राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको खेलकुदमन्त्रीको अभिव्यक्तिबारे के भन्छन् रवि लामिछाने ?
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बजेट निर्माणको प्रणालीमा प्रश्न उठाएका छन् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सुरुआतदेखि नै काम गर्न सकिएन भने सरकारमा टाँसिएर नबस्ने भन्दै आएको बताए ।
शनिवार खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्न आवश्यक रहेको भन्दै राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको अभिव्यक्ति दिएका थिए ।
त्यसबारे उनले भने, ‘हामीले राम्रो काम गर्न सकेनौँ भने वा काम गर्न पाइएन, सकिएन भने टाँसिइरहेर बसेर हुँदैन भनेर सुरुवातदेखि नै भनिरहेका छौँ । यो रास्वपाको मूल स्वभावको निरन्तरता हो । त्यो भन्दा बाहेक बजेटमा काम गर्ने तौरतरिका, बजेट निर्माण, हुने प्रणाली, कहीँ न कहीँ मन्त्रीको पनि पहुँच हुन नसक्ने अवस्था हो । त्यो प्रणालीगत अवस्थाको अभिव्यक्ति हो । त्यसले सरकारमा समस्या आयो कि के हो ? भन्ने केही होइन ।’
उनले खेलकुद मन्त्रीको अभिव्यक्तिलाई आआफ्नै स्वादअनुसार व्याख्या गरिएको टिप्पणी गरे।
उनले भने, ‘सदनमा पनि छलफल भइरहेको प्रणालीमा समस्या भइरहेको छ भन्ने बुझेका छौँ । आफैँलाई पनि अझै केही गर्न पाए हुन्थ्यो भन्ने र हुटहुटीको प्रतिबिम्ब मात्रै हो । तर, व्याख्या आआफ्नो कुनै कारणले समय पर्याप्त नहुँदा र फेरि गठबन्धन परिवर्तन पनि हुँदा त्यसले सोचेजस्तो हुन नपाएको कुरालाई राम्रोसँग लोकतान्त्रिक पद्धतिबाट मजाले अभिव्यक्त गरेको मात्रै हो ।’