रास्वपाको २ वर्षे समीक्षा: भिरमा सिस्नु समाउँदै हिँडिरहेका छौं, पार्टी जोगाउन बोल्ड निर्णय चाहिन्छ – Nepal Press

रास्वपाको २ वर्षे समीक्षा: भिरमा सिस्नु समाउँदै हिँडिरहेका छौं, पार्टी जोगाउन बोल्ड निर्णय चाहिन्छ

रवि लामिछाने भन्छन्- ४ मन्त्रीले सिंगो देशको ध्यान तान्दैछौं, चिन्ता नलिनुस् हामी छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको उद्देश्य स्पष्ट भए पनि भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेको बताएका छन् । पार्टी स्थापना भएको दुई वर्ष पुगेको अवसरमा शुभकामना दिँदै उनले आफूहरु उद्देश्य र गन्तव्यमा स्पष्ट रहेको बताए ।

पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री लामिछानेले भनेका छन्, ‘गन्तव्य स्पष्ट छ । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षासहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिडिरहेका छौं । कैयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन ।’

उनले वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै यो यात्रा सम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले थपेका छन्, ‘विश्वास गर्ने एकदुई जनामात्र हुँदा त हिँड्ने आँट गरियो भने आज त हामीसँग लाखौंलाख शुभेच्छुकहरु हुनुहुन्छ। २ वर्षअघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कैयौं विश्लेषकहरु आज रास्वपा खस्कँदो छ भन्ने विश्लेषणवाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही टक शोमा बोल्न घाँटी र टाइ मिलाउँदै होलान् । तर, हामी हाम्रो यात्रामा अविचलित छौं ।’

देश तथा विदेशका टोलटोल, बस्तीबस्तीका आममान्छेको आवाज बोल्दाबोल्दै त्यो आवाजलाई घण्टीमा रुपान्तरण गरेर २ वर्षमा हल्ला नै नगरी सिंहदरबार पसिसकेको उल्लेख गरेका छन् ।

‘२१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं’ उनले भनेका छन्, ‘घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो । बाँकी काम हामी गर्छौं, तपाईंहरु न चिन्ता लिनुस् न त पिर गर्नुस् ।’

यस्तै महामन्त्री डा. मुलुक ढकालले रास्वपा जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के हो भन्ने गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडि आफूहरु खडा भएको बताएका छन् ।

उनले भनेका छन्, ‘यो प्रश्न आइसक्यो र यो प्रश्न छ भनेर सार्वजनिक स्वीकारोक्ति गर्दै हामीले हामीमा केही परिवर्तन गरी अघि बढेनौं भने हाम्रा गाह्रा दिन शुरू भए । पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइराख्ने हो भने हामीले उच्च सचेतनासहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानपर्छ । मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किदैनौं ।’


प्रतिक्रिया

One thought on “रास्वपाको २ वर्षे समीक्षा: भिरमा सिस्नु समाउँदै हिँडिरहेका छौं, पार्टी जोगाउन बोल्ड निर्णय चाहिन्छ

  1. तिमी देश को लागी बोझ हौ ।तिम्रो झुट ले देस ले उपनिर्वाचन को बोझ बोक्यो र तिमी मा लवा भन्ने रेहेन्छ ।तिमी ठग हौ ।देश ४ मन्त्री होईन एती बेसरम मान्छे द्वारा शासित हुनु परेको मा मन्निस को सिर झुकेको छ ।तिमी गन्तन्त्र को बाई प्रडक्ट हौ । तिमी लाई डिपोट गर्न न सक्ने कुलङ्घार को उत्पादन हौ । तिमी बन मारा हौ अब सत्य छानबिन भयो भने तिमीले समातेको सिस्नु को बोट ओखेलिन्छ ।र ओखेलिनु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर