जुम्ला तातोपानी गाउँपालिकामा एकल पुरुषलाई वार्षिक भत्ता
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले यस आर्थिक वर्षबाट एकल पुरुषलाई वार्षिक भत्ता दिने निर्णय गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई पनि भत्ता दिने भएको हो ।
गाउँपालिका भित्रका रहेका आर्थिक अवस्था कमजोर भएका, बेसहारा र कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन भत्ता कार्यक्रम लागू तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले जानकारी दिए ।
उनका अनुसार पालिकामा रहेको ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई वार्षिक ४ हजारका दरले भत्ता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।
‘कर्णालीमा यो नयाँ कार्यक्रम हो’ उनले भने, ‘यो कार्यक्रम कस्तो हुन्छ कतिको प्रभावकारी हुन्छ भन्नेमा छौँ । यो कार्यक्रमलाई हाम्रो कार्यकालमा निरन्तरता दिनेछौँ । त्यसपछि पनि कार्यक्रमले निरन्तरता पाउनेछ भन्ने आशा छ ।’
उक्त कार्यक्रमका लागि दुई लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
साथै, किसानलाई व्यावसायिक पशु पालनतर्फ आकर्षित १ सय भन्दा बढी भेडा बाख्रा पालन गर्ने पशु पालक कृषकलाई मासिक ५ सय गोठालो भत्ता दिनको लागि ४ लाख बजेट विनियोजन गरिएको अध्यक्ष चौलागाईंले जानकारी दिए ।