कोशी सरकारको काम: ५ वर्षमा ५२८ किमि सडक पिच, ८० वटा पुल निर्माण
विराटनगर । कोशी प्रदेश सरकारले अहिलेसम्म २२ वटा बहुवर्षीय सडक निर्माण सम्पन्न गरेको छ ।
कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगरले प्रदेश सरकार आएपछि ७८ बहुवर्षीय सडक निर्माणको काम थालेकोमा २२ वटा योजना सम्पन्न भएको बताए ।
उनले प्रदेश सरकारले अहिलेसम्म ५२८ किलोमिटर सडक कालोपत्रे गरेको बताए । मन्त्री मगरले १ हजार २५७ किलोमिटर सडक ग्राभेल र १ हजार १०२ किलोमिटर कच्ची सडक निर्माण गरेको बताए ।
प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य पेश गर्दै उनले प्रदेश सरकारले ८० वटा मोटरेबल पुल, १८४ झोलुङ्गे पुल निर्माण गरेको बताए ।
उनले प्रदेश सरकारले ३३ सरकारी भवन, १०५ सामुदायिक भवन, ११ भ्यूटावर, १८ बसपार्क निर्माण गरेको बताए ।
मन्त्री मगरले प्रदेश सरकारले ५४ स्थानमा एकीकृत बस्ती निर्माण गरिएको र जनता आवास कार्यक्रमअन्तर्गत ५ हजार ९१० वटा घर निर्माण गरिएको बताए । उनले प्रदेश सरकारले ५० वटा खेल स्थल निर्माण गरेको बताए ।
आर्थिकमन्त्री मगरले तीन वर्षभित्र कोशीबाट खोरेत मुक्त बनाइने बताए । पशुहरुमा खोरेत रोगका कारण कृषकलाई समस्या परेको भन्दै प्रदेशलाई खोरेतमुक्त प्रदेश बनाउन १३ करोड ५७ लाख विनियोजन गरिएको उनले बताए ।
खोरेत मुक्तभएपछि दुग्ध र मासुजन्य पदार्थ विदेश निर्यात हुने मगरले बताए । उनले खोरेत र पशु रोगको महामारी नियन्त्रण र भेटेनरी अस्पतालका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।