मेयर डेनमार्क घुम्न गएपछि आएन लम्कीको बजेट, कैलालीका अन्य पालिकाको कति ल्याए ? – Nepal Press

मेयर डेनमार्क घुम्न गएपछि आएन लम्कीको बजेट, कैलालीका अन्य पालिकाको कति ल्याए ?

कैलाली । असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइसक्नुपर्ने व्यवस्था रहेको छ । तर,कैलालीको लम्की चुहा नगरपालिकाले भने निर्धारित समयमा बजेट ल्याउन सकेन ।

अरू प्राविधिक समस्याका कारण यहाँ समयमा बजेट नआएको होइन। नगर प्रमुख सुशीला शाही वैदेशिक भ्रमणमा नेपालबाहिर भएको हुँदा बजेट नआएको हो ।

वैदेशिक भ्रमणको क्रममा उनी अहिले डेनमार्कमा छिन् । उनी गत जेठ ३० गते नै डेनमार्कको लागि उडेकी हुन् । अहिले प्रमुख प्रशासकीय अधिकृत माधव कुमार जैशीले पनि काठमाडौँ छन् ।

नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने जेठ २१ गते नै पारित गरेको थियो । नगरपालिकाको बजेट ल्याउन छोडेर वैदेशिक भ्रमणमा रमाउन थालेपछि नगरप्रमुख शाहीको आलोचना भइरहेको छ ।

प्रमुख नहुँदा निर्धारित समयमा बजेट नआएको उपप्रमुख जुना चौधरीले जानकारी दिइन् । उनी फर्केपछि मात्र नगरपालिकाले बजेट ल्याइने भएको छ ।

‘मेयर हुनुहुन्न। उहाँ आएपछि बजेट आउँछ’ उपप्रमुख चौधरीले भनिन्,‘ उहाँ १७्१८ गतेतिर आउने कुरा सुनेको छु । त्यसपछि बजेट ल्याउने हामी तयारी गर्छौ ।’

एउटा उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको कैलालीमा लम्की चुहा बाहेकका पालिकाले साढे १० अर्ब बराबरको बजेट ल्याएका छन् ।

मोहन्याल गाउँपालिकाले ६ असारमा, धनगढी उपमहानगरपालिकाले ७ असारमा, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिकाले ९ असारमा नीति तथा कार्यक्रम र बजेट ल्याएका थिए । गौरीगङ्गा नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका र चुरे गाउँपालिकाले भने सोमबार मात्र सार्वजनिक गरेका हुन् ।

कुन स्थानीय तहले कति ल्याए बजेट ?

कैलालीमा अगामी आर्थिक वर्षका लागि सबैभन्दा धेरै धनगढी उपमहानगरपालिकाले बजेट ल्याएको छ । दुई अर्ब १८ करोड ८२ लाख बराबरको बजेट ल्याएको उपमहानगरपालिकाले चालुतर्फ एक अर्ब २० करोड र पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख बजेट विनियोजन गरेको छ ।

गोदावरी नगरपालिकाले एक अर्ब २२ करोड ३३ लाख ६५ हजार, घोडाघोडी नगरपालिकाले ९७ करोड ४४ लाख ८७ हजार, गौरीगङ्गा नगरपालिकाले ९५ करोड ४५ लाख, टीकापुर नगरपालिकाले ८५ करोड ४४ लाख, भजनी नगरपालिकाले ६८ करोड ९७ लाख ६० हजार बराबरको बजेट ल्याएको छ ।

बर्दगोरिया गाउँपालिकाले ८० करोड १ लाख, कैलारी गाउँपालिकाले ७७ करोड २१ लख, जानकी गाउँपालिकाले ६८ करोड ५६ लाख, जोशीपुर गाउँपालिकाले ५५ करोड ३ लाख, मोहन्याल गाउँपालिकाले ५३ करोड ८८ लाख र चुरे गाउँपालिकाले ४८ करोड ६४ लाख बजेट ल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर