नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल बन्यो सेल्फी पोइन्ट, घुम्न आउनेको घुँइचो (तस्बिरहरु) – Nepal Press

नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल बन्यो सेल्फी पोइन्ट, घुम्न आउनेको घुँइचो (तस्बिरहरु)

जनकपुरधाम । कमला नदीले धनुषा र सिरहा जिल्लालाई जोड्छ । सिराहा नगरपालिका १३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने कमला नदीमा बनेको झोलुङ्गे पुल सेल्फी पोइन्टको रुपमा विकास भएको छ । यहाँ दैनिक आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

२८ करोडमा बनेको यो झोलुङ्गे पुलको लम्बाई १५ सय दशमलव ४४ मिटर र चौडाई १ दशमलव २ मिटर रहेको छ ‌। ०८० फाल्गुन १२ मा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पुलको उद्घाटन गरेका थिए ।

नेपालको सबभन्दा लामो झोलुङ्गे पुलको रुपमा प्रचार भएकाले हेर्नका लागि टाढा टाढाबाट आन्तरिक पर्यटकहरु आउने गरेको स्थानीय बताउँछन् । पुल हेर्नेको भीड लाग्न थालेपछि दुबैतिर अस्थाई पसलहरु खुलेको छ । यो पुलले सैयौं रोजगारी सृजना गरेको छ ।

झोलुङ्गे पुल पर्यटकीय स्थलको रुप लिएको सिरहा नगरपालिका १३ का संजय यादवले बताए । उनका अनुसार यो पुलमा रमाइलो गर्न दैनिक ५ हजार बढी मानिस आउँछन् । उनीहरु पुलमा घण्टौं रमाउँछन् । सेल्फी हानेर सामाजिक संजालमा अफलोड गर्छन् ।

‘अहिले हुलाकी सडक अन्तर्गत कमलामा पुल बनेको छैन्,’उनले भने, ‘यो पुल सञ्चालनमा आएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुरधाम र सिरहाका विभिन्न ठाउँमा आवत–जावत गर्न पनि सहज भएको छ । यो पुल अहिले मोटरसाइकलमा जनकपुरधाम आवतजावत गर्ने वैकल्पिक मार्ग बनेको छ ।’

पुलमा पुग्ने आन्तरिक पर्यटकहरु भने समस्या भोग्न बाध्य छन् । पुलको दुबैतिर जहाँ भीडभाड हुन्छ, त्यहाँ तत्काल सार्वजनिक शौचालयको आवश्यकता रहेको
घुम्न पुगेकाहरु बताउँछन् । । पुरुषहरु खुल्ला रुपमा शौच गर्छन्, तर महिलालाई ठूलो समस्या छ । अहिले प्रचण्ड गर्मी हुन्छ, यस्तो बेलामा पर्यटकका लागि छहारी आवश्यक परेकाले त्यसका लागि सरकारले भौतिक पूर्वाधार निर्माण गर्न जरुरी देखिएको उनीहरुको भनाइ छ ।

मल्हनियाका प्रमोद साहले नेपालकै लामो झोलुङ्गे पुल बनेको र पर्यटकहरु आउन थालेपछि खुशी लागेको सुनाए । कमलाको बगरमा उब्जने तरबुजा, खिरा, काक्रो र तरकारी बेच्न बाहिर लग्नुपर्थ्यो तर अब त्यो बाध्यता नरहेको उनले सुनाए । पुलमा आउने पर्यटकहरु तरबुजा कोशेलीको रुपमा लग्ने गरेको बताए ।

‘आन्तरिक पर्यटकको भीडभाड लाग्दा यहाँ अस्थायी पसलहरु त खुलेको छ,’ उनले भने, ‘अब बजारको रुप दिनुपर्छ । पुलको दुबैतिर व्यबस्थित बजार बसाउन सकियो भने हजारौं व्यक्ति रोजगारी पाउने छन् । यसतर्फ सरकारको ध्यानाकर्षण होस् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *