कोही लागुपदार्थ दुर्व्यसनमा फस्दै त छैनन् ? यसरी बचाउनुस्
हाम्रो जीवन अमूल्य छ । यसलाई सही ढङ्गबाट अगाडि बढाउनुपर्छ । हामीसँग भएका कुनै पनि कुराभन्दा जीवन ठूलो हो । कसैले पनि लागुपदार्थको लत बसाल्छु, कुलतमा फस्छु भनेर सेवन गरेको पाइँदैन । सुरुमा रमाइलो तथा मनोरञ्जनको लागि प्रयोग गरेको देखिन्छ । विस्तारै नशाको दलदल वा कुलतमा परेपछि एउटा यस्तो समय आउँछ कि कुलतबाट बाहिर निस्कने मन र इच्छा हुँदा पनि बाहिर निस्कन गाह्रो हुन्छ ।
कुनै पनि किसिमको नशा त्याग गर्न विशेष किसिमको सिद्धान्त आवश्यक पर्छ । जसमा १२ पाइलाको सिद्धान्त महत्वपूर्ण हो । यस सिद्धान्तको पहिलो पाइलामा शक्तिहीनता र अस्तव्यस्तताबारे वर्णन गरिएको छ । यी दुई शब्द ज्यादै महत्वपूर्ण छन्, जसले हाम्रो साधारण यथार्थलाई चिनाउने काम गर्छ । हामीमध्ये केहीले जब लागुदार्थ तथा मद्यपान सेवन गर्न थाल्छौं भने केहीको जीवन विस्तारै विस्तारै नियन्त्रणभन्दा बाहिर जान थाल्छ । यसबीचमा हामीले चाहेर पनि सेवन गर्ने कार्यलाई बीचमा रोक्न सक्दैनौं । जब हामी सेवन गर्न शुरु गर्छौं, तब यसको मात्रामा नियन्त्रण गुमाउँछौं र यसपछि के गर्ने भन्ने कुरा नै बिर्सन थाल्छौं । यी यस्ता कुराहरू हुन्, जुन शुरु शुरुका दिनमा स्वीकार्न अत्यन्तै कठिन हुन्छ ।
पहिलो पाइलामा स्वीकार्यतालाई जोड दिएको छ । तर, यसको उद्देश्य भनेको कसैलाई तल पार्न र लेवल लगाउन होइन । यसको खास उद्देश्य जीवनलाई नयाँ ढंगबाट सोच्ने, अनुभूति गर्ने तथा नयाँ ढंगबाट कसरी काम गर्ने भन्ने कुरा सिक्दै जाने हो । जब हामी यी कुरा सिक्दै जान्छौं, तब हामी आफू र अरुसँग सहज महसुस गर्दै जान्छौं, जसले गर्दा जीवन पहिलेभन्दा राम्रोसँग अघि बढ्न थाल्छ । जब हामीले केही कुरा सम्झन थाल्छौं, तब पहिलो पाइला एकदमै सहज र सरल बन्न जान्छ । बाह्र पाइलामा टेकेर संसारमा लाखौंलाख मानिसले नयाँ अनुभव र नयाँ जीवन प्राप्त गरेका छन् । पहिलो पाइलामा कार्य गर्दै जाँदा हामीले यो कुरा थाहा पाउँछौं कि आज, अहिले, हामी कहाँ छौं, किन छौं र केका लागि बसिराखेका छौं ?
एक जना लागुपदार्थ तथा मद्यपानमाथि निर्भर व्यक्तिको साँच्चिकै रिकभरी त्यतिबेला मात्र सम्भव हुन्छ, जतिबेला उसले आफूलाई दुर्व्यसनको अगाडि शक्तिहीन भएको कुरा बुझ्छ र उसको जीवनको प्रायःजसो सबै क्षेत्र अस्तव्यस्त भएको पाउँछ ।
शक्तिहीनता भनेको के हो ?
दुर्व्यसनमाथि आफू शक्तिहीन भएको कुरा बुझ्नु भनेको दुर्व्यसनबाट रिकभर हुने जग बस्नु हो । आफू नशामाथि शक्तिहीन भएको कुरा राम्रोसँग बुझेर हृदयदेखि स्वीकार्नुपर्छ । होइन भने दुव्र्यसनलाई आफ्नो नियन्त्रणमा राख्न सकिँदैन ।
लागुपदार्थ तथा मद्यपानमाथि निर्भर व्यक्तिहरूले भन्ने गरेका कुराहरू सुन्ने गरेका छौं । उनीहरु भन्छन्- ‘यदि मैले मेरो जीवनको समस्यालाई पत्ता लगाउन सकें भने म बिल्कुल ठीक हुन्छु । मेरो समस्या भनेको मेरो जागिर हो र मैले पदोन्नति पनि पाएको छुइनँ । मैले हाकिमसँग मैत्रीपूर्ण वातावरण बनाउन सकिनँ । मेरो हाकिम जहिले पनि मप्रति पूर्वाग्रही छ । मेरो श्रीमती जहिले पनि किचकिचमात्र गरिरहन्छे र नयाँ नयाँ माग प्रस्तुत गर्छिन् । मलाई मेरो परिवारले बुझ्दैन, म खराब छिमेकीहरूसँग बस्छु । त्यसैले यो सब हुनुमा उनीहरूको दोष छ ।’
यसमध्ये केही कुरा तपाईंसँग पनि मेल खान्छ कि ? यस्ताखाले तर्क दिएर आफूले लागुदार्थ सेवन गरेको कारण प्रमाणित गरिरहेको हुन्छ । यस्ता किसिमका तर्क दिने मद्यपानका अम्मली र लागुपदार्थ दुर्व्यसनीहरूले आफू नशाको अगाडि शारीरिक र मानसिक रुपमा दुर्वल भएको कुरा बुझ्न सक्दैनन् । अर्थात् उनीहरुको सोच वा ध्यान त्यतातिर जाँदैन ।
एक जना लागुपदार्थ प्रयोगकर्ता शारीरिक रुपमा लागुपदार्थमाथि निर्भर भएको हुन्छ । सायद उसले लागुपदार्थको प्रयोग जीवनमा रमाइलो गर्न, आनन्द पाउन, पीडालाई बिर्सन, साथीभाइलाई साथ दिन, अरुले खाइराखेको छ, मैलेमात्र खान किन नहुने र जीवनमा सफल बन्न आदि इत्यादि जुनसुकै कारणले सेवन गरेको होस्, तर अहिले उसको जीवनमा एउटा यस्तो समय आयो कि उसको शरीर लागुपदार्थमाथि निर्भर बन्न पुग्यो । अहिले उसले सेवन गर्न रोक्छ भने उसको शरीरमा अत्यधिक कष्टप्रद लक्षण देखापर्छ । जस्तैः निन्द्रा नलाग्ने, तनाव बढ्ने, टाउको दुख्ने, भोक नलाग्ने, खानामा रुचि नहुने, थकान वा शारीरिक अङ्गहरू काम्ने तथा स्मरण शक्ति क्रमशः गुम्दै जाने हुन्छ । यसबाट के कुरा बुझ्नुपर्छ भने अब उसको शरीरलाई लागुपदार्थ नभै नहुने भयो । यसको अर्थ हुन्छ, उसको शरीर नशामाथि निर्भर हुन पुग्यो । यसमा ऊ पूर्णतया शक्तिहीन हुन पुग्यो ।
अहिले उसले सेवन गर्ने मात्रा, सेवन गर्ने समय र सेवन गर्ने स्थानलाई पनि आफ्नो वशमा राख्न सकेन । ऊ अहिले यस्तो विन्दुमा आइपुग्यो कि जहाँनिर उसले मद्यपान अथाव लागुपदार्थ खान छोड्न त परै जाओस्, खाने मात्रासम्म पनि घटाउन सकेन । आज यतिमात्रै खान्छु, योभन्दा बढी खाँदिनँ भनेर बस्न सकेन । उसलाई त्यति नै चाहियो, जुन डोजमा ऊ पुगेको थियो । ऊ त्यो डोजभन्दा अझमाथि जान्छ, तर घटाउन सक्दैन ।
उसले बेलाबेलामा सेवन गर्ने स्थान र समय परिवर्तन गर्छ, तर अफसोच उसले लागुऔषध तथा मदिरा सेवन चाहिँ गरिरहेकै हुन्छ । उसले आफ्नो तरिकाले लागुपदार्थ तथा मद्यपान छाड्न धेरै उपाय अपनायो । तर, सधैंको लागि होइन, केही खास समयावधिको लागि जसमा ऊ सफल हुन सकेन । उसले खाँदिनँ भनेर निर्धारण गरेको समयसम्म पनि नखाइ बस्न सकेन । उसले एक हप्ता, एक महिना नखाइ बस्ने अठोट गर्छ । तर, उसको नगरी नहुने बानी व्यहोराले गर्दा निर्धारण गरेको समय अगाडि नै खान शुरु गर्छ । आफूले भनेको समयसम्म पनि नखाइ बस्न सकेन । विस्तारै विस्तारै ऊ पुरानै अवस्थामा फर्कन्छ । दुर्व्यसनको विशेषता नै यही हो । त्यसैले नशाको अगाडि शक्तिहीन भएको कुरा उसले पूर्ण रुपमा हृदयदेखि नै स्वीकार्नपर्छ । यसरी स्वीकार्दै जानु भनेको रिकभरीको जग बस्नु हो । यही जगको आधारमा नशारहित जीवन शुरु हुन्छ ।
शारीरिक निर्भरताको साथसाथै ऊ मानसिक रुपमा पनि लागुपदार्थ तथा मद्यपानमाथि निर्भर भएको हुन्छ । यसको मात्रा जति जति बढ्दै जान्छ, त्यो व्यक्ति जिम्मेवारी तथा मानवीय मूल्य र मान्यताबाट त्यति नै टाढिँदै जान्छ । उसले आफ्नो जीवनको अति महत्वपूर्ण कुरा बिर्संदै जान्छ । जस्तैः उसको परिवार, उसको जागिर, व्यवसाय, उसको शारीरिक स्वास्थ्य, पारिवारिक र सामाजिक प्रतिष्ठा, इमानदारी र नैतिकताका सिद्धान्तहरू बिर्संदै गएको हुन्छ । मद्यपान तथा लागुपदार्थ लिने चाहना यसरी बढेर आउँछ कि उसले आफ्नो जीवनका अति महत्वपूर्ण कुरा बिर्सेर नशा सेवन गर्न थाल्छ । यसैलाई मानसिक दुर्बलता भनिन्छ । शारीरिक शक्तिहीनता भन्नाले मद्यपान तथा लागुपदार्थमाथि निर्भर व्यक्तिले संयमपूर्वक पिउने व्यक्ति जस्तो बन्न सक्दैन । मनोवैज्ञानिक शक्तिहीनता भन्नाले एक चोटि सेवन गर्न शुरु गरेपछि बीचैमा रोक्न सक्दैन ।
अस्तव्यस्तता
अस्तव्यस्तता शक्तिहीनसँग गाँसिएको हुन्छ । ऊ व्यक्ति नशामाथि शक्तिहीन भएको कुरा थाहा पाउनु र स्वीकार्नु भनेको नशा सेवनले उसको जीवनको कुन कुन क्षेत्रमा गम्भीर असर पा¥यो भन्ने कुरा इमानदारीसाथ हेर्न सक्ने बनाउन सहयोग पु¥याउने हो ।
शारीरिक अस्तव्यस्तता
नशा सेवनको मात्रा बढ्दै जाँदा त्यसले विभिन्नखाले समस्या ल्याउँछ, जसले गर्दा उसको शरीरमा नराम्रो असर पर्न जान्छ । सबभन्दा पहिला यसले लागुपदार्थ तथा मादकपदार्थ प्रयोगकर्ताको रक्तसञ्चार र शरीरको कोशिकामा असर पार्छ । यसको मात्रा बढ्दै जाँदा यसले उसको कलेजो, मृगौला र केन्द्रीय स्नायु प्रणालीमा असर गर्छ । उसको शारीरिक समस्या बाहिरबाटै प्रस्ट देखिन्छ ।
भावनात्मक अस्तव्यस्तता
नशा सेवनले उसका भावना र बानी व्यवहारमा असर पारेको हुन्छ । जहिले पनि उसलाई अत्यधिक डर र चिन्ताले सताएको हुन्छ । उसले आफूलाई अत्यधिक एक्लोपन महसुस गर्छ । जीवनमा आइपर्ने सानोतिनो समस्यालाई पूर्ण रुपमा निराशातिर लैजान्छ । उचित कारणविना ऊ रिसाउने र उदासीन हुने गर्छ । साथै अरुप्रति रिसको भावना पालेर बस्छ । अर्को शब्दमा भन्ने हो भने उसले आफ्ना भावनालाई नियन्त्रण गर्न नसक्ने हुन्छ ।
पेशा सम्बद्ध अस्तव्यस्तता
नशालु पदार्थको प्रयोग बढ्दै जाँदा ऊ जिम्मेवारीबाट पन्छिँदै जान्छ । दिएको काम ठीक समयमा गर्न नसक्ने हुन्छ । आफूसँगै काम गर्ने साथीहरूले उसलाई इज्जत गर्न छाड्छ । काम गर्ने ठाउँमा बेलाबेलामा स्पष्टीकरण र निलम्बनको पत्र पाउँछ । कहिलेकाहीँ त जागिरबाटै हात धुने अवस्था पनि आउँछ । उसले कामकाज, व्यापार, व्यवसायलाई सन्तुलनमा राख्न सक्दैन ।
पारिवारिक सम्बन्धमा अस्तव्यस्तता
नशा सेवनको मात्रा जति जति बढ्दै जान्छ, पारिवारिक सम्बन्ध त्यति नै बिग्रँदै जान्छ । परिवारका सदस्यहरूले एक किसिमले तिरस्कार नै गरिसकेको हुन्छ । कतिपय अवस्थामा परिवारका सदस्यहरूसँग बोलचाल नै बन्द हुन्छ । परिवारको न्यानो माया र सद्भावबाट वञ्चित हुन्छ । घरमा भएका बालबच्चा ऊसँग भयभित भएको हुन्छ र उसको छेउमा पर्न चाहँदैनन् । उसले ससाना बच्चालाई घर तथा राम्रो स्कुलबाट निकालिदिन्छ । एक किसिमले भन्नुपर्दा परिवार आँसुमै डुबेर बसेको हुन्छ । त्यसैले दुर्व्यसनलाई एउटा पारिवारिक रोग पनि भनिएको छ ।
सामाजिक अस्तव्यस्तता
यो एउटा सामाजिक रोग पनि हो । ऊसँग समाज नै भयभित भएको हुन्छ । लगातारको नशा सेवनले ऊ रिसाहा र झगडालु बन्दै जान्छ । नशालु पदार्थको प्रयोगपछि असामाजिक क्रियाकलापमा संलग्न हुन जान्छ, जसको परिणाम पुलिस, जिल्ला प्रशासन र अदालत धाउनुपर्ने बाध्यता हुन्छ । नशा प्रयोग गरेर छरछिमेकको घरमा प्रवेश गर्ने र उनीहरूलाई बाधा पुर्याउने, समाजमा अशान्ति फैलाउने गर्छ । नशा सेवन गरेर सवारी चलाउने र दुर्घटना निम्त्याउने गर्छ । त्यसैले यसलाई मुटुरोग र क्यान्सरपछिको तेस्रो ठूलो ज्यानमारा पनि भनिन्छ ।
आर्थिक अस्तव्यस्तता
अनियन्त्रित मद्यपान तथा लागुपदार्थ सेवनले ऊ आफ्नो सीमित आयस्रोतमा बाँच्न सक्दैन । तलब बुझेको केही दिनमै सबै पैसा मद्यपान र साथीभाइमा खर्च गर्छ । अनावश्यक चिजमा फजुल खर्च गर्ने बानी विकास हुँदै जान्छ । सापटी माग्न कसैसँग हिचकिचाउँदैन । जोसँग पनि मागिहाल्छ । तर, सो सापटी तिर्नेतिर उसको ध्यान जाँदैन । कसैसँग लिएको सापटी मागिहाल्यो भने उसैसँग झगडा गर्छ । ऊ विस्तारै विस्तारै आर्थिक रुपमा टाटपल्टँदै जान्छ ।
कानूनी अस्तव्यस्तता
नशामाथि निर्भर व्यक्तिको अस्तव्यस्तता बाहिरबाटै प्रस्ट देखिन्छ । बेलाबेलामा झैझगडा, हिंसा, कुटपिट तथा नियमको उल्लंघन आदि कारणले उसको जीवन नराम्रोसँग प्रभावित भएको हुन्छ ।
यस किसिमबाट उसको जीवन अस्तव्यस्त हुनुमा उसको गल्ती होइन । यो सब हुनुमा दुर्व्यसन नै जिम्मेवार छ । यस्तो अस्तव्यस्त जीवनलाई सही मार्गमा ल्याउन उसले कुनै पनि प्रकारको नशालु पदार्थबाट आफूलाई सदाको लागि टाढा राख्नुपर्छ र सोही समयदेखि पुरानो जीवन शैलीलाई बदलेर नयाँ जीवन शैली विकास गर्नुपर्छ ।
(लेखक थापा साइकोथेरापिस्ट हुन् ।)