सबै सहकारी बदनाम छैनन् : श्रममन्त्री अर्याल – Nepal Press

सबै सहकारी बदनाम छैनन् : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आफू पनि लामो समय सहकारीको संस्थापक भएर काम गरेकोले सहकारी बदनाम मात्र नभइ अवसर सृजना गर्ने थलो भएको बताएका छन् । केही व्यक्तिले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्ने उनको जिकिर छ ।

प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा अर्यालले भने, ‘चार खर्ब भन्दा बढी बचत सहकारीमा छ । नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ । पैसालाई कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकायो । सहकारीका कारण कति उद्यमी बनेका छन् । यस क्षेत्रमा सहकारीको आवश्यक छ ।’

उनले थपे, ‘केही मानिसहरू सहकारीको बदनाम गर्न लागिरहेका छन् । सहकारीको बदनाम गर्ने बित्तिकै सहकारी नराम्रो भन्ने खालको भाष्य स्थापना गर्न दिन हुँदैन ।’

सहकारीले देशमा गरेको योगदानबारे बहस गर्नुपर्ने उनले सुझाव समेत दिए । सहकारीलाई अब कसरी चलाउने भन्नेबारे बहसमा ढिला गर्न नहुने उनले बताए । यस्तै राजनीतिमा लागेका सहकारी कर्मीलाई आ-आफ्नो पार्टीभित्र सहकारीका सवालमा गम्भीर बहस चलाउन उनको आग्रह छ ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार खगराज अधिकारीले सहकारी संस्थामा नराम्रो गर्न खोज्ने टिक्न नसक्ने बताए ।

उनले भने, ‘राजनीतिक दलभित्र पनि सहकारी अर्थतन्त्रको एउटा खम्बा सहकारी हो भन्ने नबुझ्ने पनि छन् । केही सहकारी संस्थाहरूले नराम्रा पनि गरेका छन् । गलत कामको ढाकछोप गर्न जो जो लाग्छ उनीहरईलाई कारबाही हुनुपर्छ । नराम्रो काम जसले गर्छ ऊ सहकारीमा टिक्न सक्दैन ।’

अधिकारीले सरकारले सहकारीको अनुगमन नगरेको समेत आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर