ब्राजिल जानुअघि बालेनले किन गरे नगरसभा बैठक स्थगन ?
प्रवक्ता नवीन मानन्धर भन्छन्- हामीले बहिष्कार गरेको हैन, ब्राजिल जानको हतारोले उहाँले नै स्थगित गर्नुभयो
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसँग छलफल नै नगरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजेपछि नगर सभा स्थगित भएको छ । महानगरको १५औं नगर सभा अधिवेशनको दोस्रो बैठक बिहान बोलाइएको भए पनि विनाछलफल नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजिएको भन्दै प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का जनप्रतिनिधिले छलफल गरेर मात्रै प्रस्तुत गर्नुपर्ने र त्यसका लागि एक घण्टा समय मागेपछि नगरप्रमुख साहले समय थप नगरेरै बैठक स्थगित गरेका हुन् । यद्यपि महानगर प्रमुख साहले १५ मिनेटमात्रै समय दिन सक्ने बताएपछि स्थगित भएको हो ।
कांग्रेसबाट निर्वाचित १७ का वडाध्यक्ष एवं महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार यसअघि प्रमुख राजनीतिक दलका जनप्रतिनिधिसँग छलफल गरेर मात्रै नीति तथा कार्यक्रम ल्याइने गरिएको थियो । तर, यस पटक भने मेयरले एक्कासी नीति तथा कार्यक्रम तयार गरेर जनप्रतिनिधिलाई उपलब्ध गराएका हुन् । एक्कासी तयार पारिएको नीति तथा कार्यक्रम उपलब्ध गराएपछि आफूसहित प्रमुख तीन दलका तीनजना वडा अध्यक्ष बसेर नीति तथा कार्यक्रममा संशोधन गर्न खोजिरहेका बेला बैठक सुरु गरेपछि आफूहरूले समय माग गर्दा समय नदिएका कारण बैठक रोकिएको उनको भनाइ छ ।
उनले भने, ‘६२ बुँदे नीति तथा कार्यक्रम महानगर प्रमुखज्यूले एक्कासी शुक्रबार जनप्रतिनिधिलाई उपलब्ध गराउनुभयो । त्यसपछि बिहान हामी अर्को हलमा बसेर नीति तथा कार्यक्रममा आन्तरिक छलफल गर्न थाल्यौं । नगर सभाको बैठक सुरू हुने बेलासम्म २२ बुँदासम्म हामीले छलफल गरेर सहमति गरिसकेका थियौँ । ४० बुदाँ बाँकी नै थियो । बैठक सुरू भएको हामीले जानकारी पाएपछि महानगर प्रमुख ज्यूलाई करिब एक घण्टा समय छलफलका लागि माग गर्यौ । उहाँले १५ मिनेट मात्रै दिन सकिन्छ भन्नुभयो । १५ मिनेटमा सकिदैन भनेपछि उहाले हठातमा १० गते नगरसभा बस्ने गरी एक्कासी स्थगित गरिदिनुभयो ।’
मानन्धरले मेयर साहलाई ब्राजिल भ्रमणमा जानका लागि हतार भएका कारण एक घण्टा समय दिन नसकेकाले बैठक स्थगित गरेको तर आफूहरुले बहिष्कार नगरेको नेपाल प्रेससँग बताए ।
उनले भने, ‘हामीले एक घण्टामात्रै समय मागेका थियौं । एक घण्टामात्रै सारेको भए १२ बजेसम्म नीति तथा कार्यक्रम प्रस्तुत भएर बैठक सकिहाल्थ्यो । महानगर प्रमुखले म बाहिर जाँदैछु भनेर भन्नुभयो । अनि सल्लाह नै नगरेर एक्कासी १० गते नगर सभा बस्ने गरी बैठक स्थगित भएको घोषणा गर्नुभयो । हामीले बैठक बहिस्कार गरेको होइन । उहाँले नै स्थगित गर्नुभएको हो ।’
नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित १५ नम्बर वडा अध्यक्ष ईश्वरमान डंगोलले विगतमा कार्यपालिकाको बैठकमा नै वृहत छलफल गरेर नीति तथा कार्यक्रम पारित गरेर मात्रै परिषदमा पेश गर्ने गरिएको भए पनि यस पटक भने एकाएक परिषदमा नै नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजिएको नेपाल प्रेससँग बताए ।
