जीवन संघर्ष कि आनन्द ?- ३
प्रस्तुत आलेखको पहिलो भागमा जीवन दुःख वा संघर्षका लागि नभएर आनन्द प्राप्तिका लागि नै हो भन्ने कुरा स्थापित गरिसकिएको छ भने दोस्रो भागमा आनन्द प्राप्त गर्न मानव जीवनले गर्नुपरेको सङ्घर्ष र भोग्नुपरेको पीडाका बारेमा केही उल्लेख गरेर त्यसका केही उपायका बारेमा पनि सामान्य उल्लेख गरिसकिएको छ । अब भने तेस्रो अथवा अन्तिम भागमा आनन्द अर्थात् स्वको प्राप्तिमा आएका व्यवधान हटाउने तथा जीवनलाई आनन्दित बनाउन सकिने विविध तत्त्वका बारेमा उल्लेख गर्ने कोसिस गरिनेछ ।
जब दुनियाँको जादूगरी झिलिमिलीले मानव मनलाई अनन्तको मोहजालमा फसाउन सुरु गर्छ, तब मानव मन एक यस्तो भूमरीमा फस्ने गर्छ कि उसले आफू यो दुनियाँमा किन आएको, म को हुँ, कहाँबाट आएको र कहाँ जानेछु लगायतका सबै कुरा बिर्सन्छ र आफूलाई नितान्त एक निरीह जीवको रूपमा प्रस्तुत गर्ने गर्छ । नचाहँदानचाहँदै पनि सबै कुरा छाडेर जानुपर्ने र आफ्नो वशमा केही हुन नसकेपछि केवल भाग्यलाई दोष दिन अघि सर्ने हुन्छ । आफ्नो जीवनको अमूल्य क्षण गुमाएर वृद्धावस्थाले जर्जर बन्दै गएपछि उसको सारा जीवन निरस बन्दै जान्छ । यो निराशाबाट बच्न वृद्धावस्थाले छुनासाथ ऊ धर्मकर्ममा रुचि राख्ने गर्छ भने आफ्ना जीवनका अमूल्य क्षण त्यसैत्यसै खेर गएकोमा पश्चाताप गर्ने गर्छ । कम निद्रा तथा स्मरण शक्तिको ह्रास अनि जर्जर शरीरका कारण ऊ आफ्ना पुराना दिनमा फर्केर आफूलाई बहलाउने अनेक उपाय गर्न सुरु गर्छ । जीवनमा सह िमार्ग पहिल्याएर अघि बढ्ने समय मान्छेसँग हुँदाहुँदै पनि जीवनबाट पलायनको मार्गमा जानु आजको मान्छेको प्रमुख व्यथा बन्न गएको देखिन्छ ।
के जीवन साँच्चै पलायनकै मार्गमा छ ? अथवा जीवनको मूलभूत आनन्दबाट आजको मानिस सदा विमुख नै छ त ? यदि त्यस्तै हो भने मानव जीवनलाई सही मार्गमा कसरी ल्याउन सकिन्छ त ? आउनुहोस्, केही छलफल गरौं ।
म को हुँ भन्ने प्रश्न नै संसारको सबैभन्दा कठिन प्रश्न हो भनेर भन्दा फरक नपर्ला । किनकि यो प्रश्नको जवाफ यतिसम्म कठिन छ कि कसैले तपाईंलाई तपाईं को हो भनेर प्रश्न गञ्यो भने पक्कै पनि तपाईंले आफ्नो नाम बताउनु हुनेछ । तर, तपाईंलाई तपाईंको नामसमेत अरूले नै दिएको हो । तपाईंलाई शरीर पनि अरूले नै दिएको हो । एउटा निश्चित समुदायमा जन्मिएपछि उक्त समुदायमा घुलमिल हुन तपाईंले भाषा सिक्नु भएको हो । उक्त समाजको रहनसहनमा टिक्न त्यो समाजको रहनसहनलाई स्वीकार गर्नुभएको हो । तपाईंले जीवनसँगै लिएर आउनु भएको र कसैले पनि नदिएको चीज भनेको तपाईंको स्वत्व अर्थात् तपाईंपन नै हो । यसलाई दर्शनको भाषामा आत्मतत्त्व पनि भनिन्छ । तपाईंको शरीरको सञ्चालन गरिरहेको जुन आत्मतत्त्व छ, यो त्यही चीज हो, जुन अनादि र अनन्त छ । जसको कुनै उत्पत्ति र अन्त पनि छैन । जुन जराव्याधिले रहित छ भने सदा शुद्ध, बुद्ध अनि मुक्त पनि छ । यस्तो आत्मतत्त्वको प्रभावले नै तपाईंको मनमा मृत्युको भावना नआएको हो ।
तपाईंको शरीरको सञ्चालन गरिरहेको जुन आत्मतत्त्व छ, यो त्यही चीज हो, जुन अनादि र अनन्त छ । जसको कुनै उत्पत्ति र अन्त पनि छैन । जुन जराव्याधिले रहित छ भने सदा शुद्ध, बुद्ध अनि मुक्त पनि छ । यस्तो आत्मतत्त्वको प्रभावले नै तपाईंको मनमा मृत्युको भावना नआएको हो ।
यही आत्मतत्त्वकै बुद्धत्वको प्रभावले तपाईंले आफूलाई समझदार ठान्ने गर्नुभएको हो भने जराराहित्यको प्रभावले गर्दा नै तपाईंको मन पनि सदैव चञ्चल अनि जिज्ञासु र बुढो नहुने जस्तो प्रतीति बनिरहेको हो । यदि आत्मतत्त्वको प्रभाव नभएको भए यी सबै अनुभूति तपाईंमा अवश्य पनि हुने थिएन । श्रीमद्भगवद् गीतामा भनिएको पनि छ- न जायते म्रियते वा कदाचिन्नायं भूत्वा भविता वा न भूयः । अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।। भावार्थ- यो आत्मा न कुनै कालमा जन्मन्छ न त मर्छ नै । अथवा यो आत्मा पहिले भएर फेरि हुनेवाला होइन । त्यसैले यो आत्मा अजन्मा, नित्य, निरन्तर रहिरहने शाश्वत छ र पुरातन पनि छ । शरीरको नाश हुँदा पनि यो (आत्मा) नाश हुँदैन ।
अब यस्तो नित्य, शुद्ध, बुद्ध, मुक्त चीजलाई के भनेर नाम दिने ? के भनेर यसको परिचय अन्यलाई गराउने ? नामको त निश्चित परिधि हुन्छ । तपाईंको नामले तपाईंको आकार(प्रकार झल्काउने एक निश्चित परिधिलाई मात्रै समेट्ने गर्छ । तर, आत्मतत्त्व त परिधिरहित छ । परिधिले युक्त भएको नामले तपाईंको परिधिरहित जीवनलाई कसरी परिभाषित गर्न सक्छ र ? के भनेर परिचय दिन सक्छ र ? अवश्यै सक्तैन । त्यसैले गर्दा नै संसारमा आत्मदर्शनको विकास भएको हो । जब भौतिक सुखले मात्रै मानिसको जीवन पूर्ण हुन सकेन, तब आत्मदर्शनका लागि नै भनेर दर्शनशास्त्रको विकास भएको हो । मान्छेले आफ्नो परिचय सहजै पाउन सकेको भए सम्भवतः दर्शनशास्त्रहरूको विकास हुने थिएन ।
जीवनमा आनन्द नै स्वको प्राप्तिमा छ । यही स्व नै आनन्दयुक्त छ । शुद्ध, बुद्ध अनि मुक्त पनि छ । तर, यही स्वको प्राप्तिमा लागेको आजको मानिस अनेकौं दुःख र पीडामा छ । यही दुःख र पीडा नै स्वको प्राप्तिमा बाधक छ । यसैले जीवनलाई संघर्षयुक्त बनाएको छ भने जीवनलाई आनन्दको मार्गबाट विचलित बनाएको छ । यही संघर्षको परिणामस्वरूप आजको मानिस आफ्नो नैसर्गिक आनन्द प्राप्तिको बाटोबाट निरन्तर पलायनको मार्गमा जान बाध्य बनिरहेको छ ।
आजको मानव जातिलाई स्वको बोध गराउने र जीवनबाट पलायन हुन कसरी रोक्न सकिन्छ त ? कसरी स्वको बोध गराउन सकिन्छ ? यसका लागि भने हाम्रो समाजले खासै सोचविचार गरेको पाइँदैन । हाम्रो शिक्षा प्रणालीले पनि यस विषयलाई खासै प्रकाशित गर्न सकेको छैन । जीवनमा सबै कुरा पाएर पनि आफूलाई पाउन सकिएन भने जीवनमा पाएका, भए-गरेका सारा कुरा व्यर्थ बन्न पुग्छन् । त्यसैले पनि आजको मान्छेलाई स्वको प्राप्तिको शिक्षा दिन सकिएको खण्डमा अवश्यै पनि जीवन आनन्दको मार्गमा जाने थियो र पलायनको बाटोमा लागेर कसैले पनि जीवनलाई बर्बाद गर्ने थिएनन् ।
जीवनमा आनन्द नै स्वको प्राप्तिमा छ । यही स्व नै आनन्दयुक्त छ । शुद्ध, बुद्ध अनि मुक्त पनि छ । तर, यही स्वको प्राप्तिमा लागेको आजको मानिस अनेकौं दुःख र पीडामा छ । यही दुःख र पीडा नै स्वको प्राप्तिमा बाधक छ ।
स्वलाई बुझ्न अरूको आवश्यकताभन्दा पनि आफ्नै आवश्यकता मुख्य रहन्छ । अरूको अनुभूति तथा अरूको ज्ञान केवल साधनमात्रै बन्न सक्छन्, ती कुरा साध्य बन्न सक्तैनन् । साध्य स्व हो भने साधन चाहि स्व प्राप्तिका लागि आवश्यक चीजहरू । जबसम्म व्यक्ति स्वयंले स्वको अनुभूति गर्दैन, तबसम्म जीवनमा आनन्दको सदैव अभाव रहन्छ । स्वको अनुभव विभिन्न किसिमले हुनसक्ने हुन्छ । ज्ञान, ध्यान तथा साधना आदि त्यसका साधन हुन सक्छन् । योग्य मार्गदर्शक प्राप्त हुन सकेको खण्डमा स्वको बोध शीघ्र हुनसक्छ । योग्य मार्गदर्शकले नै जीवनलाई सही लयमा लगाइदिन्छन् भने लयको मार्गमा हिँड्ने प्रयास भने व्यक्ति स्वयंको नै हो ।
यो कुरा निर्विवाद सत्य छ कि जीवनमा संघर्ष छ । संघर्षले नै जीवनलाई आनन्दको बाटो समात्नमा मद्दत गरिरहेको हुन्छ । प्राप्ति जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण छ धैर्य र साधना पनि । जीवनलाई आनन्दको लयमा लैजानमा यत्रो साथ दिएको संघर्ष नै आनन्दको प्राप्तिमा बेलाबेलामा बाधक बनेर बसिदिने हुँदा जीवन कहिलेकाहीँ लयभन्दा बाहिर जान सक्ने सम्भावना अत्यन्तै प्रवल हुन्छ । यही संघर्षले नै जीवनको सार्थकता संघर्षमा नरहेको तथा जीवनमा आनन्दको प्राप्ति सम्भव रहेको कुरालाई पुष्टि पनि गर्ने गर्छ । संघर्षको अवधि अल्पकालीन हुन्छ भने आनन्द समयातीत हुन्छ अर्थात् आनन्द अपरिमित हुन्छ । त्यसको कुनै सीमा हुँदैन ।
संघर्ष आनन्दको शत्रुको रूपमा रहेको छ । आनन्दको प्राप्तिमा सबैभन्दा बाधक बनेर प्रस्तुत भएको छ- संघर्ष । तर, के तपाईंको जीवन संघर्षरहित छ त ? के तपाईंले संघर्षलाई जित्नुभएको छ वा संघर्षलाई जित्न सक्नुहुन्छ त ? संघर्षलाई जबसम्म जीवनबाट हटाउन सकिँदैन, तबसम्म जीवनमा आनन्दको प्राप्ति हुँदैन । बाहिर बाहिर मान्छे जति नै विजयी रहे पनि आन्तरिक विजयबाट दूर रहनुको मुख्य कारण भनेको मान्छेको स्वभाव नै हो । काम, क्रोध, लोभ, ईष्र्या, द्वेष आदि कुनै पनि कुरा मान्छेको अधीनमा छैन । काम, क्रोध, लोभ, ईर्ष्या, द्वेष आदिले नै मानिसको जीवनलाई मार्गदर्शन गरिरहेको छ । मान्छे यिनै खराब आदतहरूको दास भएको छ । एक स्वचालित यन्त्र जस्तै जीवन चलिरहेको छ । अनियन्त्रणमय जीवनमा स्वतन्त्रता कहाँ हुन्छ र ?
जबसम्म व्यक्ति स्वयंले स्वको अनुभूति गर्दैन, तबसम्म जीवनमा आनन्दको सदैव अभाव रहन्छ । स्वको अनुभव विभिन्न किसिमले हुनसक्ने हुन्छ । ज्ञान, ध्यान तथा साधना आदि त्यसका साधन हुन सक्छन् । योग्य मार्गदर्शक प्राप्त हुन सकेको खण्डमा स्वको बोध शीघ्र हुनसक्छ ।
आन्तरिक रूपले शत्रु बनेर रहेका काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष आदिलाई मनले नै मार्गदर्शन गर्छ । भन्नलाई त हामी भन्ने गर्छौं कि मन त हाम्रो हो । जस्तो सोच्छौं, त्यस्तै बन्छौं । तर, त्यही मन पनि हाम्रो अधीनमा छैन । वासना, भावना र विचारको बन्धनले बाँधिएको हाम्रो मन अचेतनको अनन्त प्रवाहमा बरोबर चलेर हामीलाई नै कठपुतली जस्तै नचाइरहेछ । मनको नाचको सामुन्ने हाम्रा इन्द्रीयहरू हार मान्दछन्, हाम्रो विवेकले पनि होश गुमाउने गर्छ भने हाम्रो जीवनमा संघर्ष अनवरत बगिरहन्छ ।
श्रीमद्भगवद् गीतामा उल्लेख छ- इन्द्रीयाणां हि चरतां यन्मनोऽनुविधियते । तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ।। भावार्थ- जसरी पानीमाथि हिंड्ने डुंगालाई हावाले हल्लाइदिन्छ, त्यसैगरी विषयवस्तुहरूमा विचरण गर्दै रहेको इन्द्रीयसँग मनको सम्बन्ध हुँदा त्यस्तो व्यक्तिको बुद्धिलाई पनि विषयले हरण गर्न सक्छ । मनभन्दा माथि उठ्न र स्वको प्राप्त गनं मनका शत्रुलाई परास्त गर्नुपर्ने हुन्छ । संस्कारयुक्त तथा स्वच्छ मनबाट नै स्वको प्राप्ति हुनसक्छ । व्यक्तिमा इन्द्रीयहरू र वासना,भावना तथा विचारहरू आन्तरिक रूपले शत्रु रहे पनि ती शत्रुमाथि युद्ध गरेर विजय पाउन सकिँदैन ।
आजसम्म कसैले पनि शत्रुमाथि विजय प्राप्त गर्न सकेको छैन । युद्ध गरेर शत्रुलाई हराउन सकिन्छ, तर विजय प्राप्त गर्न सकिँदैन । हराउनु र विजय प्राप्त गर्नुमा ठूलो अन्तर छ । शत्रुलाई हराए पनि शत्रुता हराउन सक्तैन भने विजय प्राप्ति गरेपछिको अवस्थामा शत्रुता रहँदैन । पराजित शत्रु सदैव उपयुक्त मौका पर्खेर बसेको हुन्छ । तपाईं आफ्ना आन्तरिक शत्रुलाई जति नै युद्ध गरेर हराउनुस्, त्यो शत्रु बीज बनेर कुनै न कुनै दिन मौका परेर तपाईंमाथि आक्रमणको तयारीमा नै रहेको हुन्छ । आनन्दका शत्रुहरू (संघर्षहरू) मौका हेरेर आनन्दबाट तपाईंलाई च्युत गराउन सक्दो कोसिसमा हुन्छन् ।
शत्रुको हृदयमा तपाईंको विजयको स्वीकारोक्ति हुन सक्तैन । शत्रुको शत्रुता नष्ट गराउन तपाईंलाई आफ्ना शत्रुहरूसँग पनि मित्रवत् व्यवहार गर्नुपर्ने हुन्छ । आजसम्म संसारको इतिहासमा शत्रुमाथि विजय हासिल गर्न नसके पनि मित्रमाथि भने विजय हासिल गरेको छ मान्छेले । त्यसैले संघर्षलाई मित्रवत रूपले जीवनमा स्वीकार गर्न सक्नुभयो भने आनन्दका शत्रुहरूमाथि सहजै विजय हासिल गर्न सकिन्छ । तर, बाह्य रूपले तपाईं जति नै शक्तिशाली र वैभवशाली रहे पनि आन्तरिक रूपले जीवनमा संघर्ष भरिएको छ भने त्यस्तो अवस्थामा तपाईंको जीवनमा आनन्दको प्राप्ति सम्भव हुँदैन ।
बाहिर बाहिर मान्छे जति नै विजयी रहे पनि आन्तरिक विजयबाट दूर रहनुको मुख्य कारण भनेको मान्छेको स्वभाव नै हो । काम, क्रोध, लोभ, ईर्ष्या, द्वेष आदि कुनै पनि कुरा मान्छेको अधीनमा छैन । काम, क्रोध, लोभ, ईर्ष्या, द्वेष आदिले नै मानिसको जीवनलाई मार्गदर्शन गरिरहेको छ ।
आनन्द पनि दुईखाले हुन्छन्- काल्पनिक आनन्द र वास्तविक आनन्द । कल्पनाको आनन्द र वास्तविक आनन्दमा निकै भिन्नता हुन्छ । कल्पनाको आनन्द मानसिक अवस्थामा मात्रै हुन्छ । तपाईंको मनले संघर्षकै अवस्थालाई पनि जबरजस्ती आनन्दका रूपमा स्वीकार गरेको हो । यस्तो स्वीकारोक्तिले के कुराको संकेत गर्छ भने तपाईं जीवनमा आनन्द त प्राप्त गर्न चाहनुहुन्छ, तर तपाईंले सोचेको आनन्दको विन्दूसम्म तपाईं पुग्न नसकेर भएको चीजमा नै सन्तुष्टि लिने प्रयास गर्नु हुँदैछ । तर, वास्तविक आनन्द भने छुट्टै हुन्छ ।
वास्तविक आनन्द अनुभूतिमा चढेको हुन्छ भने अनुभूतिमा चढेको आनन्दले तपाईंको भित्री र बाहिरी दुवै व्यक्तित्वलाई प्रकाशित गरेको हुन्छ । तपाईंको जीवन मनोविज्ञानभन्दा माथि उठेर वास्तविक सुख र आनन्दलाई प्राप्त गरेर झल्झलाकार भएको हुन्छ । यही आनन्दको विन्दु नै जीवनको सर्वोच्च लक्ष्य हो । तपाईको हृदयले खोजेको विन्दु हो । यो आनन्दको विन्दु तबमात्रै प्राप्त हुन्छ, जब स्वको उपलब्धि हुन्छ र जीवन सार्थक पनि बन्न पुग्छ । अन्यथा, मानव चोला लिएर जन्मिए पनि जीवनमा स्वको उपलब्धि गर्न सक्नु भएन भने एक पटक पाएको मानव जीवनको चोला व्यर्थ जाने हुन्छ ।
आद्य शंकराचार्य भन्नुहुन्छ- पुनरपिजननं पुनरपि मरणं पुनरपि जननी जठरे शयनम् । अर्थात्, फेरि पनि जन्मने र फेरि पनि मर्ने अनि फेरि फेरि माताको गर्भमा शयन गर्ने । जीवनको परमोच्च लक्ष्य प्राप्त गर्न सक्नु नै जीवनको लक्ष्य हो, जसले तपाईंलाई सही गन्तव्य बताउन सक्छ र तपाईंको जीवन भौतिक र आध्यात्मिक दुवै हिसाबले सफल बन्न सक्छ ।
श्रृंखला समाप्त