१५ भन्दा बढी लघुवित्तबाट ऋण लिएको पाइए बैङ्किङ कसुर अन्तर्गत कारबाही हुन्छ : गभर्नर अधिकारी – Nepal Press

१५ भन्दा बढी लघुवित्तबाट ऋण लिएको पाइए बैङ्किङ कसुर अन्तर्गत कारबाही हुन्छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १५ वटा भन्दा बढी लघुवित्तबाट ऋण लिएको पाइए बैंकिङ कसुर अन्तर्गत कारबाही हुने बताएका छन् । यस्ता १५ ठाउँभन्दा बढीबाट ऋण लिने केहीलाई कारबाही प्रक्रिया पनि अघि बढाइएको गभर्नर अधिकारीले बताए ।

पछिल्लो समय लघुवित्तका ऋणीको संख्या घट्नुमा डुप्लिकेसनमा भएकाहरूले दोहोरोपना त्याग्न थाल्नु पनि हो । राष्ट्र बैंकको अध्ययनले नै एउटै व्यक्तिले २३ ठाउँबाट ऋण लिएको देखाएको अधिकारीले बताए ।

अधिकारी भन्छन्, ‘लघुवित्तको ऋणी घटे भनिएको छ । यसो हुनुमा डुप्लिकेसन पनि एउटा कारण हो । हामीले माथिबाट कारबाही गर्न शुरु गरेका छौ । एक दुई भन्दा पनि १५ भन्दा बढी ठाउँबाट ऋण लिएको पाइए कारबाही गर्न शुरु गरेका छौ । अहिले १५ वटा भन्दा बढीबाट ऋण लिएको पाइए बैङ्किङ कसुर अन्तर्गत नै कारबाही गर्ने व्यवस्था गरेका छौ । जसको असर स्वरूप यी नम्बरहरू घट्दैछन् ।’

मल्टिपल लघुवित्तको सदस्य अन्त्य भएपछि ३२/३३ लाख ऋणी रहेकोमा २३/२४ लाखमा आउने स्थिति देखिएको छ । त्यति धेरै ठाउँबाट ऋण किन दिइयो किन लिइयो भन्ने प्रश्न छ । लिने पनि बदमास नै हो, गभर्नर अधिकारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर