गण्डकी बजेटः अधिकांश पुरानै, राप्रपालाई थमाउन पृथ्वीनारायण शाहको शालिक बनाउन बजेट !
पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले आगामी वर्षको लागि बजेट ३३ अर्ब हाराहारीको विनियोजन गरेका छन् । चालु आर्थिक वर्षभन्दा ४५ करोड कम गरी प्रस्तुत गरिएको बजेटमा अधिकांश कार्यक्रम पुरानै छन् ।
आर्थिक मामिला मन्त्री गुरुङले अधिकांश कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले गर्भवती तथा सुत्केरी महिला उद्धार कार्यक्रम अर्थात एयर लिफ्टिङ कार्यक्रमदेखि सक्दै कमाउँदै, कमाउँदै सिक्दै जस्ता कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
यस्तै प्रदेश सरकारले युवा प्रतिभा सम्मान, पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश, भगत सर्वजित सीप विकास, प्रविधि मैत्री सिकाई कार्यक्रम, सामुदायिक क्याम्पयसँग गण्डकी प्रदेश, एक सामुदायिक वन एक पोखरी लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ ।
अघिल्लो आर्थिक वर्ष पनि प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने भनि बजेटमा समावेश गरिएको थियो । यस वर्ष पनि प्रदेश सरकारले प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्न बजेट वक्तव्यमा उल्लेख गरेको छ । हरेक वर्ष घोषणा गर्ने भन्दै बजेट वक्तव्यमा समावेश गरेपनि कार्यान्वयन भने हुन सकेको छैन ।
नाम परिवर्तन गरी उत्पादनसँग युवा अभियान, पत्रकार क्षमता विकास कार्यक्रम, चालु आर्थिक वर्षमा सञ्चालन हुन नसकेको पत्रकार लेखनवृत्ति फेलोसिप कार्यक्रम, ग्रामिण पोषण सुरक्षा, पाडी–पाच्छी हुर्काउन पोत्साहन कार्यक्रमलाई पनि सरकारले निरन्तरता दिएको छ ।
सरकारले केही नयाँ कार्यक्रम बजेटमा समेटेको छ । सरकारले बजेटमा मोबाइल माटो अस्पतालदेखि विग भ्यु फेवा, विग र लिड विद्यालय र उचाईमा खेल खेलमा उचाई जस्ता नयाँ कार्यक्रमलाई समेटेको छ ।
माटो परीक्षण तथा मलको गुणस्तर नियमन सम्बन्धी कार्यक्रमलाई थप सघनता तुल्याउन आगामी आर्थिक वर्षदेखि मोबाइल माटो अस्पताल सञ्चालन गर्ने व्यवस्था मिलाएको अर्थमन्त्री गुरुङले बताए । उच्च उचाई खेल तालिम केन्द्रको पूर्वाधार निर्माण कार्य आगामी आर्थिक वर्षमा सुरुवात गरी उच्च उचाइका खेलका लागि उचाइमा खेलः खेलमा उचाई कार्यक्रम सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइएको गुरुङको भनाइ छ ।
सरकारले ल्याएको बजेटमा दीर्घकालिन योजना भने खासै देखिँदैन । केही अनुत्पादक कार्यक्रम हटाएको सरकारले प्रदेशले स्थापना गरेको संरचनामा खासै ध्यान दिएको देखिँदैन । यस्तै दीर्घकालिन योजनाअन्तर्गत बहुवर्षीय योजनामा समेत सरकारको खासै ध्यान पुग्न सकेको देखिँदैन ।
राप्रपालाई थाम्न पृथ्वीनारायण शाहको शालिक बनाउन बजेट !
गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा_ लाई थमाउन सरकारले पोखरामा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्न बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारले नेपाल एकीकरणको इतिहासलाई स्मरण गर्दै पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा पृथ्वी जयन्ती मनाउने बजेट वक्तव्यमा उल्लेख गरेको छ । यस्तै पोखरा महानगपालिकाभित्र पृथ्वीनारायण शाहको शालिक निर्माण गरिने अर्थमन्त्री गुरुङले बताए ।
जनयद्धको बेला पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको भन्दै राप्रपाले सोही ठाउँमा शालिक पुनस्र्थापनाको माग गर्दै आइरहेको थियो । यसो त पोखरा महानगरपालिकाभित्र कहाँ बनाउने भन्ने उल्लेख गरिएको छैन ।
सरकारले पृथ्वीनारायण शाहको शालिक निर्माण गर्न बजेट विनियोजन गरेसँगै यो राप्रपा थमाउन सरकारको जुक्ति भएको धेरैको अनुमान छ ।