सुहाङ भन्छन्- देशलाई नचिन्नु, नबुझ्नु ठूलो समस्या हो
‘बजेटले मेरो विश्वास र मान्यता खण्डित भयो’
काठमाडौं । नेकपा एमालेका युवा नेता एवम् प्रतिनिधि सभा सांसद सुहाङ नेम्वाङले अहिलेसम्मको ठूलो समस्या भनेको देशलाई नचिन्नु भएको बताएका छन् ।
संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले आफ्नो सम्भावनालाई नबुझ्नु समस्या भएको बताए ।
‘हाम्रो अहिलेसम्मको सबैभन्दा समस्या ‘हामीले हाम्रो देशलाई नचिन्नु हो । हाम्रो सम्भावनालाई नबुझ्नु हो’, उनले भने, ‘जहाँ जतिसुकै मानव निर्मित चिज बनाएपनि पर्यटन आउँदैन । त्यही बजेट हाल्छौं । जहाँ केही नबनाएपनि पर्यटक आइरहेका छन्, त्यस्ता ठाउँको बेवास्ता गछौं । हाम्रो समस्या यहीनिर छर, यो समस्या अहिले पनि देखियो ।’
उनले इलाम निर्वाचन क्षेत्र नं. २ मा मन्दिर निर्माणका लागि बजेट विनियोजन भएपनि पर्यटकीय क्षेत्रमा शून्य भएकोमा टिप्पणी गरेका छन् ।
उनले उपनिर्वाचनका क्रममा जनताले गरेका मागहरु आफूले सम्बन्धित क्षेत्रमा बुझाए पनि बजेटमा नसमेटिएको आशय व्यक्त गरे । उनले ति मागहरु बजेटमा नदेख्दा आफ्नो विश्वास र मान्यता खण्डित भएको बताए ।
‘इलामेली जनतालाई छिट्टै फर्किन्छु भनेर हतार–हतार फर्किएर इलामेली जनताको आबश्यकताको सूची सकेसम्म बुझाएँ’, उनले भने, ‘तर जब बजेटका यी पुस्तिकाहरु सार्वजनिक भयो । त्यो मेरो विश्वास र मान्यता खण्डित भयो । हाम्रो सिद्धान्त र प्राथमिकता एकातिर, हाम्रो आवश्यकता र माग एकातिर अनि हामी अर्का तिर रहेछौँ भन्ने लाग्यो । विकासप्रतिको हाम्रो बुझाई र अवधारणा प्रष्ट छैन रहेछ भन्ने लाग्यो ।’
उनले पर्यटनको अनन्तः सम्भावना रहेको बताए । उनले पर्यटनमा ‘सिजन’को कुरा हुने भएपनि इलाम हरेक सिजन पर्यटकलाई स्वागत गर्न तयार रहेको उल्ल्ेख गरे । उनले अर्थमन्त्रीलाई इलाम घुम्न पनि अनुरोध गरे ।
‘इलाम यस्तो जिल्ला हो, हरेक सिजन पर्यटकलाई स्वागत गर्न तयार छ । यो बजेटपछि मान्य पर्यटन मन्त्रीज्यूलाई इलामेली जनताको तर्फबाट अनुरोध छ, ‘केही गरेर साता समय मिलाउनुहोस् न, एक पटक इलाम घुम्न जाऔं’, उनले भने ।
त्यस्तै, उनले बजेटले अन्य क्षेत्रका पर्यटनलगायत सम्भावनालाई उजागार गर्ने कार्यक्रम पनि नसमेटेको टिप्पणी गरे । उनले सोलुखुम्बुलगायत जिल्लाको उदाहरण दिँदै यस्तो बताए ।
त्यस्तै, आफूले पर्यटन एउटा क्षेत्र उदाहरण दिएको तर समस्या सबै मन्त्रालयमा रहेको उनले बताए ।