कर्जा नगएपछि बैङ्कहरूले राष्ट्र बैङ्कमा राखे करिब १७ खर्ब
राष्ट्र बैङ्कले आज ५० अर्ब तान्दै
काठमाडौँ । बैङ्कहरूमा निक्षेप थुप्रिने क्रम बढ्दो छ । चालू आर्थिक वर्षको अन्तिम एक महिनामा सरकारले गर्नुपर्ने खर्च पनि बढिरहेको छ । जसका कारण बैङ्कमा निक्षेप थुप्रिएको छ तर कर्जा विस्तार हुन सकेको छैन ।
निक्षेप मात्र थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैंकले ४ महिनामै बैङ्क तथा वित्तीय संस्थाबाट पटक पटक गरी १६ खर्ब ९५ अर्ब ५५ करोड तानेको छ । स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैङ्क तथा वित्तीय संस्थाले केन्द्रीय बैङ्कमा राखेका हुन् ।
फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा आएसँगै बैङ्क तथा वित्तीय संस्थाहरूले स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत यो रकम केन्द्रीय बैङ्कमा राखेका हुन् ।
बैंकहरूले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैङ्कमा राख्न सक्छन् । फागुनमा ९ पटक, चैतमा ६ पटक, वैशाखमा ९ पटक, जेठमा ९ पटक र असारको ३ र ५ गते गरी दुई पटक बैङ्कहरूको स्थायी निक्षेप सुविधा उपयोग गरिसकेका छन् । आज मात्रै राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थासँग ५० अर्ब रुपैयाँ तान्दै छ ।
स्थायी निक्षेप सुविधामा जम्मा भएको रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । तर निर्देशनबमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न भने सकिनेछ ।
बैंकहरूको कर्जा लगानी बढ्न नसकेकै कारण स्थायी निक्षेप संकलन सुविधाको प्रयोग बढ्न बढिरहेको छ । पछिल्लो समय बैङ्कहरूको निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा छ । तर पनि कर्जाको माग हुन सकेको छैन ।
बैङ्कहरूले सर्वसाधारणबाट लिएको निक्षेप ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैङ्कमा राख्न बाध्य भएका छन् । सस्तो ब्याजदरमै निक्षेप राख्नुपर्ने भएपछि बैङ्कहरूले निक्षेपकर्तालाई दिने व्याज खर्च बढ्दै गएको छ । तर, कर्जा प्रवाह हुन नसक्दा बैङ्कहरूले आम्दानी बढाउन पनि सकेका छैनन् । अहिले पनि बैंकहरूमा ६ खर्ब रुपैयाँ भन्दा बढी लगानी योग्य रकम छ ।
स्थायी निक्षेप सुविधा लिन बैङ्क तथा वित्तीय संस्थाले अन्तर बैङ्क सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो ३० दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको, पछिल्लो ३० दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको र सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदर भन्दा कम नभएको हुनुपर्ने शर्त पालना गर्नुपर्ने छ ।
बैङ्कहरूले राष्ट्र बैङ्कमा निक्षेप राख्न थालेपछि एक अर्का बैङ्क बिच (अन्तर बैङ्क) हुने कारोबार पनि घटेको छ । यसले गर्दा अन्तर बैङ्क कारोबारको ब्याजदर ३ प्रतिशतभन्दा कम हुन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले अन्तर बैङ्क ब्याजदर २.९५ प्रतिशत छ ।