समस्याग्रस्त घोषित कुबेर, चार्टर्ड र स्ट्यान्डर्ड सहकारीको सम्पूर्ण बचत फिर्ता – Nepal Press

समस्याग्रस्त घोषित कुबेर, चार्टर्ड र स्ट्यान्डर्ड सहकारीको सम्पूर्ण बचत फिर्ता

काठमाडौं । सहकारी विभागको सिफारिसमा समस्याग्रस्त घोषित २० मध्ये तीन वटा सहकारीका बचतकर्ताले सम्पूर्ण रकम फिर्ता पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड र स्ट्यान्डर्ड मल्टिपर्पोज सहकारी संस्थाका बचतकर्ताले आआफ्नो रकम फिर्ता पाएका हुन् ।

यी सहकारीको सम्पत्ति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको हो । मन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषित सहकारीका निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तीव्रता दिएपछि उक्त सफलता प्राप्त भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष मोहन गौतमले बताए ।

मन्त्री अधिकारी र मन्त्रालयसँगको समन्वयमा समस्याग्रस्त घोषित ३ सहकारीको सम्पूर्ण बचत रकम फिर्ता भएको उनले बताए ।

समस्याग्रस्त संस्थाका पीडित, बचतकर्ताका प्रतिनिधि, सञ्चालक तथा यस समितिबीच विभिन्न मितिमा बचत फिर्तालगायतका विषयमा निरन्तर छलफल भई समस्याग्रस्त १९ सहकारीमध्ये ३ वटाको समस्या पूर्ण रुपमा समाधान भएको छ ।

सहकारीमन्त्री अधिकारीले समस्याग्रस्त रहेका अन्य १७ वटा सहकारीको समस्याको स्थायी समाधानका लागि पहल भइरहेको बताए ।

पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका, दोस्रो चरणमा समस्याग्रस्त उन्मुख रहेका र तेस्रो चरणमा सहकारीमा देखिएको समस्याहरुको स्थायी समाधानका लागि मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ ।

उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई अझ बढी प्रभावकारी ढङ्गले परिचालन गरी बचत फिर्ताको कार्यलाई अघि बढाइएको जानकारी दिए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दवाडीले सहकारी ऐन २०७४ ले परिकल्पना गरेका तर सोबमोजिम गठन हुन नसकेका संरचनाहरु कर्जा तथा बचत सुरक्षण कोष, कर्जा सूचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असुली न्यायाधीकरण स्थापना तथा गठनको प्रक्रियासमेत अघि बढेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर