वर्षा र डीएलको दबाबमा के अफगानिस्तानका ‘नैब’ले नाटक नै गरेका थिए ? – Nepal Press

वर्षा र डीएलको दबाबमा के अफगानिस्तानका ‘नैब’ले नाटक नै गरेका थिए ?

काठमाडौं । पानी छिट्याउन सुरु गर्दै थियो, बाहिरबाट अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रट बाहिरबाट संकेत गर्दै थिए- विस्तारै खेल । यो अवस्थामा अफगानिस्तान डकवर्थ लुइस (डीएल)मा २ रनले अगाडि थियो । वर्षाका कारण खेल रद्द भइहाले जित्न सकिने विश्वास ट्रोटको थियो । टी-२० विश्वकपको सेमिफाइनल पुग्न गतिलो अवसर ट्रोटले बुझेका थिए ।

लगत्तै १२औं ‌ओभरको पाँचौं बल फ्याँक्न नुर अहमद के दौडिएका मात्र थिए, स्लिपमा फिल्डिङ गरिरहेका गुल्बादिन नैब खुट्टा समात्दै लडे । त्यसपछि अम्पायरले पनि वर्षाको कारण खेल रोके ।

नैब सहकर्मीको काँधमा समातेर बाहिर निस्किए । उनी निस्किरहँदा ब्याटिङ गरिरहेका बंगलादेशका लिटन दासले नैबले नाटक गरिरहेको संकेत गर्दै अफगानी खेलाडीसँग बोल्ने क्रममा अभिनय गरेका थिए । डीएलमा अफगानिस्तान अगाडि भएको र वर्षा सुरु हुन लागेको बुझेर नैबले अभिनय गरेको हुनसक्ने संकेत कमेन्टेटरले पनि गरिरहेका थिए । केही बेरमै खेल सुरु भयो ।

निकै घाइते जस्तो देखिएर मैदानबाट निस्किएका नैब १३औं ओभरमै फिल्डिङमा फर्किए । नैब खेलमा फर्किएको देखेर कमेन्टेटरले आश्चर्य व्यक्त गरे । अझ १५औं ओभरमा त उनी बलिङमै आए । उनले दोस्रो बलमै विकेट लिएका थिए ।

वर्षाले खेल प्रभावित हुन र रोकिन सक्ने सम्भावनाबीच बंगलादेश र अफगानिस्तान दुवै डीएलको दबाबमा थिए । बंगलादेशमाथि रोमाञ्चक ८ रनको जीत हात पारेर अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनल पुगेको छ । अफगानिस्तानको जीतले अस्ट्रेलिया सुपर एटबाटै बाहिरिएको छ । अफगानिस्तानका कप्तान रसिद खानले नैबको खुट्टामा ‘क्र्याम्प’ आएकाले उनी लड्न पुगेको बताए ।

ओपनर दासले मोलेको ‘जोखिम’

अफगानिस्तानविरुद्ध बंगलादेशका ओपनर लिटन दास ५४ रनमा अविजित रहे । अर्कोतर्फबाट एकपछि अर्को विकेट गइरहेका बेला दास पनि टिकिरहे । अन्तिम समयमा दासले एक रन लिन खोज्दा अन्य ब्याट्सम्यानलाई अफगान बलरले शिकार बनाएका थिए । १७ ओभरको समाप्तिमा बंगलादेशले ८ विकेट गुमाएर १०२ रन चाहिएको थियो ।

बाँकी २ ओभरमा बंगलादेशलाई १२ रन चाहिएको थियो । १७औं ओभरको अन्तिम बलअघि क्रिजमा रहेका दास र तासकिन अहमदबीच सल्लाह भएको देखिएको थियो । उक्त बलमा तास्किनले रन जोड्न सकेनन् । १८औं ओभर सुरु हुँदा स्ट्राइकमा थिए दास । उनी विकेट र रन दुवैको दबाबमा थिए । ननस्ट्राइकमा तल्लोक्रमका ब्याट्सम्यान भए पनि दासले जोखिम मोले ।

पहिलो बलमा एक रन लिएर तास्किनलाई स्ट्राइक दिए । दोस्रो बलमा तास्किनले एक रन लिए । तेस्रो बलमा दासले एक रन लिएर फेरि तास्किनलाई स्ट्राइक दिए । तर, चौथो बलमा तास्किन नविन उल हकको बलमा बोल्ड हुन पुगे । पाँचौं बलमा मुस्ताफिजुर रहमान एलबीडब्ल्यू धरापमा परे । यसरी बंगलादेशमाथि अफगानिस्तानले जीतमात्र हात पारेन, सेमिफाइनल पनि पुग्यो र यो नतिजाले अस्ट्रेलिया सुपर एटबाटै बाहिरियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर