्ने सुझाए । पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीलाई जीवन्त बनाउन हरेक कमिटी चलायमान बनाउनुपर्ने र त्यो जिम्मेवारी जिल्ला कमिटीले पूरा गर्नुपर्ने बताए ।
पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले अबको नेतृत्वले थप कुशलतापूर्वक काम गर्नुपर्ने सुझाव राख्दै सबै तहका कमिटीलाई सकृयतापूर्वका जिम्मेवारीमा लगाउन आग्रह गरे । पार्टीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । जेठ २३ देखि २५ गतेसम्म भएको अधिवेशनबाट रुपन्देहीमा सबै पद सर्वसम्मत निर्वाचित भएको थियो ।