काठमाडौं नगरसभामा उपप्रमुख सुनिताको अभिभावकीय अभिव्यक्ति – Nepal Press

काठमाडौं नगरसभामा उपप्रमुख सुनिताको अभिभावकीय अभिव्यक्ति

असारको १० गते अर्थात् सोमबार देशभरको स्थानीय तहको नगरसभा गर्नुपर्ने अन्तिम दिन हो । संघीय राजधानीको शक्तिशाली महानगर काठमाडौँँ महानगरको पनि आज नै नगरसभाको थियो ।

नगरसभामा दुई नगरका युवा नेतृत्व प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलसँगै महानगरका प्रमुख प्रशासकीय अधिकृत पनि मञ्चमा थिए । प्रत्यक्ष प्रशारण भएकोले हजारौँले महानगरको नीति तथा कार्यक्रम र आउँदो वर्षको बजेट हेरिरहेका थिए ।

अझ संघीय राजधानीका दुई युवाले ल्याउने नीति तथा कार्यक्रम बुझ्न आतुर जस्ता थिए लाइभ हेर्न र कमेन्ट बक्समा आउनेहरु । हुन पनि काठमाडौँका दुई युवा नेतृत्व विश्वभरका राजनीतिमा लाग्न चाहने युवाहरुका प्रेरणाका स्रोत पनि हुन् । अझ नगरप्रमुख बालेन्द्र शाहका आफ्नै खाले फलोअर्स र फ्यान पनि छन् भने भद्र उपमेयर ढंगोललाई रुचाउने युवा पनि उत्तिकै छन् ।

महानगरका प्रमुख बालेन्द्र शाहले पहिले नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रम बारे महानगरका जनप्रतिनिधिहरुले प्रश्न, सुझाव तथा टिप्पणी गरे ।

टिप्पणी नीति कार्यक्रम केन्द्रित मात्रै थिएन । केही समयदेखि चल्दै आएको नगर प्रमुख शाह र जनप्रतिनिधिहरुको विवादका विषयहरु नगरसभामा प्रस्तुत भयो ।

महानगर प्रमुख शाहले पटक पटक सिंहदरबारमा आगो लगाउने अभिव्यक्तिदेखि पछिल्लो समय न्यूरोडको झडप त चर्चामै छ । नगरप्रमुखले संस्थागत नभएर आफ्नो एकल इच्छाले नगरका निर्णय गरेका आरोपहरु पनि आइरहने गरेको छ । आफू–आफूबीचका भनाभन पनि सार्वजनिक भइरहेको त्यहि पृष्ठभूमीमा नीति कार्यक्रममाथिको बहससँगै नगरका जनप्रतिनिधिहरुले महानगरका प्रमुखमाथि प्रश्नहरु पनि उठाएका थिए ।

प्रश्नमात्रै उठाएका होइनन्, सारमा भन्दा महानगरका प्रमुख बाहेक वडा तहका जनप्रतिनिधिहरु नगरसभामा एक पक्ष र नगरप्रमुख अर्को पक्ष जस्तो प्रतित हुने अभिव्यक्ति आएका थिए ।

महानगरका जनप्रतिनिधिको पालो सकिएपछि आगामी वर्षको बजेट प्रस्तुत गर्नुअघि आफ्नो भनाइ राख्न नगरप्रमुख शाहले उपप्रमुख डंगोललाई समय दिए । दिनभर जनप्रतिनिधहरुका भनाइ सुनेकी उपप्रमुख डंगोलले १० मिनेटको समय लिएर आफ्नो भनाइ राखिन् । तर, उनको भनाइ उपप्रमुख होइन नगरप्रमुखको तहबाट आउनुपर्ने जस्तो परिपक्व, बोल्ड र नीतिसंगत थियो । परिपक्व अभिभावको भूमिकामा प्रस्तुत भइन् उपप्रमुख डंगोल ।

उनले पहिले जनप्रतिनिधिलाई सम्बोधन गरिन् । महानगर काठमाडौँका नागरिकको सिंगो जीवनस्तर र महानगर बनाउने कसम खाएका जनप्रतिनिधिको भन्दै कोही पक्ष प्रतिपक्ष नभएको भन्दै आफ्नो भनाइ थालिन् । उनले फिल्डमा नै पुगेर आफूबीचमा लड्न गलत भएको पनि सम्झाइन् ।

नगरसभा नै संसद जस्तो प्रश्न प्रतिप्रश्नमा गएपछि उनले महानगरपािलकालाई पक्ष र प्रतिपक्षको रुपमा प्रस्तुत गर्न नहुने बताइन् । उनले थपिन्, ‘यो संसद होइन । यहाँ हामी सरकार र प्रतिपक्ष होइनौँ । एकमात्रै उद्देश्य काठमाडौँ महानगर बनाउन हामी यहाँ आएका हौँ । हामीबीच नै ध्रुवीकरण हुनु राम्रो होइन ।’

उनले थ्रि सी अर्थात् समन्वय र सहकार्य गरौँ सहअस्तित्व स्वीकार गर्न पटक पटक अनुरोध गर्दै संघीयताको मर्मलाई स्थानीय सरकारले भएकोले अझ राम्रोसँग बुझ्न सुझाइन् । आफूहरु लडे जनताको सरकार बन्न नसक्ने कुरा पनि सुझाइन् ।

अझ महत्वपूर्ण त अधिकांश स्थानीय तहमा नगरप्रमुख विरुद्ध आन्दोलन गर्ने उपप्रमुख त देखिएका छन् । तर, सार्वजनिक समारोहमा सभ्य शैलीले सम्बोधन नै गरेर सम्झाइ बुझाइ गर्ने नगरप्रमुख अभिव्यक्ति अहिलेसम्म सार्वजनिक भएको सुनिएका छैन ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख डंगोलले आजको अभिव्यक्तिमा बाटो विराउन लागेको नेतृत्वलाई कसरी सम्झाउन सकिन्छ भन्ने उदाहरण नै प्रस्तुत गरेकी थिइन् । उनले आफूहरु विश्वभरका युवाको राजनीतिमा लाग्ने प्रेरणा भएकोले त्यो जिम्मेवारी पनि पूरा गर्नुपर्ने भूमिका बोध गराइन् ।

फरक मतलाई सम्मान गर्दै एकअर्काको भावनाको सम्मान गर्न अनुरोध गरिन् । संस्थागत व्यवहार देखाउन सुझाइन् । ‘हामी प्रमुख उपप्रमुख राजनीतिमा युवा छौँ । हाम्रोे अभिव्यक्तिले संसारभरका युवालाई प्रभावित गरिरहेको हुन्छ । तपाइँ र म जस्ता राजनीतिमा आउने युवाले संस्थागत छवि दिन सक्नुपर्छ, उनले विशेष सम्बोधन गर्दै उपप्रमुख शाहलाई सम्झाएकी थिइन्, — युवाहरुले व्यक्तिभन्दा माथि उठेर पदको मर्यादातालाई याद राखेर अभिव्यक्ति दिनुपर्छ । जथाभावी बोल्ने हो भने राजनीतिक अराजकता निम्त्याउँछ ।

नगरप्रमुख बालेन्द्र शाहसँग लामो समयदेखि संघीय सरकार, विभिन्न राजनीतिक दल र आफ्नै जनप्रतिनिधिसँग पनि चल्दै आएको रस्साकस्सीमा सार्वजनिक अभिव्यक्ति नआएको उपप्रमुख डंगोलले दिएको अभिव्यक्ति युवाहरुलाई मात्रै होइन राजनीतिक नेतृत्वमा आउन चाहने सबैलाई साँच्चिकै प्रभावित पार्ने खालको पनि थियो ।

त्यतिमात्रै होइन उनले पदीय मर्म र संघीय कानूनको बोध भएको समेत अभिव्यक्ति दिएकी थिइन् । उनकै शब्दमा नगरका असन्तुष्टि पोख्ने र सम्झाउने ठाउँ सार्वजनिक थलो जस्तो सामाजिक सञ्जाल, सञ्चार माध्यव वा काम गर्ने फिल्ड होइन । त्यति कुरा उनले आफ्नो अभिव्यक्ति गर्ने थलो छानेर पनि दिइन् ।

यसै पनि उपप्रमुख डंगोलको अभिव्यक्ति शैली आकर्षक छ । अझ तथ्य तथा कानूनी र संस्थागत अभिव्यक्तिको कुरा गरिरहँदा उनको प्रस्तुती अझ बोल्ड देखिएको थियो ।

सामान्यतया देशभरका अधिकांश स्थानीय तहमा बजेट पढिदिएर बस्ने उपप्रमुख जस्तो भूमिकामा होइन संघीय राजधानीको शक्तिशाली प्रमुखलाई संस्थागत व्यवहार सुझाउन सक्ने युवा, महिला उपमेयर डंगोल साँच्चिकै अभिभावकीय भूमिकामा देखिइन् सोमबार ।

‘हामीले सञ्चार माध्यम, सामाजिक सञ्जाल वा फिल्डमा नै पुगेर आरोप प्रत्यारोपमा उत्रिनु राम्रो होइन । उनले अझ थपिन्, ‘सिंहदरबार जलाउँछु भन्नु ठिक होइन भने, महानगर जलाउँछु भन्नु पनि ठिक होइन, यस्ता अभिव्यक्ति हामीले कदापी राख्नु हुँदैन । यस्तो अभिव्यक्तिले राजनीतिक अराजकता बढाउँछ ।’

विश्वभरबाट आफूहरुलाई पछ्याइरहेका, हेरिरहेका सुभचिन्तकहरुलाई पनि उनले सम्बोधन गरेकी थिइन् । प्रत्यक्ष प्रशारण भइरहेको नगरसभाको कमेन्ट बक्समा नै उपप्रमुख डंगोलको अभिव्यक्तिको समेत प्रशंसा भइरहेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर