माधव नेपालको समावेशी मन, जो पार्टीभित्र सर्वसम्मत छन् – Nepal Press

माधव नेपालको समावेशी मन, जो पार्टीभित्र सर्वसम्मत छन्

नेकपा (एकीकृत समाजवादी) पार्टी दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । वैज्ञानिक समाजवादको लक्ष्य लिएर अगाडि बढिरहेको समाजवादी पार्टीको एउटा बलियो खम्बा समावेशी-समानता पनि हो । यो पाटोलाई अंगीकार गरेर पार्टीले अवलम्बन गरिरहेको नीति तथा कार्यदिशा यसकारण पनि उत्कृष्ट देखिएको छ ।

पार्टी र विचारसँगै पार्टीको नेतृत्वकर्ताको चारित्रिक विशेषताबारे पनि चर्चा हुन आवश्यक देख्छु । सांकेतिकरूपमा हेर्ने हो भने पार्टी मूलघर हो र पार्टीका नेतृत्वकर्ता अभिभावक हुन् । देशैभर यो पार्टीमा आवद्ध भएकाले वर्तमान नेतृत्वबाट पक्कै सुशील, सभ्य, अनुशासित र जिम्मेवार अभिभावकीय भूमिका पाएको महसुस गरेका छन् भन्ने पार्टीभित्र असन्तुष्टि र वैरभावको क्रियाकलाप नभएकाले यसै पनि आँकलन गर्न सकिन्छ कि नेतृत्व अब्बल र सरल हुँदा प्रशंसा हुने गर्दछ ।

विधि र पदतिविरुद्ध सती जान तयार नभएर, तत्कालीन नेकपा एमालेमा विद्रोह गरी २०७८ भदौमा नेकपा एकीकृत समाजवादी स्थापना गर्ने आँटिलो व्यक्तिमात्र नभएर व्यक्तित्व माधवकुमार नेपालको समावेशी मनबारे यसपटक चर्चा गर्न खोजेका हौँ ।

त्यसो त यो बीचमा धेरैले सत्ताको बागडोर सम्हाले । व्यवस्था फेरियो, व्यक्ति फेरिए, पदको दुरुपयोग गर्दे विभिन्न आपराधिक क्रियाकलापमा लामो राजनीतिक विरासत बोकेका नेताहरू कठघरामा उभ्याइए त कति अहिले पनि जेलको चिसो छिँडीमा सजाय भुक्तान गरिरहेका छन् । कहिले महिलाका विषय त कहिले भ्रष्टचारका विषयमा आफ्नो छवि धुमिल्याउने राष्ट्रियस्तरका नेताको चारित्रिक गुण बाहिर आइसकेको छ ।

तर, पटकपटक देश सञ्चालनको मुख्य पदमा पुग्दा पनि देशलाई घात नगर्ने सरल र अनुशाशित छवि बनाएका नेता, कुशल नेतृत्वकर्ता हुन् माधवकुमार नेपाल । महिला वर्गलाई सम्मानका साथ हेर्ने, व्यवहार गर्ने र अवसरमा समेत महिला पात्रलाई प्राथमिकता दिने विशेषताकै कारण एकीकृत समाजवादीमा आवद्ध महिलाको आँट र हौसला निरन्तर बढिरहेको छ भन्दा दुई मत नहोला ।

समावेशी सहभागिता र समान अवसरको मुद्दालाई स्थापित गराउने नेतृत्वको अमिट नाम हो माधवकुमार नेपाल ।

समावेशीकरण सिद्धान्तले सामाजिक न्यायको वकालत गर्छ । हरेक क्षेत्रमा ३३ प्रतिशतको सुनिश्चितता गरेका कारण नेपाली महिलाले पनि समान अवसरको अपनत्व गर्दै आएका छन् । यद्यपि व्यवहारिकरुपमा भने सबै ठाउँमा अझै पनि यो लागू नभएको तीतो यथार्थ भने छ । लैंगिक तथा समावेशीकरणका नीति २०७० अनुसार नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ ले प्रत्येक नागरिकको वैयक्तिक स्वतन्त्रताको हक र धारा १३ ले समानताको हकको सुनिश्चितता गर्दै महिला, दलित, आदिवासी जनजाति, मधेशीलगायत आर्थिक, सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएको वर्ग वा व्यक्तिको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानुनद्वारा विशेष व्यवस्था गर्न सक्ने व्यवस्थासमेत गरेको छ ।

धारा २१ मा सामाजिक न्यायको हकअन्तर्गत महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको संरचनामा सहभागी हुने हक र धारा ३३ (घ १) ले राज्य संरचनाका सबै अङ्गहरूमा मधेशी, दलित, आदिवासी र जनजाति, महिला, पिछडा वर्गलगायत पिछडिएका वर्ग र क्षेत्रका सबै नागरिकलाई समानुपातिक समावेशिताका आधारमा सहभागी गराउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख गरिएको छ ।

तर, जतिबेला नेपाली समाजमा समावेशिता भन्ने अलग्गै मुद्दा हो वा बन्छ भनेर स्थापित भएकै थिएन, माधवकुमार नेपालले त्यही कालखण्डमा समावेशी सहभागिताको अभ्यास गर्नुभएको र क्रमशःत्यो मुद्दाको मूल्य समाजमा स्थापित हुन पुगेको इतिहास तपाईं हामीसामु छर्लङ्ग छ ।

विगतलाई फर्केर हेर्ने हो भने पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालले कार्यालयमै पहिलोपटक महिला हिंसाविरुद्धको डेस्क स्थापना गर्नुभएको थियो । जसले महिलाका मुद्दामा उहाँको संवेदनशीलतालाई प्रष्ट पार्छ ।

माधव नेपाल नेतृत्वको एमालेले नै हो, प्रतिनिधिसभामा पहिलोपटक महिला उपसभामुख (लीला श्रेष्ठ सुब्बालाई) बनाएको । त्यही कालखण्डमा राष्ट्रियसभामा पहिलोपटक दलित समुदायबाट उपाध्यक्ष बनाइनु भयो रामप्रीत पासवान । २०५१ को मन्त्रिपरिषदमा मेची अञ्चलबाट केपी ओली, सिपी मैनाली र राधाकृष्ण मैनाली मन्त्री हुँदा सुवास नेम्बाङलाई भाग पुगेन । तर माधव नेपालको समावेशी मनले यत्तिमा चित्त बुझाएन र सुवास न्याय, कानुन तथा संसदीय व्यवस्था राज्यमन्त्री बनाइनुभयो ।

शान्ता चौधरी मुक्त कमलरी थिइन् । उनलाई सामाजिक जीवनमा पुन:स्थापित गर्ने अनेकन उपाय थिए । तर, त्यो वर्ग र समुदाय मुलुकको नीति निर्माण गर्ने तहमा पुग्नुपर्ने माधवकुमार नेपालको मनले भन्यो, ‘उनलाई संसदमै ल्याउनुपर्छ ।’

समावेशी संविधान बनाउने अभिभारा बोकेको पहिलो संविधानसभामा अल्पसंख्यक समुदायबाट गोविन्दराम चेपाङ, लोपोन्मुख समुदायबाट शान्ती जिरेलहरु संसदमा ल्याउने नेतृत्वको नाम माधवकुमार नेपाल नै हो ।

यसरी समावेशी सहभागिता र समान अवसरको मुद्दालाई स्थापित गराउने नेतृत्वको अमिट नाम हो माधवकुमार नेपाल ।

यतिमात्र होइन रुकुमकी कमला चन्दको जिन्दगीमा त नेपाल भगवान् भन्दा कम हुनु भएन । सायद चन्द हिजोआज दाङ, तुल्सीपुरतिर कतै रमाइरहनु भएको होला । थाहा छैन २०६६ सालमा माधवकुमार नेपाल आफैँ नेपालगञ्जबाट हेलिकप्टर लिएर रुकुम नपुग्नु भएको भए कमलाको जीवनको वज्रपातले कुन मोड लिन्थ्यो, अनुमान मात्र गर्न सकिन्छ ।

तिबेला नेपाली समाजमा समावेशिता भन्ने अलग्गै मुद्दा हो वा बन्छ भनेर स्थापित भएकै थिएन, माधवकुमार नेपालले त्यही कालखण्डमा समावेशी सहभागिताको अभ्यास गर्नुभएको र क्रमशःत्यो मुद्दाको मूल्य समाजमा स्थापित हुन पुगेको इतिहास तपाईं हामीसामु छर्लङ्ग छ ।

सुत्केरी व्यथाले च्यापेको र नजिकै कुनै अस्पताल वा स्वास्थ्य चौकी नभएको स्थितिमा कमला मृत्युसँग जुधिरहेकी थिइन् । कञ्चनपुरको कार्यक्रमबाट फर्कने क्रममा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल सवार हेलिकप्टर नेपालगंजमा अवतरण भयो । होटल स्नेहामा उहाँको बसोबास भयो । भोलिपल्ट बिहानै काठमाडौँमा मन्त्रिपरिषद् बैठक थियो । काठमाडौं जानुअघि उहाँलाई कसैले फोन गरेर सुनाए, रुकुममा कमला मृत्युसँग लडिरहेको कुरा । त्यसपछि हेलिकप्टरलाई रुकुमतिर लैजान भन्नुभयो । तर, उहाँका सहयोगीले मन्त्रिपरिषद बैठकबारे उहाँलाई सम्झाउँदा नेपालको उत्तर थियो, ‘बैठक क्यान्सिल गर्न लगाउनुहोस्’ पहिला सुत्केरीलाई प्रसूति गृह पुर्‍याउनु पर्‍यो ।’

यसप्रकार आफैँ रुकुम पुगेर कमलालाई काठमाडौँ ल्याइयो । कमलाले सन्तानका रुपमा छोरालाई सकुशल जन्म दिनु भयो । कमलासँगै नवजात शिशुले पनि पुनर्जीवन पाए । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको समावेशी मन कति संवेदनशील छ भन्ने एउटा प्रतिनिधि घटना यो पनि हो ।

महिलामाथि माधवकुमार नेपालको न्यायको नजर कस्तो थियो, कमला चन्ददेखि स्व. लीला श्रेष्ठ सुब्बाहरूले महसुस गरे होलान् । दलितमाथि उहाँको समानभाव रामप्रीत पासवानलाई थाहा छ । पहिलो संविधानसभामा अल्पसंख्यक समुदायका रुपमा पाएको भूमिकाको गोविन्दराम चेपाङलाई सोधौं ।

विगतदेखि वर्तमानसम्म अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध निरन्तर क्रियाशील रहनुभएका नेपालको वैचारिक दृष्टिकोण प्रशंसायोग्य भएर नै आज हजारौँको संख्यामा नेपालको पद र नीतिको समर्थन गर्ने कार्यकर्ता अग्रमोर्चामा उभिएका छन् । सत्ता र पदलिप्सा भन्दा पनि भूइँमान्छेको समर्थन र उत्थानमा सदैव खटिने नेपालले नै पुनः अबको नेतृत्व गर्नुपर्छ भन्ने अधिकांश कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको माग छ किनकी समयको गतिसँगै पाइला चाल्नसक्ने कुशल नेतृत्व अबको समयको माग र आवाश्यकता दुवै हो ।

(भण्डारी, समाजवादी प्रेस संगठन नेपालकी कोषाध्यष एवम् महाधिवेशन प्रतिनिधि हुन्)


प्रतिक्रिया

2 thoughts on “माधव नेपालको समावेशी मन, जो पार्टीभित्र सर्वसम्मत छन्

  1. अहिलेसम्म पढेको मध्ये सबैभन्दा घिनलाग्दो झोले लेख ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *