संघीयता संस्थागत गर्न योगदान दिएका मिडियालाई राज्यले सधै सम्मान गर्ने: मन्त्री पन्थी – Nepal Press

संघीयता संस्थागत गर्न योगदान दिएका मिडियालाई राज्यले सधै सम्मान गर्ने: मन्त्री पन्थी

रुपन्देही ।लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री दिनेश पन्थीले सञ्चारको विभिन्न माध्ययमहरु भएतापनि समाचारको विश्वसनियता टेलिभिजनमा बढी हुने बताएका छन् ।

टेलिभिजनहरुको साझा संस्था राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशको दोस्रो भेलाको दाङको भालुवाङमा उद्घाटन गर्दै उनले भने, ‘टेलिभिजनमा श्रव्यदृश्य दुबै हुने हुँदा हरेक समाचार तथ्यपरक र विश्वसनीय हुन्छ ।’

मन्त्री पन्थीले लुम्बिनी प्रदेश सरकारले टेलिभिजनहरुको संरक्षण र सम्वद्र्धन गर्न सहयोग गर्ने उनको भनाइ थियो । उनले मिडियाको सहयोगबिना कुनैपनि सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न नसक्ने बताउँदै संघीयता संस्थागत गर्न योगदान दिएका मिडियालाई राज्यले सधै सम्मान गर्ने पनि बताए ।

कार्यक्रममा सञ्चार समन्वय परिषद लुम्बिनीका अध्यक्ष यमबहादुर गाहा मिलनले प्रदेशभरका सञ्चार गृहको सबलिकरण र संरक्षणको लागि सरकारले सञ्चार समन्वय परिषदलाई अख्तियारी र जिम्मेवारी दिनुपर्ने बताए ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले प्रदेश सरकारले लोककल्याणकारी विज्ञापनलाई शत प्रतिशत बढाएर प्रदेशका विभिन्न जिल्लाबाट प्रकाशित तथा प्रसारित टेलिभिजन, पत्रिका, रेडियो र अनलाइनलाई जोगाउनुपर्ने बेला आएको बताए ।

सो अवसरमा राज्य टेलिभिजनका अध्यक्ष गोबिन्द खनालले निजी क्षेत्रको विज्ञापन कटौती भइरहेको बेला प्रदेश र स्थानीय सरकारले टेलिभिजनलाई अपमानित ढंगले लोककल्याणकारी विज्ञापन रोक्ने गरेको भन्दै आक्रोश व्यक्त गरे । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशका सल्लाहकारसमेत रहेका एलायन्स फर कम्युनिटी मिडियाका अध्यक्ष दिनेश पाण्डेले सार्वजनिक महत्वका सूचना र विज्ञापन प्रदेशकै मिडियामा प्रकाशन तथा प्रसारण गर्ने नीति सरकारले अबलम्बन गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष नरेश केसीले लुम्बिनी प्रदेशमा संचालित १६ वटा टेलिभिजनमा २५ करोडभन्दा बढी लगानी र ५ सय जनाले रोजगारी पाइरहेको बताए । अध्यक्ष केसीले बर्षेनी नवीकरण बापत प्रतिटेलिभिजन एक लाख र रोयल्टीको २ प्रतिशत गरी बार्षिक २५ लाख राज्यलाई नवीकरण र रोयल्टी तिर्दै आएका टेलिभिजनहरुलाई लोककल्याणकारी विज्ञापन जम्मा ३५ लाख छुट्टाउनु प्रदेश सरकारको अपमानपूर्ण व्यवहार भएको बताए । उनले प्रदेश सरकारसँग उक्त बजेट संशोधन गर्दै शतप्रतिशत बढाउन माग गरे ।

कार्यक्रममा ब्रोकास्टिङ एशोसियन अफ नेपाल ९बान० लुबिनीका अध्यक्ष युगराज बस्यालले मूलधारका मिडियालाई संरक्षण गर्ने नीति सरकारले नलिए त्यसको नोक्सानी सन्चार गृहभन्दा बढी राज्य र राज्य सन्चालकलाई नै पर्ने बताए । उनले भने, ‘मूलधारका मिडियालाई विज्ञापन नदिएर सामाजिक सन्जाल र दर्ताबिहिन पेज, युट्युबलाई विज्ञापन दिने गरिएको छ । यो तत्काल रोक्नुपर्दछ ।’

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) लुम्बिनीका अध्यक्ष राजु खरालले राज्य मिडियाप्रति अनुदार बन्दै गएको भन्दै आक्रोश व्यक्त गरे । यसैगरी राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशको उद्घाटन सत्रमा अनलाइन मिडिया सोसाइटी लुम्बिनीका अध्यक्ष गौतम भुसालले सूचना तथा सन्चारको आजको युगमा सबै सन्चार सम्बद्ध संघसंस्थाहरु एकताबद्ध विकृति र विसंगतिविरुद्ध उभिनुपर्ने बताए ।

टेलिभिजनको संरक्षणको लागि सबैको एकता जरुरी

राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशको दोस्रो भेला दाङको भालुवाङमा सम्पन्न भएको छ । भेलाले लुम्बिनी प्रदेशमा प्रसारण कार्यालय रहेका टेलिभिजनहरुको हकहित र संरक्षणको लागि एकअर्कामा सहकार्य गर्ने र एकताबद्ध भई काम गर्ने निर्णय गरेको छ ।
उक्त भेलाले नेपाल विज्ञापन बोर्ड र प्रदेश सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन अत्यन्तै न्यून भएकोले आगामी आर्थिक वर्षदेखि शतप्रतिशत बृद्धि गर्न माग गरेको छ ।

यसैगरी स्थानयी सरकारहरुले दर्ताबिहीन सामाजिक सन्जाल र दर्ता नगरिएका कतिपय अनलाईन टिभिमा विज्ञापन दिने, डकुमेन्ट्री बनाउन दिने तथा प्रसारण गर्ने र सार्वजनिक महत्वका सूचना प्रसारण गराई भुक्तानी गरेको भेटिएकोले त्यस्ता कार्य तत्काल रोक्न माग समेत गरेको राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशका सचिव नवराज भुसालले बताए ।

टेलिभिजनहरुको दाङ भेलाले संगीत समाज नेपालले रोयल्टीको नाममा निकालेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल सच्चाई हाल लिदै आएको कुल बिक्रीको १ प्रतिशत रोयल्टीलाई नै निरन्तरता दिन माग गरेको छ । संगीत रोयल्टी समाजले प्रतिटेलिभिजन ५ लाख रोयल्टी लिने गरी सूचना निकालेको थियो ।

संगीत रोयल्टी समाज र संघीय सरकारसँग उच्चस्तरीय वार्ता गर्न र राष्ट्रिय टेलिभिजन प्रसारक संघ केन्द्रीय समितिसँग बसेर थप योजना बनाउनको लागि राज्य टेलिभिजन संचालक समितिका अध्यक्ष गोबिन्द खनालको अध्यक्षतामा एक समितिसमेत गठन गरेको छ । जसको सदस्यमा समता टेलिभिजन रुपन्देहीका सन्चालक नरेश केसी र बी टेलिभिजन गुल्मीका सन्चालक नवराज भुसाल सदस्य रहेका छन् ।

भेलामा लुम्बिनी प्रदेशमा रहेका बाँकेको जि फोर के टेलिभिजन, दाङको सप्तरङ्गी टेलिभिजन, लमहीको राप्ती च्यानल दर्पण टेलिभिजन, कपिलवस्तुको बुद्ध आवाज टेलिभिजन, रुपन्देहीको राज्य टेलिभिजन, लुम्बिनी सामुदायिक टेलिभिजन, बुद्ध सामुदायिक टेलिभिजन, तिलोत्तमा टेलिभिजन, साझा टेलिभिजन, समता टेलिभिजन, पाल्पाको पृथ्बी टेलिभिजन र गुल्मीको बी टेलिभिजनका अध्यक्ष र सन्चालकहरुको सहभागिता रहेको थियो । यसैगरी भेलाले समाचारमा सहकार्य गर्ने एवं संस्थागत हितको लागि टेलिभिजन कोष स्थापना गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर