अध्यक्षमा दोहोरिने माधवको रहर, झलनाथ-घनश्यामले बाटो छेक्ने डर – Nepal Press
नेकपा एस महाधिवेशन

अध्यक्षमा दोहोरिने माधवको रहर, झलनाथ-घनश्यामले बाटो छेक्ने डर

काठमाडौं । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले यही १६ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ । एकताको महाधिवेशन भनिएपनि अध्यक्षका लागि माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकांक्षी छन् ।

महाधिवेशन आउन एक सातामात्रै बाँकी हुँदा हिजो राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रममा नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्ने सन्देश दिन खोजे । सार्वजनिकरूपमा दस्तावेजमा सहमति भइसकेको बताउँदै महाधिवेशनबाट आफूहरू एकताबद्ध भएर आउने महासचिव भुसालले बताए ।

उनको भनाइ थियो, ‘हामी यो महाधिवेशनबाट अझै बढी एकताबद्ध भएर निस्कनेछौं । हामीले दस्तावेज सर्वसम्मत बनाएका छौं । यो दस्तावेज लेख्नमात्रै बनाएका छैनौं । अबको क्रान्तिको बाटो, एजेण्डा के हो भन्नेबारे सघन विचार ल्याएका छौं ।’

महासचिव भुसालले मात्रै होइन, नेपाल र खनालले पनि आफूहरु एकैठाउँमा रहेको उल्लेख गर्दै नीति, सिद्धान्तमाथि छलफल गरेर सहमतिमै नेतृत्व दिने उनीहरुको भनाइ थियो। बाहिर नेताहरुले सर्वसम्मत नेतृत्व दिने नेता कार्यकर्तालाई आश्वासन दिएपछि भित्री परिस्थिति त्यस्तो छैन ।

एमालेबाट चोइटिएर गएपछि राष्ट्रिय दल बन्न नसकेको नेकपा एसलाई आफ्नै नेतृत्वमा अगाडि बढाउने दाउमा छन् माधव नेपाल । त्यही अनुसारको अहिले दौडधूप बढाएका छन् ।

तर, उनलाई सम्मानीत नेता खनाल र महासचिव भुसालले टक्कर दिने तयारी गरिरहेका छन्। दुई नेताहरुले आफूविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गर्ने देखेपछि आफ्नो नाममा सहमति जुटाउन आन्तरिक छलफल गरिरहेका छन्। त्यही दाउमा छन्, खनाल र भुसाल पनि।

माधव नेपालबाट पार्टी नचल्ने निष्कर्षसहित पार्टीका हरेक बैठकमा फरक मत राख्दै आएका नेता खनाल नेपाललाई यसपटक रोक्ने प्रयासमा देखिएको एक नेताले बताए ।

ती नेताले भने, ‘उहाँ (झलनाथ) ले यसपछि अध्यक्षमा माधवजीलाई रोक्न खोज्दै हुनुहुन्छ तर, त्यो सम्भव छैन। धनश्यामजी पनि उहाँकै साथ पाएर हौसिनुभएको जस्तो देखिएको छ । तर, उहाँहरूले भनेजस्तो परिस्थिति सहज बन्न भन्ने देखिएको छैन ।’

तर, झलनाथ आफैं नेतृत्वको तयारीमा रहेकाले अहिले भुसाललाई सघाउनेबारे कुनै निर्णय गरेका छैनन् । केही समयअघि नेपाल प्रेससँगको अन्तर्वाता नेता खनालले आफू नेतृत्वमा तयारी गरिरहेको बताएका थिए ।

उनले भनेका थिए, ‘स्वाभाविकरूपमा अहिले पार्टी आफ्नै ढंगले अगाडि बढ्दैछ । यो पार्टीलाई अझै क्रान्तिकारी विचार, नीति र सिद्धान्त आधारमा समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा मेरो दृढ प्रतिबद्धता हो । त्यही प्रतिबद्धता महाधिवेशनबाट पास भए मैले जे जिम्मेवारी लिनुपर्छ म तयार नै छु । त्यहीअनुसार नेतृत्वको तयारी गरिरहेको छु ।’

