हिसाब फरफाराक गर्ने बेला लेखापाल धर्नामा, माग सम्बोधन नभए सामूहिक बिदामा बस्ने चेतावनी – Nepal Press

हिसाब फरफाराक गर्ने बेला लेखापाल धर्नामा, माग सम्बोधन नभए सामूहिक बिदामा बस्ने चेतावनी

विराटनगर । कोशी प्रदेश सरकार मातहतका लेखा शाखामा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । असारको समयमा हर हिसाब फरफारक गर्नु पर्ने बेलामा उनीहरू काम काज छाडेर आन्दोलनमा उत्रिएका छन् । लेखामा काम गर्ने कर्मचारी धर्नामा बसेपछि कामकाज प्रभावित भएको छ ।

लेखा शाखामा कार्यरत कर्मचारी हिजोबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा धर्नामा बसेका हुन् । लेखा शाखामा कार्यरत आठौँ तहसम्मका कर्मचारीहरू समान वृत्ति विकासको माग गर्दै तीन महिना अघिदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रदेश सरकारले बनाएको प्रदेश निजामती सेवा ऐनमा नवौँ तह हटाइ सेवाको प्रशासन सेवा मात्र कायम गर्ने उल्लेख भएपछि लेखाका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले आफूहरू माथि विभेद भएकाले आन्दोलनमा उत्रनु परेको बताएका छन् । लेखा अधिकृत भोला नेपालले प्रदेश निजामती सेवा ऐनमा भएको व्यवस्था सच्याउनु पर्ने र समान वृत्ति विकासको अवसर पाउनु पर्ने बताए ।

उनले भने, ‘बढुवाको समान अवसर प्रदान गर्ने गरी ऐन नियम संशोधन गर्नु पर्छ । अहिले खोलेको विज्ञापन स्थगित गरी सोही विज्ञापनमा आफूहरूलाई पनि समावेश गराई बढुवा प्रक्रिया सुरु गर्नु पर्छ ।’

लेखा समूहका कर्मचारीहरूले हिजो र आज कामकाज स्थगित गरेका छन् । उनीहरूले असार ९ गतेदेखि माग सम्बोधन नभएसम्मका लागि सामूहिक रूपमा बिदामा बस्ने चेतावनी दिएका छन् । आन्दोलनरत लेखा अधिकृत सुरज कोइरालाले माग पुरा नगरेका कारण आन्दोलनमा उत्रिएको बताए । उनले प्रदेश सरकारले माग सम्बोधन गर्ने भनेर आश्वासन दिएको भए पनि माग पुरा नगरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *