माइतीघर: झण्डाकाे पाेलमा उक्लिइन् आरती रावल, डोरीले बाँधेर झार्‍यो प्रहरीले (भिडिओ) – Nepal Press

माइतीघर: झण्डाकाे पाेलमा उक्लिइन् आरती रावल, डोरीले बाँधेर झार्‍यो प्रहरीले (भिडिओ)

काठमाडौं । पूर्वन्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले आज माइतीघरमा रहेको झण्डामाथि उक्लिएर प्रहरीलाई हैरानी दिएकी छन् । घटना दिउँसो साढे दुई बजेतिरको हो ।

श्रीमानले आफूमाथि बलात्कार गरेको भनेर लामो समयदेखि कानूनी लडाईं लडिरहेकी आरतीले अदालतबाट मुद्दा जितिसकेकी छन् । उनका श्रीमानलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ । त्यसयता आरतीले सरकारबाट राहत तथा क्षतिपूर्तिको माग राखेर संघर्षलाई निरन्तरता दिँदै आएकी छन् ।

याे पनि पढ्नुस्: बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

आज दिउँसो उनी माइतीघर पुगिन् । त्यहाँ रहेको नेपाली झण्डाको लिंगोमा उक्लिन थालिन् । तीन फिट जतिमाथि उक्लिएर उनले फेसबुकमा पहिल्यै तयार रहेको पोस्ट अपलोड गरिन् । उक्त पोस्ट यस्तो थियोः

नत राम्रो उपचार छ नत औषधि ६ महिनादेखि न्यायको निम्ति, नेपालको कानून सबैलाई समान हुनुपर्छ भन्दै जघन्य अपराध (बलात्कार) गर्ने न्यायाधीश विरूद्धको लडाईंमा सडकको बास भयो अनि २४ सै घन्टा सडकको धुलो, धुवा, घाम पानी कहिले अनशन त कहिले धर्ना त्यसमाथि न्यायको निम्ति सम्मानित सर्वोच्च अदालतको परिसर भित्र विष सेवनले शरीरमा कस्तो रोग लाग्छ एक पटक कल्पना गरेर हेर्नुहोस् (प्रचन्ड) सरकारहरु मुटु, मृगौला, पिसाब चुहिने लगायत् पुरै शरीर सुन्निएको छ आज यै रोगले छटपटाई रहेकी छु । न्यायालयदेखि न्याय त पाएँ तर यही न्याय मलाई महँगो भयो । सर्वस्व गुमाएँ । अस्वस्थ शरीर लिएर कहाँ जाउँ, के खाउँ के गरु ? दुई छाक अन्नको वातावरण बनाई देउ, स्वास्थ्योपचार र जीविकोपार्जनको लागि राहत (सहयोग) देउ भन्दै सडकमा लाश भएर ढलेकी छु तर राज्यले हेरेन, प्रधानमन्त्री ज्यूको हृदयमा आफ्नो पीडित नागरिक चेलीप्रति दया भाव जागेन ।

हिंसामा परेका हरेक महिला दिदी बहिनीहरुको लागि प्रेरणाको स्रोत बनेकी हुँदा म पीडीतलाई राज्यले स–सम्मानका साथ पुरस्कृत गर्ने ठाउँमा उल्टै राज्यबाट अन्याय भोग्नु परेको छ । मैले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक सहयोगको लागि लिखित निवेदनको अपिल गर्दा पनि राज्यले बेवास्ता गरेको, पटक पटक प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराउँदा पनि ध्यानाकर्षण न भएको हुँदा आज म यो संसार छोड्न बाध्य हुँदैछु ।

नेपाल सरकारसँग बाँच्ने आधार माग गरेकी हुँ, स्वास्थ्योपचार र जीविकोपार्जन देउ भन्दा मलाई लाश नै बनाउन खोजेको हो भने म सहजीकरण गरी दिन्छु तर मेरो लाश खुला आकाश (काठमाडौंको मुटु माइतीघर मणडला) मुनी हुनेछ्, मेरो देशको अभिमान (झण्डा) फरफराउँदै गर्दा तेसैमा मेरो लाचार मृत शरीर झुण्डिने छ र मुख्य दर्शक मेरो देशको प्रधानमन्त्री प्रचन्ड सरकार हुनेछन् ।
म पीडितलाई राहत (क्षतिपूर्ति) दिएर जीवनदान दिन न सके पनि यो मेरो अन्तिम ईच्छा चाहिँ पूरा गरिदिनु होला मेरो झुन्डिएको मृत शरीर लाई नजिक आएर नियालिदिनु र यसैका लागि हिजो जनयुद्ध गर्नु भएको हो ? कृपया मेरो मृत शरीरलाई जवाफ दिनु होला ।
(प्रचण्ड) सरकारहरु

उही हजुरको वेवारिसे अनागरिक

आरती रावल गिरी

या पोस्ट हालिसकेर उनी पाेलबाटै फेसबुक लाइभमा आइन् । ग्वाँ ग्वाँ रुँदै आफ्ना कुराहरु राखिन् । उनले आफू झण्डाबाट हाम्फालेर आत्महत्या गर्ने बताएकी थिइन् ।

तर, आरतीमाथि उक्लिन थालेपछि प्रहरी आएर रोक्ने प्रयास गरे । प्रहरीले खुट्टा तान्ने र आरतीमाथि उक्लिने क्रम चल्यो ।

प्रहरीको केही लागेन । १०-१२ फिटमाथि चढेपछि आरती फेसबुक लाइभमा आइन् । ग्वाँ ग्वाँ रुँदै आफ्ना कुराहरु राखिन् । आफूले मर्न पाउनुपर्ने बताइन् ।

यतिञ्जेलमा सिटी प्रहरीले विद्युत प्राधिकरणबाट तीन वटा भर्याङ र डोरी लिएर माइतीघरमा आयो । प्रहरीले भर्याङबाट माथि उक्लेर आरतीलाई डोरीमा बाँधे र आफ्नो शरीर पनि बाँधे ।

त्यसपछि ठूलो ज्यानकी आरतीलाई पिठ्यूमै बोकेर भर्याङबाट तल झरे । याे सबै ‘रमिता’मा करिब एक घण्टा व्यतीत भएकाे थियाे । वरिपरि रमितेहरुकाे भीड लागेपछि सवारी आगमन प्रभावित भएकाे थियाे ।

तल झारिसकेपछि आरती बेहोश भएझैं देखिइन् । त्यसपछि उनलाई अस्पताल लगियो । अस्पतालमा चिकित्सकहरुले हेर्दा उनी सामान्य अवस्थामा रहेको पाइएको छ ।

 

 


प्रतिक्रिया

One thought on “माइतीघर: झण्डाकाे पाेलमा उक्लिइन् आरती रावल, डोरीले बाँधेर झार्‍यो प्रहरीले (भिडिओ)

  1. बेहाेस भए झैं देखिइन् । अस्पतालमा चेक गर्दा अवस्था सामान्य देखियाे भने नाटक गरेकी हुन् कि के हाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर