लुम्बिनीमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस – Nepal Press

लुम्बिनीमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

योग स्वास्थ्य र कल्याणको मार्ग हो : मुख्यमन्त्री महरा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् ।

भारतीय राजदूतावास, लुम्बिनी विकास कोषसहितको आयोजनामा बिहीबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री महराले योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म-अन्वेषण र समग्र स्वास्थ्यको महत्त्वपूर्ण प्रणालीका रूपमा विकास भएको बताए ।

‘योगले हामीलाई आत्म-ज्ञान हासिल गर्न, मानसिक सन्तुलन कायम गर्न तथा एकता र करुणाको भावना जागृत गर्न सहयोग पुर्‍याउँछ’ उनले भने ।

योगले प्रतिरोधात्मक क्षमता र मानसिक दृढता बढाउने उनले बताए । मुख्यमन्त्री महराले लुम्बिनी प्रदेश सरकारले नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए ।

उनले योगका फाइदाहरूलाई स्वीकार्दै सार्वजनिक स्वास्थ्य सम्बन्धी पहलहरूमा समावेश गर्न र प्रत्येक व्यक्तिलाई योगलाई आफ्नो दैनिक जीवनमा समावेश गर्न प्रेरित गर्नसमेत आग्रह गरे । यस प्राचीन अभ्यास को रूपान्तरणकारी शक्ति अनुभव गर्न म सबैलाई आह्वान गर्दछु’ मुख्यमन्त्री महराले भने ।

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलमा अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्न पाउँदा खुसी र आनन्द भएको समेत उनले बताए ।

कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउँदै लुम्बिनी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री महराले भारतीय दूतावासलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भगवान् बुद्धको जन्मस्थस्थलमा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदा यसले पर्यटन प्रवर्द्धन गर्ने बताए ।

उनले गत वर्षदेखि लुम्बिनीमा योग दिवस मनाउन शुरु गरिएको र अब प्रत्येक वर्ष जुन २० तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने बताए ।

उनले भगवान् बुद्धको जन्मस्थलमा लुम्बिनीको प्रचार प्रसारका लागि भारतीय दूतावासले विभिन्न कार्यक्रमहरू समेत गर्दै आएको बताए ।

यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धको दुःखबाट मुक्त गर्ने मार्ग जस्तै आधुनिक युगमा पूर्वीय मान्यता अनुसारको योग अभ्यासले फाइदा गर्ने बताए ।

उनले लुम्बिनी विकास कोषले भारतीय दूतावाससँग सहकार्य गरेर कार्यक्रमहरू गरेको बताउँदै लुम्बिनीको विश्वव्यापी प्रवर्द्धनका लागि आगामी दिनमा समेत सहकार्य गर्न इच्छुक रहेको बताए ।

उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई भारतीय पर्यटकहरूको मुख्य गन्तव्य बनाउनुपर्ने बताए । उनले यसका लागि सुनौली नाकामा व्यवस्थित एकीकृत अध्यागमन कार्यालय बनाउन मुख्यमन्त्री र राजदूतको ध्यानाकर्षण गराए ।

उनले नाकामा पर्यटकहरूले दुःख पाइरहेको गुनासो आउने गरेको तर्फ संकेत गर्दै मुख्यमन्त्री र राजदूतको ध्यानाकर्षण गराएका हुन्। कार्यक्रम अघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मायादेवी मन्दिरको दर्शन गरेका थिए ।

राजदूत श्रीवास्तवलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनीका बारेमा बिफ्रिङ गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री हृदेश त्रिपाठी, देवेन्द्रराज कँडेल, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, पतञ्जली योगमा आबद्ध रुपन्देही, कपिलवस्तु र नवलपरासीका योग गुरु, योग अभ्यासकर्ता, उद्योगी व्यवसाय र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय राजदूतावास, लुम्बिनी विकास कोष, बिपी कोइराला भारत नेपाल फाउण्डेशन, पतञ्जली योगपिठ नेपालले संयुक्त रूपमा बिहीबार नै दिवस मनाएको हो । उक्त अवसरमा सहभागी मुख्यमन्त्रीसहितका अतिथिहरूले समेत योग अभ्यास गरेका थिए ।

यो वर्ष “स्वास्थ्यका लागि योग“ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *