दीपेन्द्र चौधरीको विश्वकप समीक्षा: नेपालसँग तीनवटै म्याच जित्ने माैका थियाे – Nepal Press

दीपेन्द्र चौधरीको विश्वकप समीक्षा: नेपालसँग तीनवटै म्याच जित्ने माैका थियाे

काठमाडाैं । नेपालको टी-२० विश्वकप यात्रा सकिएको छ । विश्वकपका तीन वटै खेलमा नेपाल साँघुरो अन्तरले पराजित भयो । एउटा खेल वर्षाले रद्द भएको थियो ।

नेपाली राष्ट्रिय टीमका पूर्वखेलाडी दीपेन्द्र चौधरी (हाल चयनकर्ता) यो विश्वकप थुप्रै दृष्टिकोणबाट नेपालका लागि फलदायी बनेको बताउँछन् । नेपालले बलिया टीमहरुसँग पनि फाइट गरेर आफ्नो क्षमता पुष्टि गरेको उनको भनाइ छ । यद्यपि नतिजा नेपालको पक्षमा नआउँदा केही निराश भएको उनले बताए ।

चौधरीको विश्लेषणमा नेपालको बलिङ उत्कृष्ट रह्यो, तर ब्याटिङ भने ऐन मौकामा चुक्यो । टी-२० विश्वकपबारे चौधरीको टिप्पणी उनकै शब्दमाः

नेपालको टी-२० विश्वकप यात्रालाई दुइटा पाटोबाट हेर्नुपर्छ । रिजल्टको पाटोबाट हेर्ने हो भने पक्कै पनि हामी चुक्यौं । हामीसँग तीनवटै म्याच जित्न सक्ने मौका थियो, तर अलिकति लाइन क्रस गर्न नसक्दा तीन वटैमा फेल भयौं । यसले गर्दा अलिकति निराशा अवश्य छ ।

तर, अर्को पाटो चाहिँ प्रदर्शनको हो । हाम्रो टीमले जुन हिसाबले टेस्ट टीमहरुसँग फाइट गर्‍यो, त्यो चाहिँ सन्तोषजनक छ । कुनै पनि खेल वान साइडेड भएन । हामीले कसैसँग पनि सरेन्डर गरेनौं । हामीलाई हराउन कुनै पनि टीमलाई सहज भएन । यसलाई सकारात्मक पक्षको रुपमा लिनुपर्छ ।

हामी वर्ल्ड कप नै जित्ने भनेर गएका थिएनौं । सुपर ८ सम्म पुग्ने लक्ष्य थियो । कम्तीमा एउटा टेस्ट कन्ट्रीलाई जित्न सकेको भए त्यो अभूतपूर्व र ऐतिहासिक हुन्थ्यो । विश्व क्रिकेटले हामीलाई हेर्ने नजर बदलिने थियो । नेपाली क्रिकेटको आगामी यात्रा धेरै सहज बन्न सक्थ्यो । ठूला टीमहरु हामीसित खेल्न इच्छुक हुन सक्थे ।

हामी टेस्ट राष्ट्रविरुद्ध जीतको धेरै नजिक पनि थियौं, खासगरी दक्षिण अफ्रिकाविरुद्धको म्याचमा । त्यो म्याच हामीले जित्नुपर्थ्यो, तर क्रिकेटमा सानो सानो मोमेन्टले पनि रिजल्ट उल्टिन सक्छ । त्यस्तो नै भयो । साउथ अफ्रिका जस्तो टीमलाई ११५ रनमा रोक्न सफल भएर पनि हामीले लक्ष्य पछ्याउन सकेनौं ।

अन्तिम दुई बलमा दुई रनमात्रै ल्याउनुपर्ने थियो । जस्तो पीच भए पनि यो जीतका लागि अनुकूल अवस्था हो । क्रिजमा गुल्शन झा थिए । उनी दुवै बलमा बिट हुन पुगे । अन्तिम बलमा एक रन पूरा गर्न सकेको भए पनि सुपर ओभरमा जान सकिन्थ्यो, तर उनको रनिङ त्यति ‘स्मुथ’ भएन । प्रेसरको कन्डिसनमा ब्ल्यांक आउट भएको पनि हुनसक्छ ।

म गुल्शनलाई दोष दिन चाहन्न । खासमा हामीले केही बल बाँकी छँदै जित्नुपर्थ्यो । १८ बलमा १८ रन ल्याउनुपर्ने थियो र ७ विकेट सुरक्षित थियो, तर जीत नजिक पुगेपछि ब्याट्सम्यानहरु सम्हालिन सकेनन् । यसले अलिकति प्रश्न चिह्न खडा गरेको छ ।

हार र जीत भनेको खेलको पाटो हो । साउथ अफ्रिकाले पनि विगतको एउटा वर्ल्डकप सेमिफाइनलमा यस्तै कन्डिसनमा अस्ट्रेलियासँग हारेको थियो । एउटा हारलाई लिएर सबै सकियो भन्नु पनि हुँदैन, तर समीक्षा गरेर कमजोरीहरु पहिल्याउनुपर्छ र त्यसबमोजिम सुधार गर्नुपर्छ । टीम फिर्ता आएपछि त्यो कामहरु हुने नै छ ।

हामीले जोसित खेल्यौं, उनीहरुहरु हामीभन्दा बलिया टीम हुन् । क्रिकेटमा उनीहरुको इतिहास ठूलो छ । स्रोतसाधन बढी छ । हामी भर्खर त दोस्रो पटक विश्वकप खेल्दैछौं । त्यसैले यो नतिजा अनपेक्षित होइन । प्रतियोगिताबाट हामीले धेरै सुखद अनुभव लिएका छौं ।

नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्‍यो । टेस्ट टीमहरुलाई पनि मामुली स्कोरमा रोक्न सफल भए हाम्रा बलरहरु । पीचले पनि बलरलाई साथ दिएको थियो । ब्याटिङबाट चाहिँ अलिकति निराश छु । हो, पीच अलिकति चुनौतीपूर्ण थियो, तर योभन्दा १०-१२ प्रतिशतमात्रै राम्रो ब्याटिङ गरेको भए कम्तीमा दुइटै टेस्ट राष्ट्रलाई हराउने अवसर थियो । हाम्रो मुख्य ब्याट्सम्यानहरु फेल भए । कसैले पनि अर्धशतक बनाउन सकेनन् । मुख्य कारण यही नै हो जस्तो लाग्छ, रिजल्ट नआउनुको ।

एकजना ब्याट्सम्यानलाई मात्र दोष दिने अवस्था छैन । टप ५-६ जना सबै नै फेल भएको हो । नेपालसँग प्रमुख प्रशिक्षक मोन्टी देसाई हुनुहुन्छ, जो ब्याटिङ कोच पनि हो । उहाँले पनि जिम्मेवारी लिनुपर्छ । पक्कै फर्किएपछि समीक्षा होला ।

बलिङमा चाहिँ खोट लगाउने ठाउँ छैन । सोमपालले धेरै राम्रो गरे । उनले नेपालको लिडिङ बलरको भूमिका जिम्मेवारीपूर्वक निभाए । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले पनि ब्याट्सम्यानहरुलाई खुलेर खेल्न दिएनन् । नेदरल्यान्ड्ससँगको म्याचमा सन्दीप भएको भए केही फरक पर्न सक्थ्यो । किनकि त्यो म्याच पनि टाइट नै थियो, तर हामीसँग जे रिसोर्सहरु उपलब्ध छन्, त्यसैबाट खेल्ने हो ।

श्रीलंकासँगको म्याच रद्द भयो । त्यसमा रिजल्ट जे पनि आउन सक्थ्यो । नेपालले चाहिँ खेल्न पाएको भए राम्रो हुन्थ्यो । हामीले एउटा अवसर मिस गर्‍यौं । ठूलो टीमसँग खेल्न हामीले धेरै समय कुर्नुपर्छ । श्रीलंकासित पहिलो पटक खेल्दै थियौं । जितेको भए इतिहास बन्थ्यो । हारेको भए पनि एउटा राम्रो अनुभव हुन्थ्यो । त्यो खेर गयो ।

नेपाल क्रिकेट संघ (क्यान) को तर्फबाट तयारीमा कुनै पनि कसर बाँकी राखिएको थिएन । नेपाली टीमले निरन्तर विभिन्न देशहरुसँग खेलिरहेको थियो । विश्वकपभन्दा एक महिना अगाडि नै अमेरिका र वेस्ट इन्डिज पठाएर त्यहाँको कन्डिसनमा अभ्यस्त बनाइएको थियो । त्यसैले कुनै पनि ‘एक्स्क्युज’ छैन । त्यहाँ पीच फरक र कठिन छ भनेरै अगाडि पठाइएको हो ।

नेपालले योभन्दा अगाडि सन् २०१४ मा पनि टी-२० विश्वकप खेलेको थियो । त्यो विश्वकपको फर्म्याट अलिकति फरक थियो । त्यसमा नेपालले अफगानिस्तान र हङकङलाई हराउन सफल भएको थियो । अफगानिस्तान त्यसबेला टेस्ट कन्ट्री भने थिएन । बंगलादेशलाई पनि नेपालले कडा फाइट दिएको हो । अहिले चाहिँ फाइट भयो, तर रिजल्ट आएन ।

सन् २०१४ को वर्ल्ड कप खेल्ने टीम पनि निकै प्रतिभाशाली थियो । म सन् २०१२/१३ को ब्याचलाई नेपालको सबैभन्दा ट्यालेन्टेड ब्याच मान्छु । हामीले सन् २००५/०६ तिर खेल्दा पनि ट्यालेन्ट त थियो, तर अवसर थिएन । एक्स्पोजर थिएन । सन् २०१४ को विश्वकप खेल्ने टीम पारस खड्का, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर जस्ता खेलाडी थिए । अहिलेको टीमको तुलनामा त्यो टीमसँग अनुभव थिएन । प्रतिभाको कुरा गर्दा अहिलेको भन्दा त्यो बेलाका खेलाडीलाई माथि राख्छु ।

एउटा फरक के भने त्यो बेला हाम्रो टीमले फस्ट ब्याटिङ गर्न रुचाउँथ्यो । सानो स्कोर पनि बलरहरुले रक्षा गर्थे । अहिले चाहिँ नेपालको टीम चेज गर्न बढी रुचाउँछ । यो विश्वकपमा भने न लक्ष्य दिँदा जितियो न लक्ष्य पछ्याउँदा ।

विश्वकपपछि टीममा केही फेरबदल हुन सक्छ । जसले पर्फम गरिरहेको छैन, उसलाई राखिरहनु पर्छ भन्ने हुँदैन । बाहिर पनि प्लेयरहरुले मेहनत गरिरहेका छन् । उनीहरुलाई मौका दिनुपर्छ । हामी अब ‘वान डे’ मोडमा फर्किंदै छौं । हाम्रो ब्याटिङको कमजोरी हामीले पत्ता लगाएपछि अब यसलाई सुधार्ने जिम्मेवारी प्रशिक्षकको हो । नेपाली क्रिकेटको आगामी यात्रा सुखद हुने विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर