दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि वीरेन्द्रनगर नगरपालिकाले गर्यो १ करोड बढी बजेट विनियोजन
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिकाले कुल १ करोड ४२ लाख ७५ हजार विनियोजन गरेको छ ।
आज १५ औं नगर सभामा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने कार्यक्रमसहित युवा तथा खेलकुद क्षेत्रमा कुल १ करोड ४२ लाख ७५ हजार विनियोजन गरेको जानकारी दिएका हुन् ।
यस्तै, वीरेन्द्रनगर नगपालिका प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीलाई प्रशिक्षण, तालिम लगायतका अन्य व्यवस्थापकीय कार्यमा नगरपालिकाका तर्फबाट सहयोग जानकारी दिएकी छन् ।
साथै, प्रमुख ढकालले कर्णाली प्रदेशबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई स्वर्ण, रजक र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई नगरपालिकाको तर्फबाट क्रमशः १ लाख, ७५ हजार र ५० हजार र टिमलाई क्रमशः २ लाख, १ लाख पचास हजार र १ लाख पुरस्कार उपलब्ध गराइने जानकारी दिइन् ।