धेरैपछि मैदान उत्रिँदा डेव्यु गरे जस्तो भयो: सन्दीप लामिछाने (तस्विरहरु / भिडिओ) – Nepal Press

धेरैपछि मैदान उत्रिँदा डेव्यु गरे जस्तो भयो: सन्दीप लामिछाने (तस्विरहरु / भिडिओ)

काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछाने करिब ६ महिनापछि क्रिकेट खेल्न मैदान उत्रिए । गत पुसमा बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएपछि सन्दीप क्रिकेटबाट टाढिएका थिए । तर, जेठ पहिलो साता उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटमा फर्कने बाटो खुलेको थियो ।

 

उनी ६ महिनापछि वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपअन्तर्गतका खेलमा सहभागी भएका थिए । दक्षिण अफ्रिकाविरुद्ध विकेटविहीन रहेका उनले दोस्रो खेलमा दुई विकेट लिँदै टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी र छिटो १०० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बने ।

विश्वकप खेलेर शनिबार स्वदेश फर्किएका सन्दीपले लामो समयपछि मैदानमा फर्किदा डेव्यु गरे जस्तो लागेको बताए । टी–२० विश्वकप क्रिकेट खेलेर फर्किएका सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै विश्वकप खेल्दा आफूलाई डेव्यु गरे जस्तै लागेको बताएका हुन् ।

‘धेरै लामो समयपछि क्रिकेट फिल्डमा पाइला राख्दाखेरि एकछिन त आफैंलाई डेव्यु गरे जस्तो लागेको थियो । यति धेरै प्रेसर, यहाँदेखि त्यहाँसम्मको यात्रा, एकदमै कठिन परिस्थितिबाट त्यहाँ हामी गएका थियौं । तर, राम्रो भयो’, उनले भने ।

सन्दीपले दक्षिण अफ्रिकाविरुद्ध पराजित भए पनि उत्कृष्ट खेल खेलेको उल्लेख गरे । अन्तिम समयमा खेल्ने अनुभवको कमी भएको उनको भनाइ छ ।

‘सबै थाहा नै छ । बाहिरबाट तपाईं जति दुःखी हुनुहुन्थ्यो । सायद त्योभन्दा हजारौं, लाखौं गुणा खेलाडी दुःखी थिए । कसैले अपेक्षा गरेको थिएन कि दक्षिण अफ्रिकाविरुद्ध हामीले यस्तो राम्रो गर्छौं भनेर’, उनले भने, ‘हामीले जुन तरिकाले प्रदर्शन गरेका थियौं । सबैले आफ्नो भूमिका निभाउनुभएको थियो । मलाई लाग्छ अनुभवको चाहिँ कमी भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर