बुटवलको डेल्टा कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा, तीन जिल्लाका १५ दमकल प्रयोग – Nepal Press

बुटवलको डेल्टा कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा, तीन जिल्लाका १५ दमकल प्रयोग

५ घन्टा आगो लाग्दा करोडौं नोक्सान, क्षतिको पूर्ण विवरण आउन समय लाग्ने

रुपन्देही । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ करिब साढे ६ बजेबाट लागेको आगलागी नियन्त्रणमा लिन रुपन्देही, कपिलवस्तु र नवलपरासीका १५ वटा दमकललाई ५ घन्टा लागेको छ ।

यद्यपि अहिले पनि ठूलो आगो कम भएपनि भित्रको सबै निभेको छैन । ५ घन्टा लागेको आगोले करोडौंको समान जलेर ध्वस्त भएको छ तर क्षतिको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ ।

तीन घन्टामा रुपन्देही, नवलपरासी र कपिलवस्तुका १५ दमकलको प्रयोगले आगो नियन्त्रणमा ल्याएको तर पूर्ण रुपमा ननिभेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए ।

बुटवल उपमहानगरका २, आयल निगमका २, गौतमबुद्ध विमानस्थलको १, रामग्राम, सुनवल, सैनामैना, वाणगंगा, लुसा, गाउँपालिकाको संयुक्त्त गरी १५ दमकलले आगो निभाउन प्रयोग भएका थिए ।

कम्प्लेक्सका सबै तलामा करोडौंका समान भएको र सबै जलेकाले क्षतिको विवरण निकाल्न समय लाग्ने र विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको आशंका छ ।

डेल्टा कम्प्लेसको चौथो तल्लाबाट लागेको आगो पछि सबै तलामा सरेको थियो । बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा निभाउने प्रयास भएपनि निकै समय लागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक बिक्री हुँदै आइरहेको छ । आगलागी खेलकुदका सामाग्री रहेको चौथो तलाबाट सुरू भएको संचालक घनश्याम पाठकले बताए ।

घना बस्तीको बीचमा र त्यसको नजिकै रहेको पेट्रोल पम्पले धेरै स्थानीयलाई त्रसित बनाएको थियो । पछिल्लो समय गौतम बुद्ध विमानस्थलको दमकल आएपछि आगो निभाउन सहज भएको प्रहरीले जनाएको छ । स्टिल स्टक्चरमा बनेको भवन भएकाले पनि धेरै क्षति भएको आंकलन स्थानीयले गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *