संसद सचिवालयका आन्दोलित कर्मचारीसँग कानूनमन्त्री नेतृत्वको समितिले थाल्यो वार्ता
काठमाडौं । संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग छलफल गरिरहेका छन् ।
मन्त्री गिरी नेतृत्वको तीन सदस्यीय टोलीले अहिले संसद् सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिहरूसँग संसद् भवनमा संंवाद अघि बढाएको हो ।
कानूनमन्त्री मन्त्री, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रियसभाका सचिव र एमाले सचेतक सुनिता बरालसहित संवादमा जुटेका हुन् ।
आइतबार बिहान मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरीको नेतृत्वमा समिति बनाएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायत नेताहरूको बैठकले कर्मचारीको मागबारे सहजीकरणका लागि समिति बनाएको हो ।
समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन् । अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नपाएको लगायत ११ बुँदे माग राखेर संघीय संसद्का कर्मचारीहरू आन्दोलनमा छन् ।