कुवेतको आगलागीमा जलेको ४५ शव एयर इण्डियाबाट भारत ल्याइयो
काठमाडौं । गत बुधबार कुवेतमा भएको अगालागीमा परेर ज्यान गएका ४५ भारतीय नागरिकको शव आज भारत ल्याइएको छ ।
इण्डियन एयरको उडानबाट शव भारतको दक्षिणी राज्य केरलको कोची शहरमा शुक्रबार बिहान ल्याइएको थियो । केरलका मुख्यमन्त्री पिनारायी विजयान र विधायकहरु विमानस्थल पुगेको बीबीसीले उल्लेख गरेको छ ।
भारतका संघ तथा राज्यका सरकारहरुले पीडित परिवारलाई क्षतिपूर्ति दिने बताएका छन् ।
कुवेतको माङ्गफ शहरमा बुधबार भएको आगलागीमा परेर ५० जनाको ज्यान गएको थियो । त्यसमा ४५ भारतीय छन् भने तीन जना फिलिपिन्सका छन् । दुईको शव भने पहिचान गर्न नसकिएको बताइएको छ ।
आगलागीमा परेकामा झण्डै आधा भारतीयहरु केरल राज्यका मात्रै भएको बीबीसीले उल्लेख गरेको छ ।