सहकारीमा जागिर खान चाहनेलाई लक्षित गर्दै सहकारी रोजगार मेला गरिँदै – Nepal Press

सहकारीमा जागिर खान चाहनेलाई लक्षित गर्दै सहकारी रोजगार मेला गरिँदै

काठमाडौ । पछिल्लो समय सहकारीमा विश्वासको संकट बढ्दै गएपछि राष्ट्रिय सहकारी महासंघले त्यस्तो विश्वास फर्काउन सहकारी रोजगार मेला २०८१ आयोजना गर्दैछ । सहकारीमा विश्वाससँगै कर्मचारीको पनि अभाव हुन थालेको छ ।

यसैकारण असार ७ देखि ९ गतेसम्म महासंघले सहकारी रोजगार मेला गर्दैछ । मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिलाई सहकारी क्षेत्रमा रोजगारीका अवसरबारे जानकारी दिने बताइएको छ ।

उक्त क्षेत्रमा जागिर गर्न चाहनेको बायोडाटा लिइने र रोजगारीका सम्बन्धमा उचित परामर्श दिइने महासंघकी महाप्रवन्धक चित्रा थाम्सुहाङले बताइन् ।

उनले भनिन, ‘यदि कसैलाई रोजगारी चाहिएको छ भने उनीहरुले बायोडाटा संकलनको लागि राखिएको बक्समा आफ्ना कागजपत्र पेश गर्न सक्नेछन् । र मेला सकिएपछि कर्मचारी आवश्यक भएका कम्पनीहरुले प्राप्त कागजातमध्ये आफूलाई उचित लागेमा जागिरका लागि प्रस्ताव गर्नेछन् ।

मेलामा ५० भन्दा बढी उत्कृष्ट सहकारी संघसंस्थाहरुको सहभागिता हुने छ भने ५ हजार बढीले अवलोकन र सहभागिता जनाउने आयोजकको अपेक्षा रहेको छ । मेलामा विभिन्न संघसंस्थाका ३० वटा स्टल रहनेछन् ।

मेलामा हाल पूर्ण रोजगारमा नरहेका व्यक्तिहरु, उत्पादनको क्षेत्रमा काम गरिरहेका,साना तथा मझौला उद्योग सञ्चालन गरिरहेकाह,कृषि उत्पादन तथा बजारिकरणमा लागेका,१६ वर्षदेखि माथि जुनसुकै उमेर समूहका व्यक्तिहरु,सेवानिबृत्त तथा हाल रोजगारको खोजीमा रहेकाहरुले सहभागिता जनाउन सक्नेछन् ।

पहिलोपटक हुन लागेको सहकारी रोजगार मेलालाई नेपाल सरकार भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी बैंक,नेफ्स्कून लगायतका संघ संस्थाले सहयोग गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर