संविधानसभा सदस्यले कब्जा गरेको १५ कठ्ठा सार्वजनिक जग्गा सिडिओले गराए खाली – Nepal Press

संविधानसभा सदस्यले कब्जा गरेको १५ कठ्ठा सार्वजनिक जग्गा सिडिओले गराए खाली

रुपन्देही । रुपन्देहीमा संविधानसभा सदस्यले कब्जा गरेको सार्वजनिक जग्गा प्रमुख जिल्ला अधिकारी आफैं पुगेर खाली गराएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका- ११ मसिना निवासी कमलेश्वर पुरी गोश्रावमीले कब्जा गरेको जग्गा खाली गराउन निर्देशन दिँदासमेत अटेर गरेपछि आइतबार प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याल आफैँ पुगेर खाली गराएका हुन् । उनले १५ कठ्ठा सार्वजनिक जग्गा कब्जा गर्नुका साथै स्थानीयले प्रयोग गर्ने बाटोमा समेत तारजाली लगाएर छेकेका थिए ।

जिल्ला प्रशासन कार्यालयले साविक मसिना ६ ख कित्ता नम्बर ४०३ सार्वजनिक जग्गा (दक्षिणतर्फ जाने बाटोको) प्रवेश स्थानमा तारबार लगाएपछि सर्वसाधारणले प्रयोग गर्न पाउने गरी बाटै कायम गर्न निर्देशन दिइएको थियो ।

त्यस्तै, साविक मसिना ६ ख कित्ता नम्बर ४०३ सँग जोडिएको पूर्व र पश्चिमतर्फको दुवै पोखरी सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको देखिएको र साविक मसिना ६ ख कित्ता नम्बर ३१६ सँग जोडिएको पोखरीको उत्तरतर्फ तारबारले घेरी वृक्षरोपण गरिएको देखिएकोले उक्त तारबार हटाउन भनिएकोमा नमानेपछि डोजर चलाएको प्रजिअ अर्यालले बताए ।

प्रशासनले जिल्लाभरिका पालिकालाई सार्वजनिक जग्गाबारे जानकारी गराउन पत्राचार गरेको थियो ।

‘हामीले पालिकाको सूचनाका आधारमा कागजपत्र जाँच गर्ने, पत्ता लगाउने र सार्वजनिक जग्गा भएको खण्डमा त्यसलाई खाली गराउने काम गरिरहेका छौं । त्यसबाहेक प्रशासनमा आएका निवेदनका आधारमा समेत सार्वजनिक जग्गाको खोजी गरिरहेका छौं’, अर्यालले भने ।

राज्यको सम्पत्तिलाई आफ्नो भनी अतिक्रमण गर्न खोज्ने र हटाउन अटेर गरेमा डोजर चलाएरै जग्गा खाली गराउनतर्फ आफूहरू अघि बढेको उनको भनाइ छ । सरकारको सम्पत्तिलाई आफ्नो भनी हकदाबी गर्ने परिपाटीको अन्त्य गर्न स्थानीय तहलाई प्रशासनको सहयोगी बन्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । हाल नेता पुरी भारतमा रहेकाले सम्पर्क हुन सकेन ।

सीडीओ अर्यालका अनुसार प्रशासनले बुटवलको रानीगञ्जमा रहेको खाली जमिनमा विभिन्न संघसंस्थाले भवन निर्माणका लागि संस्थाको नामसहित बोर्ड राखेकामा त्यसलाई हटाएर खाली गराएको, सिद्धार्थनगर नगरपालिकाको एक स्थानको जमिन व्यक्तिले आफ्नो नाममा दर्ता गराउन लागेकामा मालपोतमा जग्गा दर्ता नगर्न निर्देशन दिई रोकेको जस्ता कार्य गरिसकेको र यो निरन्तर चलिरहने छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-११ का वडाध्यक्ष अकरामुद्दिन मुसलमानले केही सार्वजनिक जग्गामा नेता कमलेश्वर पुरीले वृक्षरोपण गरेकोमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आइतबार आएर खाली गराएको बताए । उनले आफूलाई जानकारी दिएर नै प्रशासनले खाली गराएको सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर