अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव  विप्लव – Nepal Press

अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव  विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताएका छन् । शनिवार जनश्रम कृषि सहकारी संस्था लिमिटेडको आयोजना र अखिल (समाजवादी)को समन्वयमा भएको ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवादमा उनले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताएका हुन् ।

महासचिव विप्लवले आगामी आर्थिक वर्षको बजेटमा सरकारमा सहभागी दलका प्रभावशाली नेताले नै आलोचना गरिहेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गरे । उनले १२ खर्बको राजश्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको बताए ।

महासचिव विप्लवले सरकारमा सहभागी मान्छेका कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको पनि बताए । उनले भने, ‘अर्थतन्त्रको कुरा गर्ने बित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा गर्ने बित्तिकै दुई वटा कुरा हो । एउटा, राज्यको कुरा हो । एउटा, संस्था र नागरिकको कुरा हो । राज्य अल्मल्लिएको देख्छौँ हामी अहिले । राज्यले गरिराखेको छ, तर राज्य अल्मल्लिएको देख्छौँ हामी । बजेट आयो । बजेटको बारेमा यति धेरै विवादास्पद कुरा छन् अहिले । राम्रा पनि छन् त्यहाँ । तर सरकारमै बसिरहेका पार्टी, उनकै नेता, नेता पनि कस्तो भन्नुहुन्छ भने निर्णायक प्रभाव पार्ने खालका नेताले आलोचना गरिरहेका छन् । आलोचना पनि निराशापूर्ण छ । अल्मल्लिएको छ । हरेक वर्ष तपाई, हामीले कस्तो सुन्नुपर्ने परिस्थिति छ भने आशा भन्दा पनि आलोचना र निराशा यस्तो बढी प्रवाह छ, नेपालमा । बजेट माथि यति ठुलो आक्रमण छ कि अहिले । बजेटले केही पनि गर्दैन भन्दा भन्दै बेकारको, वाहीयात, हावादारी भन्नेसम्म गइसक्यो । सरकारमै बसेका नेता, मन्त्री भएकै मान्छेले यो बजेट काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा ? सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको देखिँदैन । धेरै ठूलो विचलन हुने देखिन्छ अहिलेको तर्क हेर्दाखेरी । यतै अल्मलिने वा केही समयपछि यो सरकार पनि भताभुङ्ग हुन्छ कि भनेको जस्तो देखिन्छ, सरकारमै बसेका मान्छेको कुरा सुन्दा । हामीले भनेको के हो भने राज्य कम्तिमा पनि एउटा आत्मनिर्भर अर्थतन्त्रको दिशामा गइदिए नेपालका सबै विज्ञलाई, पाटीरुलाई पनि आर्थिक विषयमा केन्द्रीत गरेर छलफल गर्दिए हामी पनि भाग लिन चाहन्थ्यौँ ।’

महासचिव विप्लवले देशलाई आत्मनिर्भर अर्थतन्त्रको दिशामा लानुपर्ने बताए । उनले आफूहरु सरकारसँग मिलेर काम गर्न चाहेको भन्दै सरकारले मद्दत गरेमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने र परिणाम आउने गरी कृषि क्षेत्रबाट योगदान गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर