पारालिम्पिकमा भीमबहादुरले खेल्ने
काठमाडौं । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसंगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले जनाएका छन् ।
भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा प्रतिस्पर्धा गर्ने छन् । यो स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी ४१ वर्षीय भीमले आफ्नो करियरमा ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेश्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।
उनले पछिल्लोपटक खेलको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो जुन पारालिम्पिक छनोटको आधारमा समेत रहेको थियो । सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म भएको यहि प्रतियोगितामा भीमले ५० मिटर फ्रि स्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । भीम एम्पुटी फुटबलका पनि खेलाडी हुन् ।
भीमले पारालिम्पिकका लागि कालोपुलस्थित वेस्ट भेन्युमा तयारी प्रशिक्षण गरिरहेका छन् । उनलाई विजेनमान श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । भीमले पारालिम्पिक जस्तो ठूलो प्रतियोगिताका लागि छनोट भएकोमा खुशी व्यक्त गर्दै मेहनतको फल प्राप्त भएको प्रतिक्रिया दिए ।
‘पारालिम्पिक जस्तो ठूलो प्रतियोगिताका छनोट भएकोमा एकदमै खुशी लागेको छ । यसको लागि धेरै दुःख र मेहनत गरेको थिए । मेहनतको फल प्राप्त भएको अनुभूति भइरहेको छ’, भीमले भने ।
भीमसहित पेरिस पारालिम्पिकमा हालसम्म ३ खेलाडीको सहभागिता निश्चित भइसकेको छ । यसअघि तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता छनोट भइसकेका छन् । पलेशाले भने छनोट चरण पार गर्दै पेरिस पालिलम्पिकमा स्थान सुरक्षित गरेकी हुन् । भरतले वाइल्ड कार्ड पाएका थिए ।