उनले भने, ‘यसअघिको जस्तो भएन । कार्यपालिका बैठकमा बृहत छलफल भएर पारित गरेर बल्ल परिषदमा पेश गर्ने गरिन्थ्यो । त्यसो गर्दा कार्यपालिका सदस्यले पनि परिषद्मा बोल्नु परेन । नगरसभामा अरु सदस्यले मात्रै आफ्नो धारणा राख्दा छोटो र सजिलो पनि हुन्थ्यो । यस पटक भने छलफल बिना नै एकै पटक नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोज्नुभयो । हामीले अध्ययन र छलफल गर्न समय नपाएका कारण एक घण्टा समय मागेको हो, नदिएर सीधै १० गतेसम्मका लागि स्थगित गरिदिनुभयो ।’
वडा अध्यक्ष डंगोलले आफूहरू नीति तथा कार्यक्रमबारे अस्पष्ट रहेकाले स्पष्ट हुनका लागि एक घण्टा समय मागेकोमा उक्त समय नदिएर प्रमुखले स्थगित गरेको बताए ।
उनले भने, ‘नीति तथा कार्यक्रम अस्पष्ट नभएकाले प्रमुखसँग बसेर स्पष्ट हुन चाहान्छौ, एक घण्टा जती समय चाहियो भनेर भन्यौ । प्रमुखले एकै पटक सकिदैन १० गते गरौ भनेर स्थगित गर्नुभयो ।’
नेकपा (एमाले) बाट निर्वाचित ३२ नम्बर वडा अध्यक्ष नवराज पराजुलीले पनि एकैपटक नगरसभामा प्रस्तुत हुन लागेको नीति तथा कार्यक्रम विवादित हुने भएकाले एक घण्टा बसेर छलफल गरेर सर्वसम्मत बनाउन खोजेकोमा समय नमिल्ने भएपछि प्रमुखले १० गतेसम्मका लागि नगरसभा स्थगित गरेको बताए ।
यो पनि पढ्नुहोस् : नगरसभाको बैठक स्थगित भएपछि मेयर बालेनको आक्रोश- कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू
उनले भने, ‘हामीले नीति तथा कार्यक्रममा एक घण्टा जति समय मागेर छलफल गरेर सर्वसम्मत रुपमा पारित गर्नेगरी साचेका हौ । महानगर प्रमुख ज्यूले समय नमिलेर होला, एकैपटक १० गते गरौं भन्नुभयो र बैठक स्थगित भयो ।’ उनका अनुसार नीति तथा कार्यक्रमका विषयमा जनप्रतिनिधिसँग छलफल भइसकेको थिएन र एकैपटक नगरसभामा नै छलफल गर्न खोजिएको थियो ।
महानगर प्रमुख साहले तीन दिन अघि शुक्रबार नीति तथा कार्यक्रमको मस्यौदा महानगरपालिकाका सबै जनप्रतिनिधिलाई वितरण गरेका थिए । तर, नीति तथा कार्यक्रममाथि अहिलेसम्म छलफल गरेका थिएनन् । त्यसपछि एकै पटक आइतबार बिहान ८ बजेका लागि नगरसभाको बैठक बोलाइएको थियो ।
८ बजे बैठक बोलाइएको भए पनि प्रमुख राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने तीनजना प्रतिनिधि बैठकमा पौने १० बजेसम्म पनि नआएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नगरसभाको बैठक सञ्चालनका लागि मेयर साहलाई समय दिए ।
मेयर जेठ ३२ गते प्रस्तुत भएको प्रगति समीक्षा र नीति तथा कार्यक्रममाथि धारणा राख्न चाहानलेका लागि पाँच मिनेटभित्र नाम टिपाउन समय दिए ।
त्यति बेलासम्म पनि तीन दलका तीनजना जनप्रतिनिधि बैठक हलभन्दा अर्को हलमा बसेर नीति तथा कार्यक्रमको मस्यौदामाथि सहमति गरिरहेका थिए । त्यसपछि अधिकांश जनप्रतिनिधि नाम टिपाउन छोडेर पालैपालो बैठक हलबाट बाहिर निस्किए ।
बैठक सुरु भएको जानकारी पाएपछि प्रमुख तीन दलका प्रतिनिधित्व गर्ने तीनजना जनप्रतिनिधि आएर मेयरलाई एक घण्टाको समय मागे । महानगर प्रमुखले १५ मिनेट मात्रै समय दिन सकिने बताए । त्यसपछि एकाएक महानगर प्रमुखले असार १० गते बिहान ११ बजेसम्मका लागि नगरसभा स्थगित भएको जानकारी गराए ।
बालेन पनि सन्कि देखिदैछन् । छलफल गरेरै अघि बढनु राम्रो होला । अनि ब्रजिलचाहि किन नि ? पदमा भएको बेला सरकारी पैसामा विदेश सयर गर्न ? अनि काँग्रेसभन्दा के फरक त तिमी ?
गजडी मेयरको फुइबुट्टे प्रस्तुति