दुर्घटनामा गम्भीर घाइते बैतडीका राजुको उपचारमा समस्या, सहयोगका लागि परिवारको अपिल
बैतडी । बैतडीको डिलासैनी गाउँपालिका-२ छेपट्टाका राजेन्द्र बोहरा (राजु) मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि परिवारले उपचारमा आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
जेठ १३ गते दार्चुलाको शैल्यशिखर नगरपालिका गोकुलेश्वरबाट घर फर्किने क्रममा बैतडीको डिलासैनी-३ स्थित झरना भन्ने ठाउँमा दुर्घटनामा परेका थिए ।
शक्त घाइते बोहराको छातीका करङ भाँचिएको, फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् । यस्तै टाउको गम्भीर चोट लागेका उनी अहिले अचेत अवस्थामा छन् ।
धनगढीको निसर्ग अस्पतालमा १० दिन भेन्टिलेटरमा राखेर उपचार गराए पनि उनी होसमा आउन सकेका छैनन् । अहिले उनको थप उपचार भारतको बरेली मेडिकल कलेजमा भइरहेको छ ।
अहिलेसम्म १२ लाख भन्दा बढी खर्च भइसकेको र अझै छातीको करङको अप्रेसनमा थप रकम लाग्ने भएकाले आफन्तले सहयोगका लागि अपिल गरेका हुन् ।
चिकित्सकहरूले उनी राम्रोसँग होसमा आउन अझै ३ महिनादेखि ६ महिनासम्म लाग्न सक्ने बताएका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएकाले आफन्तले उपचारको सहजताका लागि आर्थिक सहयोग गर्न अपिल गरेका हुन् ।
घाइते बोहरा भलिबल खेलाडीका रूपमा परिचित छन् ।
सहयोगका लागि बोहराकी श्रीमती लक्ष्मी बोहराको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर (4660100000193010) मा सहयोग गर्न सकिने परिवारले जनाएको छ । सहयोगका बारेमा थप बुझ्नु परे (९८६९९१२१८८) मा सम्पर्क गर्न सकिने छ ।