नेदरल्यान्ड्सबाट फुत्किएको बङ्गलादेश बन्न सक्ला नेपालले हराउने पहिलो टेस्ट टोली ?
काठमाडौं। तीन दिनअघि बंगलादेशविरुद्ध १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स कुनै समय बलियो देखिएको थियो। उसले १४.३ ओभरमा ३ विकेट गुमाएर एक सय ११ रन जोडेको थियो।
डच टोलीलाई ५.३ ओभरमा ४९ रन आवश्यक थियो भने ७ विकेट साथमा दियो। तर ३३ रनमा खेलिरहेका साइब्रान्ड एंगलब्रेच्ट सोही स्थितिमा आउट भएपछि डच टोली धरमरायो। कति सम्म भने डच टोलीले एक सय १७ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो।
यही उत्कृष्ट पुनरागमनपछि २५ रनको जित हात पारेको बङ्गलादेश टोलीको सुपर ८ पुग्ने सम्भावना बलियो बनेको थियो। समूहको अन्तिम खेलमा सोमबार बिहान नेपालसँग प्रतिस्पर्धा गर्दा बङ्गलादेश ढुक्क भने हुने छैन।
अघिल्लो खेलमा नेपालले दक्षिण अफ्रिकाविरुद्ध शानदार प्रदर्शन गरेका कारण बङ्गलादेश दबाबमा हुने छ। नेपालले पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई एक सय १५ रनमा सीमित गरेको थियो।
यद्यपि नेपालले यो खेल १ रनले हार्यो तर विश्वभरबाट प्रशंसा बटुलिरहेको छ। नेपाली टोलीका कप्तान रोहित पौडेलले जारी विश्वकपमा टेस्ट मान्यताप्राप्त टोलीहरू बढी दबाबमा रहेको बताउँछन्। एसोसिएटले टेस्ट राष्ट्रलाई हराइरहेका कारण त्यसले दबाब बढाएको उनको भनाई छ।
दक्षिण अफ्रिकामाथि जित हात पारेको भए यो नेपाली क्रिकेटका लागि अहिले सम्मकै एक महत्त्वपूर्ण सफलता हुने थियो। नेपालले हालसम्म सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट मान्यता प्राप्त राष्ट्रलाई हराउन सकेको छैन।
हाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका १२ सदस्यसँग टेस्ट मान्यता छ। जारी विश्वकपमा नेपालले पहिलो चरण पार नगर्ने पक्का भइसकेको छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले दोस्रो खेलमा वर्षाका कारण खेल रद्द भएपछि श्रीलङ्कासँग अंक बाँडेको थियो। अब बंगलादेशविरुद्ध टेस्ट राष्ट्रमाथि ऐतिहासिक जितको लक्ष्यसहित उत्रने छ।
सन् २०१४ मा टी-२० विश्वकप खेलेपछि नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रहरूसँग खेल्ने अवसर पाउन थालेको हो। विश्वकपको त्यस संस्करणमा नेपालले पहिलो चरणमा तीनमध्ये दुई खेल जिते पनि बंगलादेशसँग नेटरनरेटमा पछाडि परेर बाहिरिएको थियो।
नेपाली टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो। त्यसयता नेपालले विश्वकप छनोटलगायत विभिन्न प्रतियोगितामा टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पाइरहेको छ। वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्डजस्ता मात्र नभएर भारत र पाकिस्तानसँग बलिया टोलीसँग पनि भिडेको छ।
तर नेपाल अझै टेस्ट टोलीमाथि जित हात पार्न सकिरहेको छैन। जबकि माथिल्लो स्तरका अधिकांश एसोसिएट टोलीले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट टोलीलाई हराइसकेका छन्। यूएईले न्युजिल्यान्ड र आयरल्यान्ड, हङकङले बङ्गलादेश, ओमानले आयरल्यान्ड, नेदरल्यान्ड्सले बङ्गलादेश, दक्षिण अफ्रिका, जिम्बावे, इङ्ल्यान्ड, आयरल्यान्डजस्ता टोलीलाई हराएको छ।
यस्तै स्कटल्यान्डले इङ्गल्यान्ड, वेस्ट इन्डिज, जिम्बावे, बङ्गलादेश, आयरल्यान्डलाई हराएको छ। नेपालको यात्रा भने ‘मन जित्ने प्रदर्शन’भन्दा माथि उक्लिएर ‘जित’सम्म पुग्न बाँकी छ। नेपालले अब फेरी सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रसँग कहिले खेल्छ भन्ने निश्चित छैन।
अहिलेलाई भने टेस्ट राष्ट्रमध्ये कमजोर नै मानिने बङ्गलादेश नेपालका लागि ऐतिहासिक सफलता प्राप्तिका लागि गतिलो प्रतिद्वन्द्वी हो। जारी विश्वकपमा बङ्गलादेश दक्षिण अफ्रिकालाई १ सय १३ रनमा सीमित गरेर पनि ४ रनले पराजित भएको थियो। यस्तै श्रीलंकाबाट प्राप्त एक सय २५ रनको लक्ष्य एक ओभर बाँकी रहँदा पुरा गरेको थियो।
कूशल मल्ल र दिपेन्द्र ऐरीले जिम्मेवारी पूर्वक ब्याटिंग नगरेको हुनाले नेपाल हार्यो द. अफ्रिका संग।