वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँ : मन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरुलाई टुलुटुल हेरेर नबस्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने नागरिकहरु ठगिएका भन्दै आफू टुलुटुलु हेरेर नबस्ने बताएका छन् । उनले ठगिएका नागरिकहरुको सम्बन्धमा आफूले काम गरिरहेको बताए ।
उनले फ्रि भिसा फ्रि टिकटले विकराल अवस्था सिर्जना गरेको बताए । उनले फ्रि भिसा फ्रि टिकट जम्मा ४ प्रतिशत मात्रै कार्यान्वयन भएको भन्दै बाँकी ९६ प्रतिशत नागरिक विदेशिक रोजगारीमा जाँदा ठगिएका बताए ।
उनले हरेक वर्ष करिव १ खर्ब ३ अर्ब रुपैयाँ बैंकिङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिकहरु ठगिइरहेका बताए । उनले सरकारले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम प्रयास गरिरहेको बताए ।
यस्तो छ मन्त्री अर्यालको भनाइः
फ्रि भिसा फ्रि टिकट सम्बन्धीको जुन विषयवस्तु छ, यसले एउटा विकराल अवस्था सिर्जना गरेको छ । करिब १ खर्ब ३ अर्ब रुपैयाँ हरेक वर्ष बैंकिङ च्यानलमा नआइकन बजारमा चलेको हुन्छ । जुन त्यही नागरिकबाट ठगिएको देखिएको छ । त्यसकारणले यसको अन्त्य त गर्नु नै पर्छ । गर्नु नै छ ।
त्यसकारणले अहिले पनि फ्रि टिकट फ्रि भिसा जम्मा ४ प्रतिशत मात्र कार्यान्वयनमा आएको भनेर हामीले डाटा प्राप्त गरेका छौँ । त्यसकारणले यसलाई मैले संवेदनशील रुपमा हेरेको छु । ९६ प्रतिशत नागरिकहरु जो विदेश जानुभएको छ, उहाँहरुमाथि ठगिएको विषयलाई मैले टुलुटुलु हेरेर बस्न सक्दिनँ ।
त्यसको विषयमा काम गरिररहेको म जानकारी गराउन चाहान्छु । हामीले बैंकिङ च्यानलबाट कारोबार गराउनका लागि त्यसमा उच्चतम प्रयास गरिरहेका छौँ । त्यो भइसके पछाडी नागरिकहरु ठगिनबाट अझ बच्नुहुन्छ भन्ने मेरो बुझाइ छ ।