त्यसो त नेतृत्वको विषयमा मात्रै होइन, नेपाल र खनालबीच पार्टीभित्र वैचारिकरूपमा पनि मतभेद छ । नेपाल जनताको बहुदलीय जनवाद (जबज) अहिले छाड्न नहुने पक्षमा अडिग छन् भने खनाल त्यो इतिहास भइसकेकाले समाजवादी क्रान्तिको अवस्थामा पुगिसकेको तर्क गर्छन् । यो विषयमा पनि खनाल र भुसाल एकैठाउँमा छन् ।

‘हामीले समाजवादी कार्यक्रम लिएर अगाडि बढ्नुपर्छ, त्यसको कुनै विकल्प छैन । मतभेदको प्रश्न आउँदैन’ उनको भनाइ थियो, ‘उहाँ (माधव) ले यो विषयमा कहिले कहिले कहाँ कहाँ के-के टिप्पणी गर्नुभयो । त्यो कुरा महाधिवेशनमा पनि ल्याउनुभयो भने बहस हुन्छ ।

राजनीतिक कार्यदिशा, कार्यक्रम, नीति र सिद्धान्तको आधारमा खोजिने नेतृत्वमा आफू सहमति हुने नेता खनालको भनाइ छ । तर, पार्टीका अधिकांश नेताहरू अहिलेसम्म पार्टी विभाजनको औचित्य पुष्टि गर्ने चरणमा पुगेकाले नेपाललाई नै सर्वसम्मत नेतृत्वमा चयन गर्नुपर्ने भन्दै सहमतिको प्रयासमा छन् ।

अध्यक्षको दाबी गर्दै भुसालले अस्वाभाविक दौडधूप बढाएपछि नेपालले आइतबार होटेल बसेरामा खनालसँग छलफल गरेको थिए । उनीहरूको भेटमा उपाध्यक्षद्वय राजेन्द्र पाण्ड र प्रमेश हमाल सहभागी थिए । नेपाललाई अन्तिम समयसम्म पार्टी पुस्तान्तरणको नाम दिएर भुसाललाई खनालले सघाउनसक्ने आशंका व्यक्त गरेका थिए ।

खनालसँगको भेटमा नेपालले अध्यक्षमा आफ्नो नेतृत्वमा सर्वसम्मत गरेर जान प्रस्ताव राखेपछि कुनै जवाफ नफर्काएको स्रोतले बतायो । तर, विद्रोहको बेलामा साथ छाडेर बीचमा प्रवेश गरेर घनश्यामले नेतृत्वको दाबी गरेकोप्रति संस्थापन पक्षका नेताहरु सन्तुष्ट छैनन् ।

दुई नेताहरूबीचको आइतबारको भेट पार्टी नेतृत्व सहमतिमा टुंग्याउनुपर्छ भन्नेमा केन्द्रित रहेको उपाध्यक्ष हमालले बताए ।

उनले भने, ‘अध्यक्ष र सम्मानित नेताबीचको भेटमा पनि नीतिगत रूपमा एकताबद्ध भइसकेकाले नेतृत्वको बारेमा पनि सहमतिमै जानुपर्छ भन्ने कुरा भयो। डिटेलमा नेतृत्वमा को हुनेरु कसले कुन पद लिने भन्नेबारेमा छलफल भइसकेको छैन। बाहिर चर्चा धेरै छन्। अनौपचारिक छलफल हुन्छन्। औपचारिक रुपमा निष्कर्षमा पुगेका छैनौं ।’

उनले नेतृत्व सर्वसम्मत र एकताको महाधिवेशन बनाउने कोसिस भइरहेको बताए ।

उपाध्यक्ष हमालले थपे, ‘कसरी जान्छ अझै क्लियर भएको छैन । अहिले बाहिर चर्चामा तीन जनाको दाबी आएको भन्नेछ । यो पार्टीभित्र औपचारिकरूपमा यो कुरा आएको छैन । यो कुरा पार्टीमा कसरी आउँछ र निष्कर्ष के हुन्छ भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन । हामी एकताको महाधिवेशन भएकाले सहमतिमा टुंग्याउने प्रयास गर्छौं ।’

माधव नेपाललाई नै निरन्तरता दिने सम्भावना कतिको छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘हामीले सहमति र एकताको महाधिवेशन बनाउनुपर्छ भन्ने कुरालाई जोड दिएकाले यही केन्द्रबिन्दुभित्र रहेर छलफल अगाडि बढाएका छौं ।’

अर्का उपाध्यक्ष राजेन्द्र पाण्डेले महाधिवेशनले पार्टीलाई उपयुक्त नेतृत्व दिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘महाधिवेशन पूर्णरूपमा स्वतन्त्र हुन्छ । त्यसले पूर्णरूपमा पुरानालाई रिन्यु गर्नपनि सक्छ नयाँलाई स्थापित गर्नपनि सक्छ । यो पार्टीको जीवनमा महत्वपूर्ण हुन्छ र लामो छलफलपछि पार्टीले उपयुक्त नेतृत्व जसलाई राख्दा ठीक हुन्छ । अहिले म उठ्छु भन्ने कुरा प्रतिनिधि हुने सबैले पाउँछन् ।’

उनले अध्यक्ष र सम्मानित नेताबीच वैचारिक मतभेद पनि नभएको प्रष्ट पारे ।

उनले थपे, ‘वैचारिक मतभेद त भन्ने कुरामात्रै हो । मतभेद भएको भए त दुईवटा दस्तावेज छुट्टै बन्थ्यो होला नि ! दस्तावेज सबै सल्लाह गरेर एउटै दस्तावेज बनाएपछि त्यसलाई कसरी मतभेद भन्ने ?’

उपाध्यक्ष पाण्डेले मात्रै नभई अध्यक्ष नेपाल र नेता खनालले पनि सहमतिको आधारमा दस्तावेज बनिसकेकाले पार्टीभित्र मतभेद नभएको बताउँदै आइरहेका छन् ।

महाधिवेशन सहमतिको आधारमा नेतृत्व चयन गर्ने नेता नेता भानुभक्त जोसीले बताए ।

उनले भने, ‘शीर्ष नेताहरूबीच बसेर छलफल भइरहेका छन् । तर, अहिले नै माधव नेपालकै नेतृत्व हुन्छ कि के हुन्छ भन्ने मिल्दैन । महाधिवेशनको हलबाट सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्छ भन्नेमा स्पष्ट छौं ।’

घनश्याम भुसालले अध्यक्षमा दाबी गर्नुलाई कसरी हेर्नुभएको छरु भन्ने प्रश्नमा उनले भने, ‘इन्छा आकांक्षा राख्न सबैले पाउँछन् । केही गर्छु भन्ने कुरा सकारात्मक नै हो । तर, सहमतिमै जानुपर्छ ।’

यस्तै, कम्युनिष्ट पार्टीमा अध्यक्षपछि महासचिव पद महत्वपूर्ण मानिन्छ । त्यसैले अहिले उपमहासचिवमा पनि नेताहरुको उस्तै रस्साकस्सी छ ।

यद्यपि, कतिपय नेताहरूले अबको पाँच वर्षका लागि अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई नै दोहोर्‍याउनुपर्ने मत राख्दै आइरहेका छन् ।

महासचिव भुसालले अध्यक्षमा दाबी गरेपछि उपमहासचिव जगन्नाथ खतिवडाले अहिले बलियो रूपमा दाबी पेश गरेका छन् ।

उनीबाहेक उपमहासचिवहरू डा. विजय पौडेल, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला, सचिव राजेन्द्र राई, रामकुमारी झाँक्रीलगायतले पनि महासचिवको लबिङ गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “अध्यक्षमा दोहोरिने माधवको रहर, झलनाथ-घनश्यामले बाटो छेक्ने डर

  1. अध्यक्ष खान त पार्टी फुटाएको । १० पटक भए पनि र आर्यघाट जानू अघिसम्म आफैंलाई हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर