नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कूटनीतिक पहल गर्नुपर्छ : सभामुख घिमिरे (भिडिओ) – Nepal Press

नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कूटनीतिक पहल गर्नुपर्छ : सभामुख घिमिरे (भिडिओ)

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कूटनीतिक पहल गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले नेपाली अलैंचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताए ।

उनले नेपालमा उत्पादित अलंैची भारतमा निर्यात हुने तर भारतले आफ्नो उत्पादन भन्दै विश्वबजारमा निर्यात गर्ने गरेको बताए । उनले विश्व बजारमा नेपालमा उत्पादित अलैंची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजीकरण गर्न आवश्यक रहेको बताउनु उल्लेख गरे ।

सभामुख घिमिरेले अलैंचीबाट विभिन्न अन्य वस्तुहरु समेत बनाउन सक्ने अवस्था रहेको बताए । उनले अलैंचीलाई अनलाइन मार्केटिङको रुपबाट विकास गर्न पनि आवश्यक रहेको बताए । उनले वयर हाउसहरु बनाउने र अक्सन प्रणालीमा नेपाली अलैंचीको दर रेट तय गरी अक्सन हाउसको रुपमा विकास गर्न जरुरी रहेको बताए ।

उनले अहिले विचौलीयाहरुले बीचमा मुनाफा खाने काम गर्दा उत्पादकहरुले उचित मूल्य नपाउने र उचित मूल्य नपाउँदा बजार पनि अनिश्चित भएर जाने अवस्था रहेको बताए । उनले भारतमा निर्यातमा पनि विभिन्न जटिलताहरु रहेको भन्दै सरकारले अलैंची निर्यात नीतिगत रुपमा सहजिकरण गर्न आग्रह गरे ।

उनले भारतमा अलैंची निर्यातमा रहेका समस्या हटाउन दुई देशबीचमा त्रिपक्षिय छलफल गर्न आवश्यक रहेको बताए । उनले अलैंचीको रोगहरुलाई हटाउने र प्लानटेशनहरु गरी विरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत सकिने बताए ।

उनले अलैंचीका बिरुवाहरु मर्ने रोग पत्ता लगाउन नसक्दा पुरानो मर्ने र नयाँ बिरुवा लगाउने प्रक्रियामा अलैँची खेती चलेको बताए । उनले अलैंचीमा लाग्ने रोगको सरकारले पहिचान गर्न आवश्यक रहेको बताए ।

यस्तो छ सभामुख घिमिरेको भनाइः

अलैंचीका विरुवाहरु मर्ने रोग पत्ता लगाउन नसक्दा पुरानो मर्ने र नयाँ विरुवा लगाउने प्रक्रियामा अलैंची खेती चलेको छ । नयाँ ठाउँमा रोग नलागि फल्ने गरेको छ । तर बजारको सुनिश्चिता छैन । अलैंचीको बजार सुनिश्चित गर्नको लागि राज्यको तर्फबाट कुटनीतिक पहल गर्न आवश्यक छ ।

नेपालको अलैंची भारतमा बेच्नुपर्ने र भारतले आफ्नो उत्पादनको नामबाट विश्व बजारमा अर्थात खाडी मुलुकहरुमा पठाउने गरेको छ । तर सिधै नेपाली उत्पादन अलैंची खाडी मुलुकहरुमा निर्यातको पहल गर्नुपर्छ । उद्योग वाणिज्य महासंघले केही शुरुवात गरेको छ तर सफलता पाएको छैन । झापाको विर्तामोड अहिले केन्द्र बनेको छ ।

अलैंचीको प्याकेट बनाएर बेच्न शुरु भएको छ । अलैंचीलाई प्रशोधन गरेर अरु के-के गर्न सकिन्छ । अलैँचीको बोक्राबाट अन्य मुलुकहरुले रंग उत्पादन गर्ने गरेका छन् तर हाम्रोमा सामान्य प्रविधि प्रयोग गर्दा पनि बन्न सक्छ हाम्रो ध्यान गएको छैन । अलैंचीलाई अनलाइन मार्केटिङको रुपबाट विकास गर्नुपर्छ ।

वयर हाउसहरु बनाउने र अक्सन प्रणालीमा नेपाली अलैंचीको दर रेट तय हुने वातावरण बनाउने गरी अक्सन हाउसको रुपमा विकास गर्नुपर्छ । अहिले विचौलीयाहरुको बीचमा मुनाफा खाने काम गर्दा उत्पादकहरुले उचित मूल्य नपाउने र उचित मूल्य नपाउँदा बजार पनि अनिश्चित भएर जाने गरेको छ । भारतमा नियातमा पनि विभिन्न जटिलता छन् ।

सरकारले अलैंची निर्यात नीतिमा रहेका समस्या सहजिकरण गर्नुपर्छ । दुई देशबीचमा क्रिपक्षिय छलफल गर्नु आवश्यक छ । खाडी मुलुकमा निर्यात गर्न कसरी प्रवद्र्धन गर्नसक्छौं । अलैंचीको रोगहरुलाई हटाउने र प्लानटेशनहरु गरी विरुवाहरु वितरण गर्नुपर्छ । बिरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत हुनेछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर