काठमाडौं-मधेश फास्ट ट्रयाकमा २०८३ चैतसम्म गाडी गुड्छन् : रक्षामन्त्री उप्रेती (भिडिओ)
काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडां-तराई/मधेश द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् ।
पदभार सम्हालेको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो व्यक्तिगत कुण्ठा, आकांक्षाहरू नपुगेका कारण विभिन्न किसिमका हल्लाह फिँजाइएको टिप्पणी गरे । सही कुरालाई सही भन्न र गलत कुरालाई गलत भनेर राष्ट्रिय गौरवका योजनाहरूका बारेमा अवगत गराउनसके थोरै वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिने उनको भनाइ थियो ।
तराई/मधेश द्रुतमार्ग नेपाली सेनाको कारणले नभइ राज्यको तर्फबाट नै आवश्यक ऐन, कानून, नियम नबनाउँदा र नियमन हुन नसक्दा ढिलाइ भएको उनले प्रष्ट्याए । अहिले द्रुतगतिमा काम भइरहेको र यही हिसाबले काम भइरहे २०८० सालको चैतसम्म काम सम्पन्न भइ सवारी सञ्चालन हुने मन्त्री उप्रेतीको प्रतिवद्धता छ ।
मन्त्रालयले सय दिनमा चीन सरकारबाट सहयोग स्वरूप प्राप्त भई दर्ता हुन नसकी विगत लामो समय देखि प्रयोगविहीन अवस्थामा रहेका ९५ वटा सवारी साधनको दर्ता गराएको, काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको मुआब्जा वितरणका लागि लाग्ने पुँजीगत लाभकर छुट दिने व्यवस्था मिलाएको उनले सुनाए । नेपाली सेनाद्वारा निर्माणाधीन विभिन्न करिडोर सडकमा कार्यरत सुरक्षाकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने, रक्षा मन्त्रालयको कार्यसम्पादनमा चुस्तता ल्याउन कार्यसम्पादन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याइएको पनि उनले प्रगति सुनाए ।
४२ स्थानबाट सुत्केरी र घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको, कोभिड-१९ को समयमा भारत सरकारबाट सहयोग स्वरुप प्राप्त भएका ६ वटा एम्बुलेन्सहरू सञ्चालनमा ल्याइएको, रक्षा मन्त्रालयमा सुरक्षा र प्रतिरक्षा सम्बन्धी पुस्तक/दस्तावेजहरूको संकलन तथा वाचनालयको सुविधासहित पुस्तकालयको स्थापना गरी सञ्चालनमा ल्याइएकोलगायतका उपलब्धी उनले देखाएका छन् ।
रक्षा मन्त्रालय वा अन्तर्गत निकायहरूको चालू आ.व. ०८०/०८१ सम्मको कूल बेरुजु रकम ३ अर्ब ५२ करोड ७६ लाख ९१ हजार रहेकोमा फागुन मसान्तसम्म १ अर्ब ७९ करोड २० लाख २ हजार संपरीक्षण एवं लगत कट्टाका लागि महालेखा परीक्षकको कार्यालयमा पेश तथा तयारी अवस्थामा रहेको र महालेखा परीक्षकबाट कायम भएको बेरूजु रकममध्ये ३ करोड ७७ लाख ४८ हजार असुलउपर गरिएको उप्रेतीले बताएका छन् ।