क्राइमियाको समुद्र किनारमा युक्रेनी मिसाइल हमलामा दुई बालबालिकासहित चारको मृत्यु
काठमाडौं । युक्रेनी मिसाइल हमलामा परेर क्राइमियामा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ । घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको रुसी विश्व च्यालन आरटीले उल्लेख गरेको छ ।
आरटीका अनुसार युक्रेनले क्राइमियाको सेभास्तोपोल सहरको ब्ल्याक सी रिसोर्टमा उक्त विस्फोट भएको हो । विस्फोटमा परेर १५० बढी घाइते भएको बताइएको छ ।
अमेरिकाले युक्रेनलाई दिएको मिसाइल प्रयोग भएर आक्रमण भएको रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयले पाँच मिसाइल प्रहार भएकोमा चारलाई बिचैमा झारिएको र पाँचौँलाई मार हान्दा बाटो फेरेर नागरिक क्षेत्रमा झरेको बताएको छ ।
आरटीका अनुसार रुसी रक्षा मन्त्रालयले यो आक्रमणको उचित हिसाबकिताब हुने बताएको छ । सन २०१४ मार्च १६ मा भएको जनमत संग्रहबाट क्राइमिया रुसमा गाभिएको हो ।
रुसी भाषी बाहुल्य क्राइमिया रुसमा शान्तिपूर्वक गाभिएको थियो । तर, यसलाई पश्चिमा लगायतका धेरै देशहरूले मान्यता दिएका छैनन् ।