दीपेन्द्रकी बहिनी राजमती पहिलोपटक महिला राष्ट्रिय टोलीमा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अर्काे महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कपका खेल्ने टोलीको घोषणा गरेको छ । श्रीलंकामा जुलाई १९ देखि २८ सम्म हुने एसिया कपको लागि क्यानले बुधबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
युवा अलराउन्डर राजमती ऐरीले पहिलो राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । घरेलु प्रतियोगिता शसस्त्र प्रहरी बल (एपिएफ) बाट खेलिरहेकी राजमती राष्ट्रिय पुरुष टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीकी बहिनी हुन् ।
उत्कृष्ट प्रदर्शन गर्दै आएका दाइ दीपेन्द्रलाई बहिनी राजमतीले पछ्याउँदै आएकी छन् । उनले पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन् ।
गत पुसमा भएको प्रधानमन्त्री कपमा उनले कर्णाली प्रदेशविरुद्ध ५५ बलमा ६७ रन जोडेकी थिइन् । गत महिला भएको ललितपुर मेयर्स कपमा सुदुरपश्चिम प्रदेशविरुद्ध उनले अर्धसतक प्रहार गरेकी थिइन् ।
२२ वर्षीय राजमतीले यसअघि अन्डर १९ टीमबाट नेपालको प्रतिनिधित्व गरिसकेकी छन् ।
दीपेन्द्रसिंह ऐरी र राजमतीका बुबाका दुई श्रीमती छन् । पहिलो श्रीमतीबाट दीपेन्द्रसहित तीन छोरा र एक छोरी छन् । दिपेन्द्र साईंला हुन् । कान्छी श्रीमतीबाट तीन छोरी र एक छोरा छन् ।