आगलागीबाट ध्वस्त भएको डेल्टा आंशिक रुपमा असार १६ बाट खोलिने
रुपन्देही । आगलागीले पूर्ण रूपमा जलेर नष्ट भएको बुटवलको मिलनचोकमा रहेको डेल्टा एजुकेशन मार्ट प्रालि यही असार तेस्रो सातादेखि पुनः सञ्चालनमा आउने भएको छ ।
मार्टका सञ्चालकले पहिलो चरणमा असार १६ गतेदेखि सञ्चालनमा आउने आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएका हुन् ।
गएको शुक्रबार विद्युत सर्ट भएर साँझ साढे ६ बजेदेखि मार्टमा लागेको लागेको आगो १३ वटा बारुण यन्त्रले ८ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए ।
मार्टका संचालक चोलाप्रसाद पाठकले आगलागीबाट ४५ करोड रूपैयाँको नोक्सान भएको प्रारम्भिक आकंलन गरिएपनि सबै कागजपत्र जलेकाले त्यसको विवरण खोजी भइरहेको र त्यो थोक खरिद मूल्य भएको दावी गरे । मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले बुटवलको ठूलो विपत्तिमा सबैको साथ भएपनि नोक्सानी जोगाउन नसकेको बताए ।
तर यस्तो परिस्थितमिा पनि हामीहरु उठेर जानुपर्छ भनेर आंशिक रुपमा चलाउन खोजिएको बताए । ‘हामी पहिलो चरणमा यहीँ १६ गतेदेखि एजुकेशन र युनिफर्मसहितको सञ्चालन गछौं’, उपाध्यायले भने, ‘विस्तारै दशैसम्म, जुत्ताघर, लुगाघर र रेष्टुरेन्ट सञ्चालनमा आउछन, अरु त दशैसम्म होला ।’
मार्टका सञ्चालक गणेश पोखरेलले ग्राहक र विद्यार्थीप्रति मार्टले गरेको प्रतिबद्धतालाई डगमगाउन नदिने गरी मार्ट उठने बताए । उनले समयमा दमकल आएको भए आगोले मार्टका धेरै समान जोगाउन सकिने देखिएको पनि त्यो हुन नसकेको बताए । उनले बुटवलमा यस्ता विपत्तिको सामना गर्नेगरी तयारी गर्नुपर्ने बताए ।