विश्वविद्यालय समाज सुधारको प्रमुख अंग हो: मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समग्र कर्णालीको विकास र उन्नयन गर्न मध्यपश्चिम विश्वविद्यालयको स्थापना भएको बताएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको १४औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले विश्वविद्यालयले आफ्नो भूमिका निर्वाह गर्न सकेमा कर्णाली प्रदेशको अवस्था परिवर्तन गर्नमा टेवा पुग्ने बताए ।
उनले कर्णाली प्रदेशको शैक्षिक क्षेत्रमा प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्यका लागि नीति तथा कार्यक्रममार्फत सम्बोधन गरेको जानकारी दिए ।
‘विश्वविद्यालय समाज सुधारको प्रमुख अंग हो’, उनले भने, ‘जसका लागि सरोकारवाला सबै सामूहिक जिम्मेवारीका साथ कर्णालीको विकासमा लागिपर्नु पर्छ ।’
उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले मध्यपश्चिमलाई उत्कृष्ट विश्वविद्यालयको रुपमा स्थापित गर्नु आफ्नो कार्ययोजनाको मूल उद्देश्य रहेको बताए ।
उनले कर्णालीवासीको गौरवको रुपमा रहेको मध्यपश्चिम विश्वविद्यालय स्थानीय, प्रदेश र संघीय सरकारलगायत विकास साझेदार, निजी संस्था सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ट प्राध्यापक, अनुसन्धानकर्ता, कर्मचारी र विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।