एसईईको नतिजा र शासकले नसिकेको पाठ
गत वर्ष दिइएको एसईईको नतिजा आएपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् । विभिन्न खालका टीकाटिप्पणी भइरहेका छन् । विभिन्न खालका विश्लेषण भइरहेका छन् । जब एसईईको नजिता आउँछ, तब अनेकौं थरीका विद्वानहरुको जन्म हुन्छ । यो गर्नुपर्छ, त्यो गर्नुपर्छ । यस्तो गरेको भए हुन्थ्यो वा उस्तो गरेको भए हुन्थ्यो भन्दै अर्ती-उपदेश दिनेको कमी हुँदैन । एसईईको नतिजा भयावह बनाउनुपर्ने विषय होइन । जब हामीले कक्षा १२ सम्मलाई विद्यालय शिक्षा भनेर मानिसक्यौं भने एसईईलाई फरक पाटोबाट किन हेर्ने काम गरिरहेका छौं ? एसईईको विषयमा हामीले जुन मानक बनाएका छौं, त्यसलाई बदल्न नीतिगत रुपमा काम गरिएको छैन । कक्षा १२ सम्म विद्यालय शिक्षा हो भने कक्षा १० पढेको विद्यार्थीलाई अन्यत्रको विद्यालयमा जाने खालको वातावरण किन तयार गरिरहेका छौं ? ११ र १२ का लागि भर्ना अभियानको प्रोत्साहन किन गरिरहेका छौं ? कक्षा ९ मा भर्ना खुल्यो भनेर विज्ञापन किन गर्दैनौं ? कक्षा १० मै भर्ना हुनेगरी विद्यार्थीलाई किन मौका दिएका छैनौं ? कक्षा ११ र १२ लाई एउटै प्याकेजमा राखेर व्यवहार किन भइरहेको छ ? यस कारणले गर्दा हामीले एसईईको परिभाषालाई नयाँ तरिकाले स्थापित गर्न सकिरहेका छैनौं ।
एसईईको नतिजा अहिले आएर बिग्रिएको होइन । कुनै बेला एसएलसी हुँदा ३० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण हुँदैनथे । सरकारी विद्यालयको अवस्था अहिलेको भन्दा अझ नाजुक थियो । निजी विद्यालयको चलन आएको थिएन । काठमाडौंलगायतका केही शहरी जिल्लामा मात्रै निजी विद्यालयहरु स्थापित थिए । अहिले देशका सबै कुनामा निजी विद्यालय खुलेका छन् । सरकारी विद्यालयहरुले मात्रै नेपालको विद्यार्थीको चाप धान्न सक्ने अवस्था छैन । अहिले कुनै कारणले निजी विद्यालयमा विद्यार्थीहरु जान नदिने वा निजी विद्यालयहरु बन्द गर्ने भन्ने कडा कानून ल्याउने हो भने सरकारी विद्यालयले नेपालका विद्यार्थीको चाप धान्न सक्ला र ? पक्कै पनि सक्दैन । हामीले यसका बारेमा बहस छलफल चलाएका छैनौं । सरकारी विद्यालयहरुले उत्पादन गरिरहेको जनशक्ति र निजी विद्यालयले उत्पादन गरिरहेको जनशक्तिका बीचमा के कति समानता छ वा के फरक छ भन्नेबारेमा पनि हामीले छलफल गरेका छैनौं ।
एसईई कस्तो हुनुपर्ने थियो ? एसईईमा कति विद्यार्थीहरु पास हुनुपर्ने थियो ? यस्ता विषयमा कसैले केही भन्न सकिरहेको हुँदैन । जब एसईईको नतिजा आयो, तब मैले सामाजिक सञ्जाल (फेसबुक)मा एउटा स्ट्याटस लेखेको थिएँ । जसमा नालायक शासकहरुलाई आलोचना गरेको थिएँ । वर्ष दिनसम्म पढेका विद्यार्थीलाई फेल गराउने प्रणाली कहिले बदल्छौं भन्ने कुरा मेरो स्ट्याटसमा थियो । मैले व्यक्तिगत रुपमा एसएलसी दिएको ३१ वर्ष पुगेछ । यो समय भनेको सानो समय होइन । मैले एलएलसी दिँदा जे कुरा सुनेको थिएँ, अहिले पनि त्यही कुरा सुन्दैछु । मैले जे कुरा भोगेको थिएँ, त्यही कुरा भोग्दैछु । परीक्षाको प्रणालीमा आउनुपर्ने परिवर्तन आएको छैन । कक्षा कोठामा काला बोर्डहरु हुन्थे, त्यो स्थानमा सेता बोर्डहरु आएका छन् । चकको स्थान मार्करले लिएको छ । बस, योभन्दा अरु फरक हुन सकेको छैन । शिक्षा दिने प्रणाली, मूल्याङ्कन गर्ने तरिका बदल्न नसक्दासम्म हामी शिक्षाको सवालमा यस्तै बहसमा मात्रै सीमित भइरहनु पर्छ ।
कक्षा १२ सम्म विद्यालय शिक्षा हो भने कक्षा १० पढेको विद्यार्थीलाई अन्यत्रको विद्यालयमा जाने खालको वातावरण किन तयार गरिरहेका छौं ? ११ र १२ का लागि भर्ना अभियानको प्रोत्साहन किन गरिरहेका छौं ? कक्षा ९ मा भर्ना खुल्यो भनेर विज्ञापन किन गर्दैनौं ?
शिक्षाको अवस्थामा सुधार हुन नसक्नुका प्रमुख पक्षहरु निम्न छन्, जसका कारणले शिक्षामा हुनुपर्ने जति राम्रो हुन सकेको छैन । एउटाले अर्कोलाई दोष लगाउने काममात्रै भएको छ । मैले होइन उसले हो भन्दै दोष अरुलाई पन्छाउने काम सरोकारवालाले गरिरहेका छन् । जसले गर्दा शिक्षामा सुधार हुन सकेको छैन । शिक्षा सुधार गर्न निम्नानुसार जिम्मेवारी र दायित्व रहेको हुन्छ ।
- राज्यको नीति
- विद्यालयको भूमिका
- शिक्षकको भूमिका
- अभिभावकको भूमिका
- विद्यार्थीको दायित्व
- समाजको सोच
- शैक्षिक र बौद्धिक समुदायको खबरदारी ।
राज्यको नीति : नेपालमा शिक्षाको सन्दर्भमा मात्रै होइन, कुनै पनि विषयमा स्पष्ट नीति छैन । यसको पछिल्लो उदाहरण पूरक दिनेका लागि गरिएको व्यवस्था हो । सुरुमा दुई विषयसम्म कम नम्बर ल्याएकाले जाँच दिने कुरा गरियो । त्यसको दुई दिनपछि सबैले जाँच दिन पाउने कुरा गरियो । अघिल्लो वर्षसम्म कसैले आफ्नो नम्बर कम आएको भन्ने लागेपछि ग्रेड वृद्धिका लागि जाँच दिन पाउने व्यवस्था गरिएको थियो । एउटा नियम १० वर्षसम्म पनि कायम राख्न नसक्नेले केका नियम-कानून बनाउँछन् ?
यतिवेला राज्य यति निरीह भएको छ कि यस्तै अवस्था रहने हो भने अहिलेको भन्दा आगामी दिनमा शैक्षिक स्तर झनै खस्कनेछ । राज्य सञ्चालकहरु यति नालायक भएका छन् कि जसले यो देशलाई कस्तो शिक्षा दिने, कसरी राम्रा विद्यार्थी तयार गर्ने, कसरी विश्वमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने भन्नेबारेमा योजना बनाउन सक्दैनन् । जाडोको समयमा कार्यालयको काम नगरेर घाम तापेर बस्ने, गर्मीमा कुर्सीमाथि बुर्कुसी मारेर पङ्खाको हावा खाँदै बस्नेहरुका कारणले शिक्षा क्षेत्र ध्वस्त भएको छ । अझ हामीले यिनैलाई मान्नुपर्ने भएको छ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय पालिका, विभिन्न शाखा, महाशाखा र विभागहरु यो वर्गमा रहेका छन् ।
सरकारी विद्यालयहरुले मात्रै नेपालको विद्यार्थीको चाप धान्न सक्ने अवस्था छैन । अहिले कुनै कारणले निजी विद्यालयमा विद्यार्थीहरु जान नदिने वा निजी विद्यालयहरु बन्द गर्ने भन्ने कडा कानून ल्याउने हो भने सरकारी विद्यालयले नेपालका विद्यार्थीको चाप धान्न सक्ला र ? पक्कै पनि सक्दैन । हामीले यसका बारेमा बहस छलफल चलाएका छैनौं ।
विद्यालयको भूमिका : विद्यालय सञ्चालन गर्ने भन्ने कुरा टीमले गर्ने कुरा हो । निजी विद्यालयको मात्रै कुरा होइन, सरकारी विद्यालय सञ्चालन गर्न पनि विभिन्न खालका व्यवस्थापन समिति बनाइएको छ । जसको विद्यार्थी विद्यालयमा अध्ययन गर्दैन, उसलाई अध्यक्ष बनाउने र व्यवस्थापन समितिमा राख्ने कस्तो तरिका हो ? हुन त यो राज्य सञ्चालकले बनाएको नियम हो । विद्यालयमा व्यवस्थापन समितिको चयन गर्दा अभिभावक भएकालाई मात्रै चयन गर्नुपर्छ । जो अभिभावक हुन्छ, ऊमात्रै आफ्नो सन्तानको पढाइको विषयमा गम्भीर हुनसक्छ । विद्यालय व्यवस्थापनको जिम्मेवारी लिएकाहरुका कारणले गर्दा शिक्षा क्षेत्र तहसनहस भइरहेको छ ।
शिक्षकको भूमिका : शिक्षकको काँधमा ठूलो जिम्मेवारी रहेको छ । यस वर्षको नतिजाबाट संस्थागत विद्यालयको नतिजालाई बाहिर निकाल्ने हो भने सरकारी विद्यालयको नतिजा मुस्किलले १५ प्रतिशत पुगेको छ । कुल विद्यार्थीहरुको कुरा गर्ने हो भने अहिले पनि आधा जति विद्यार्थी सरकारी विद्यालयमा पढ्छनु, तर यी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु अधिकांश फेल भएका छन् । यसमा शिक्षकको मेहनत नपुगेका कारणले हो । शिक्षकले चाहेको खण्डमा शिक्षाको क्षेत्रमा धेरै राम्रो गर्न सक्छन् । होला अहिले शिक्षकले पाइरहेको सेवा सुविधा अपुग छ । कम सेवा सुविधामा धेरै काम गर्नुपर्ने होला । राज्यसँग कामअनुसारको तलब माग गर्ने कुरा अधिकार हो, तर तलब कम भयो वा अन्य कुनै बहानामा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइँदैन । यतिवेला परीक्षाको नतिजामा सबैभन्दा बढी दोषी शिक्षकलाई देखाइएको छ । शिक्षकले कि दोषको जिम्मेवारी लिनुपर्छ कि त राम्रो परिणाम ल्याउनुपर्छ ।
अभिभावकको भूमिका : कुनै बालबालिकाको लागि पहिलो शिक्षक भनेको उसको अभिभावक हो । बालबालिकालाई विद्यालय र शिक्षकको जिम्मेवारीमा मात्रै छोडेर हुँदैन । घरमा पढे नपढेको, विद्यालयले दिएको गृहकार्य गरेको वा नगरेको, अतिरिक्त क्रियाकलापमा सहभागी भएको वा नभएको भन्नेबारेमा अभिभावकले मात्रै थाहा पाउन सक्छ । यसर्थ यो कुरामा अभिभावकको भूमिका हुन्छ कि विद्यालयले समेत गर्न नसकेको काम अभिभावकले गर्न सक्छन् । आफ्ना सन्तानले गरिरहेको क्रियाकलापलाई नजिकबाट नियाल्ने काम अभिभावकले गर्न सक्नुपर्छ । अहिले शिक्षामा बालबालिकाको लगाव नहुनुका पछिल्तिर अभिभावकको कम ध्यान जानु पनि हो । अभिभावकले दिने चासोले बालबालिकाको पठनपाठन राम्रो बनाउन भूमिका खेल्छ ।
कक्षा कोठामा काला बोर्डहरु हुन्थे, त्यो स्थानमा सेता बोर्डहरु आएका छन् । चकको स्थान मार्करले लिएको छ । बस, योभन्दा अरु फरक हुन सकेको छैन । शिक्षा दिने प्रणाली, मूल्याङ्कन गर्ने तरिका बदल्न नसक्दासम्म हामी शिक्षाको सवालमा यस्तै बहसमा मात्रै सीमित भइरहनु पर्छ ।
विद्यार्थीको दायित्व : विद्यार्थी त मूल पात्र नै भइहाले । पास नहुँदा विद्यार्थीले मेहनत नगरेका कारणले हो भनिदिने, सफल भएपछि विद्यालयको नाक लामो हुने गरेको छ । विद्यार्थीले पढ्ने भनेको आफ्ना लागि हो । सिक्ने भनेको आफ्ना लागि हो । जान्ने भनेको आफ्ना लागि हो । लेखपढ राम्रोसँग गरियो भने धेरै कुरा जानिन्छ र भविष्य सुरक्षित हुन्छ, सफल हुन्छ भन्नेबारेमा बुझ्नुपर्छ । विद्यार्थीले किन पढेन, किन जानेन, किन पढ्न मन लागेन भन्नेबारेमा कहिल्यै कसैले खोजी गर्दैन । मात्रै परिणामको आशा अभिभावक र विद्यालयले गरिरहेका हुन्छन् । यसर्थ विद्यार्थीले आफ्नो लागि हो पढ्ने भन्नेबारेमा सोच्नुपर्छ । आफूले पढ्दा आफैंलाई फाइदा हुन्छ । आफूले नपढ्ने हो भने अरुलाई होइन, आफैंलाई ठग्ने काम भइरहेको हुन्छ भन्नेबारेमा पनि विद्यार्थीलाई बुझाउनुपर्छ ।
समाजको सोच : समाजका लागि धेरै कुराको चाहना वा इच्छा हुँदैन । समाजको कोही सदस्य विद्यार्थी बिग्रियो भने सबैभन्दा पहिले आलोचना गर्न समाजका सदस्यहरु तयार हुन्छन् । पहिले पहिलेका कुरा निकालेर आलोचना गर्छन् । समाज भनेको राम्रोको प्रशंसा गर्न पछि पर्दैन । नराम्रो भयो भने पृथ्वी भासिने गरी गाली गर्छन् । समाजका सदस्यहरुको चासो र चिन्ता हाम्रो शिक्षा कता गइरहेको छ भन्नेबारेमा हुनुपर्छ । समाजमा पढे लेखेका मानिसहरु भए भने त्यसले समाजको इज्जत बढ्छ । शिक्षाको अवस्था सुधार गर्नेबारेमा समाजका सदस्यहरुको इच्छाशक्तिले पनि भूमिका खेल्न सक्छ ।
शैक्षिक र बौद्धिक समुदाय : हाम्रो समाज नपढेका मानिसहरुका कारणले भन्दा पढे लेखेका वा जानेकाहरुबाट बढी बिग्रिएको छ । आफूलाई शिक्षित भन्ने वर्ग कहाँ छ ? शिक्षाको अवस्था राम्रो भइरहेको छैन, शिक्षामा गरिएको लगानीले राम्रो परिणाम दिइरहेको छैन । यस्तो बेलामा शिक्षित र बौद्धिक सुमदायले किन चासो दिइरहेको छैन । यो समस्यामा बौद्धिक समुदाय कहाँनेर छ ? बौद्धिक समुदायले शिक्षाका बारेमा कहिल्यै विमर्श गर्नुपर्दैन ? परिणाममा टीकाटिप्पणी गर्ने र बौद्धिकता प्रदर्शन गर्ने काममात्रै लेखपढ गरेकाहरुको हो र ? हाम्रो शिक्षा व्यवहारिक हुन सकेको छैन । हाम्रो शिक्षाले भविष्यको त कुरै छोडौं, वर्तमानलाई हाँक्न सकेको छैन । यसर्थ हाम्रो शिक्षाका सवल पक्ष र कमजोर पक्षका बारेमा छलफल गरौं, बहस गरौं । यतिवेला विभिन्न तहका सरकार छन् । यहाँ शिक्षाको जिम्मेवारी लिएकाहरु छन् । शिक्षा कस्तो गराउने, कसरी राम्रो गराउने भन्नेबारेमा छलफल गर्ने र परिणाम निकाल्ने बारेमा योजना बनाउने काम किन गर्दैनन् ?
एसईईलाई फलामे ढोकाको रुपमा परिभाषित गर्ने काम बन्द गरौं । विद्यालयलाई कि कक्षा ८ मा सीमित गरौं कि त १२ सम्म पुर्याउनेबारेमा प्रेरित गरौं । कक्षा १० सम्म मात्रै रहेका विद्यालयलाई माथिल्लो तहमा जाने वा तल्लो तहमा झर्ने विकल्प दिऔं । एसईईको जाँच लिने तरिका बदलौं ।
एसईईको नतिजा आएपछि अनेकनथरि विश्लेषण गर्नुभन्दा पहिले नै पढाइ कसरी राम्रो गराउने भन्ने बारेमा सोच्नुपर्छ । वर्ष दिनसम्म राम्रोसँग पठनपाठन नगराउने विद्यालयले जाँचको समयमा कक्षा कोठामै सिकाएर हुन्छ कि, अन्य कुनै माध्यमबाट हुन्छ कि, कसरी हुन्छ बढीभन्दा बढीलाई पास गराउने भन्नेमा मात्रै ध्यान दिनु राम्रो होइन । वर्ष दिनसम्म ध्यान नदिएको विषयमा अन्तिम समयमा मात्रै ध्यान दिने काम गर्दा त्यसले परिणाम निकाल्दैन । पहिलो कुरा एसईईलाई फलामे ढोकाको रुपमा परिभाषित गर्ने काम बन्द गरौं । विद्यालयलाई कि कक्षा ८ मा सीमित गरौं कि त १२ सम्म पुर्याउनेबारेमा प्रेरित गरौं । कक्षा १० सम्म मात्रै रहेका विद्यालयलाई माथिल्लो तहमा जाने वा तल्लो तहमा झर्ने विकल्प दिऔं । एसईईको जाँच लिने तरिका बदलौं । जाँच लिने तरिका अन्य कक्षामा पनि बदल्न जरुरी छ । पाठ्यक्रम कस्तो पढाइरहेका छौं भन्नेबारेमा सोचौं । राम्रो नतिजा कसरी निकाल्न सकिन्छ । घोकाएर पढाउने, जाँचमा जसरी भए पनि कापी भर्ने वातावरण मिलाउनेभन्दा कसरी राम्रो र योग्य विद्यार्थी निकाल्ने भन्नेबारेमा सोच्नुपर्छ ।
अहिले हामीले जसरी जीपीएको कुरा गरेर कोही योग्य र कोही अयोग्य भन्ने मापन गरिरहेका छौं, यसलाई नै बदल्नुपर्छ । शिक्षाको गुणस्तर सुधार्न साँच्चिकै गम्भीर तरिकाले सोचौं । अर्को कुरा नीति निर्माण गर्नेहरुले बालबालिकाको विषयलाई मजाक बनाइरहेका छन् । अनेकथरि नियम-कानून ल्याउने, अनेकथररि विषय ल्याउने, शिक्षामा अनेकताको अवस्था निर्माण गर्ने काम भइरहेको छ । अहिले पनि हामीले पढाइरहेको शिक्षाले दुईथरिको नागरिक तयार गरिरहेको छ । जहिलेसम्म हामीले एउटैखाले नागरिक तयार गर्नेगरी योजना बनाउँदैनौं, तबसम्म हामीले शिक्षाका लागि गरिरहेको लगानी उपलब्धिमूलक बन्न सक्दैन । यो समय दोषारोपण गर्ने होइन । यो समय गम्भीर समीक्षा गर्ने हो । आज हामीले गम्भीर रुपमा समीक्षा गर्न सक्यौं भने भोलिका दिनमा यस्ता विषयमा छलफल गर्नुपर्दैन । हामीले आज शिक्षाका लागि जति खर्च गरिरहेका छौं र उपलब्धि भएको छैन भनिरहेका छौं, भोलिका दिनमा त्यो उपलब्धि हुन थाल्नेछ । राज्य सञ्चालकहरु, विद्यालयहरु, विद्यालयसँग सरोकार राख्ने सबै गम्भीर बन्नुपर्छ । कम्तीमा पटक पटक एउटै खालको गल्ती भइरहेको छ भने त्यो गल्तीबाट शासकहरुले पाठ सिक्नुपर्छ ।
अत्यन्त राम्रो र शान्दर्भिक लेख ।
SEE परिक्षालाई अनाबश्यक महत्व दिनु प्राय: +2 सञ्चालक र माद्यमिक शिक्षा परिक्षा बोर्डका सिमित कर्मचारीको मात्रै हितमा छ ।
खुरु खुरु कक्षा चढाउने अहिलेको चलनमा, कक्षा आठमा पालिका स्तरिय र कक्षा दशमा जिल्ला स्तरिय परिक्षामा पास गरे मात्र कक्षा चढाउने गरे त पुगी हाल्छ ।